निर्वाचन अधिकृत र कार्यालय प्रमुखलाई अभिमुखीकरण
निर्वाचन आयोगले आजदेखि निर्वाचन अधिकृत र निर्वाचन कार्यालयका प्रमुखका लागि अभिमुखीकरण सुरु गर्दै छ । आगामी वैशाख ३० मा हुने स्थानीय तहको चुनावका लागि अयोगले वैशाख ३ गतेसम्म सात ओटै प्रदेशको ८ स्थानमा स्थानीय तह निर्वाचनमा खटिने ७ सय ५३ निर्वाचन अधिकृत र ७७ जिल्ला निर्वाचन कार्यालयका प्रमुखका लागि अभिमुखीकरण तथा तालिमको आयोजना गर्न लागेको हो । आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलका अनुसार अभिमुखीकरण कार्यक्रमका लागि प्रदेश १ मा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, गण्डकी प्रदेशमा आयुक्त सगुन शम्शेर जवरा र कर्णाली प्रदेशका लागि आयुक्त जानकीकुमारी तुलाधर सहभागी हुनुहुनेछ । अभिमुखीकरण कार्यक्रममा निर्वाचनको बारेमा समाचार सङ्कलन, लेखन, प्रकाशन र प्रशारणसम्बन्धी ज्ञान आदनप्रदान गरिने प्रवक्ता पौडेलले जानकारी गराउनुभयो । आयोगले स्थानीय तह निर्वाचनका लागि गत शुक्रवारदेखि लागु गरिएको आचारसंहिता कार्यान्वयनका लागि अनुगमनलाई पनि प्राथमिकताका साथ निरन्तरता दियएको जनाएको छ ।
२९ चैत्र २०७८, मंगलवार ०३:४५ मा प्रकाशित