लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा आउँदाे ३ दिन तातो हावा चल्ने

प्रकाशित मिति: ४ बैशाख २०७९, आईतवार १०:२०

नेपालको लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा आउँदाे तीन दिन तातो हावा चल्ने भएकाले उच्च सतर्कता अपनाउन विज्ञहरूले आग्रह गरेका छन् ।

भारतको मौसम विभाग र बैंककमा रहेकाे क्षेत्रीय बहुप्रकोप केन्द्र (राइम्स) द्वारा जारी पूर्व चेतावनीअनुसार नेपालको लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा वैशाख ५, ६ र ७ गते (हिट वेब) तातो हावा चल्ने देखिएको हो । ४० डिग्रीभन्दा माथिको तापक्रमलाई (हिट वेब) अर्थात् ‘लू’ भन्ने गरिन्छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको अभिलेखअनुसार देशका सात ठाउँमा ४० डिग्री सेल्सियस भन्दामाथि तापक्रम पुगेको छ । यसअघि नै विज्ञहरूले नेपालमा यस वर्ष तापक्रम बढ्नेतर्फ सचेत गराउँदै आएका थिए ।

यसै सन्दर्भमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले वैशाखको ५ गतेदेखि लगातार तीन दिनसम्म पश्चिम तराईमा तापक्रम अत्यधिक वृद्धि हुने बताउनुभयो । उहाँले नेपालमा हिट वेब ‘लू’ सुरु भइसकेकोले सचेत रहन आवश्यक रहेको बताउनुभयो । जलवायु विज्ञ डा. उप्रेतीले छिमेकी देश भारतले हिट वेबको सूचना पनि जारी गरिसकेको र नेपालका पश्चिम तराईका जिल्लामा यसको असर पर्ने धेरै सम्भावना रहेको बताउनुभयो ।

जलवायुविज्ञ डा. उप्रेतीले नेपालमा समयभन्दा अघि नै लू लाग्ने सम्भावना देखिएको समेत बताउनुभयो । उहाँले एक सय २२ वर्षपछि गएकाे मार्च महिनामा नेपालको सुदूरपश्चिम प्रदेशका तराईका जिल्लामा अहिलेसम्मकै बढी तापक्रम रेकर्ड भएको बताउनुभयो । उहाँले वर्ल्ड मेट्रोलोजिकल अर्गनाइजेशनले पनि नेपालको पश्चिमी भागमा अत्यधिक तापक्रम वृद्धि हुँदै गएको तथ्याङ्क निकालेको बताउनुभयो ।

जलवायुविज्ञ डा. उप्रेतीले भन्नुभयो, ‘यो वर्षमा चैतको सुरुदेखि नै वा फागुनको अन्तिम हप्तादेखि नै तापक्रम बढेको अवस्था छ । वैशाखको ५ गतेदेखि फेरि लगातार तीन दिन पश्चिम तराईमा तापक्रम अत्यधिक वृद्धि हुँदैछ । त्यो तापक्रम ४० डिग्री वा त्याेभन्दा माथि पुग्ने अवस्था छ । अब हिट वेब सुरु हुँदैछ भन्दा फरक नपर्ला । ४० डिग्री वा त्याे भन्दामाथि तापक्रम, दुई वा त्योभन्दा बढी दिन रह्यो भने त्यसलाई लू अर्थात् हिट वेब ‘अत्यधिक गर्मी’ को अवस्था भनिन्छ । भारतले हिट वेबको सूचना पनि जारी गरिसकेको छ । चेतावनी दिइसकेको छ । हिजोसम्मको जल तथा मौसम विज्ञान विभाग नेपालको रेकर्ड हेर्दा तीन वटा स्टेशनमा ४० डिग्रीभन्दा माथि तापक्रम रेकर्ड छ । ३५ देखि ४० डिग्री सेल्सियस भएको स्टेशनको सङ्ख्या २७ पुगेको छ ।’

जलवायुविज्ञ डा. उप्रेतीले अहिले औसत पृथ्वीको तापक्रम १ दशमलव १ डिग्री रहेको र भारतले जारी गरेको एक सय २२ वर्षको तथ्याङ्कमा १ दशमलव ८६ डिग्री सेल्सियसले तापक्रम औसतमा बढेको देखिएको बताउनुभयो । उहाँले यो असर जलवायु परिवर्तनको कारण भएको बताउनुभयो ।

जलवायुविज्ञ डा. उप्रेतीले अहिले चुनावी माहोल भएकोले बढ्दो तापक्रमको असरबाट बच्न चुनावी कार्यक्रमलाई थोरै समयमा सीमित गरेर जान सुझाव पनि दिनुभयो । उहाँले दिउँसो १२ देखि ३ बजेसम्म तापक्रममा अत्यधिक वृद्धि हुने भएकोले सहन गर्न गाह्रो हुने र त्यसले बालबालिका, वृद्धवृद्धा, मुटु रोगी र गर्भवती महिलालगायतकालाई बढी असर गर्ने बताउनुभयो । अत्यधिक गर्मीका कारण मान्छे बेहाेस हुने, शरीरको तापक्रमले पसिनाको मात्रा घट्न जाने जस्ता समस्या हुने भएकोले पानी बढी मात्रामा पिउन आवश्यक रहेको उहाँले बताउनुभयो । लूबाट बच्नका लागि ठूलो कार्यक्रम, आमसभा, भेलाहरू बिहानको समयमा गर्ने वा तीन बजेभन्दा पछि गर्न उपयुक्त हुने, बालीनाली भित्र्याउँदा पनि घाममा धेरै समय काम नगरि बिहान र बेलुकाकाे समयमा गर्ने जस्ता उपाय अपनाउन सकिने उहाँको सुझाव छ ।

त्यस्तै धेरै तापक्रम भएको दिनमा कतिपय देशमा ‘वर्क होलिडे’ दिने गरेको उदाहरण दिँदै उहाँले नेपालमा तापक्रमको सीमा तोकेर त्यही किसिमका उपाय अपनाउनुपर्नेमा जोड दिनुभयो । यसबाट बच्न पानी प्रशस्त पिउने, दही, मोही र झोलिलो पदार्थ खाने, प्रेटिन भएको खाना नखाने, कटन र पातलो लुगा लगाउन उहाँको सुझाव छ ।

(Visited 21 times, 1 visits today)

४ बैशाख २०७९, आईतवार १०:२० मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....