बाढी र पहिरोका कारण १७ जनाको मृत्यु, केन्द्रीय विपद व्यवस्थापन समिति बैठक

ZEN Travels

काठमाडौँ
२८ साउन ।
देशका विभिन्न स्थानमा वाढी र पहिरोमा परी १७ जनाको मृत्यु भएको छ, भने केहि घाइते भएका छन ।
अबिरल वर्षापछि आएको बाढीले घर भत्किँदा बाँकेको राप्ती सोनारी गाउँपालिका–४ लालापुरमा एकैघरका ३ बालिकासहित ४ जनाको मृत्यु भएको छ ।
कमिलाल थारुका १२, ९ र ७ वर्षका छोरीको घर भत्किँदा च्यापिएर मृत्यु भएको हो भने मकैबारीमा एकजना पुरुषको बेवारिसे शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
बाढीबाट जोगिन घरको छतमा बसेका उनीहरु घर नै भत्केपछि च्यापिएका हुन् । प्रहरीका अनुसार कमिलालकी श्रीमती पनि बेपत्ता हुनुभएकोे छ ।
राप्ती सोनारी ६ र ७ पुरै डुबानमा परेको छ । १ देखि ५ सम्मका वडापनि बाढीले प्रभावित भएका छन् । बाढीमा फसेका मानिसको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरिरहेका छन् ।

सुनसरीः ट्याङ्रा खोलामा आएको बढीले ६ जनाको मृत्यु
सुनसरीको इटहरीस्थित ट्याङ्रा खोलामा आएको बढीले ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय इटहरीले जनाएको छ ।
प्रहरीका अनुसार बगाएकाहरुमध्ये ५ जनाको इटहरीमा र एक जनाको तरहरामा शव भेटिएको हो । बाढीबाट अझै थुप्रै मानिसहरु हराइरहेको हुन सक्ने प्रहरीले जनाएको छ । घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र लगायतका टोलीले उद्धार गरिरहेको छ ।
बाढीबाट इटहरी वडा नम्बर ४, ५, ६, ७ लगायत अधिकांश वडा डुबेका छन् । पक्की घरहरु समेत ठूलो संख्यामा डुबेका छन् । रातभर अविरल परेको वर्षाका कारण इटहरीका नाला, पोखरीमा पानी भरिएर वस्ती पसेको हो ।
बुढी खोलाको बाढीले महेन्द्र राजमार्ग उत्तरको गैरीगाउँका ३० बढी घर बगाएको छ । रातिदेखिनै इटहरी क्षेत्रमा विद्युत् सेवा समेत अबरुद्ध छ भने सडक पुरै अवरुद्ध भएको छ ।


सिन्धुलीमा पहिरोले पुरिएर ४ को मृत्यु,
सिन्धुलीको कमलामाइ नगरपालिका ६ सदरमुकाम गैरीगाँउमा आज बिहान पहिरो जाँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ ।
पत्रकार महासंघको जमिनमा टहरो बनाएर बस्दै आएका चार जनाको पहिरोले पुरिएर मृत्यु भएको हो ।
मृत्यु हुनेमा २७ वर्षकी दुर्गाकुमारी खड्का, १५ वर्षकी शोभा खड्का, १० वर्षका अनिस खड्का र ८ वर्षका मनिष खड्का रहेका छन । उनीहरुसँगै सुतिरहेका उद्यबहादुर खड्का भने भागेर ज्यान जोगाउन सफल भएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जनाएको छ ।
मोरङको बक्राहा र नुनसरी खोलामा २ दुईजनाको मृत्यु भएको छ । मृत्यु भएकामा मिक्लाजुङ २ का ३२ वर्षीय गंगाराम खतिवडा र केराबारी गाउँपालिका ९ का मीनबहादुर थापा रहेको प्रहरीले जनाएको छ ।
यसैबीच, पाल्पामा पहिरो खसेर गुडिरहेको मोटरसाइकल पुरिदा एकजना मृत्यु भएको छ, भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक तानसेन नगरपालिका ३ का ३५ वर्षीय गृहपति शाक्य रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पहिरोले पुरिएर घाइते भएका गृहपतिको भैरहवा मेडिकल कलेज रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो ।

दाउन्नेको पहिरोले हजारौं यात्री अलपत्र
बुटवल–नारायणगढ सडक अन्तर्गत नवलपरासीको दाउन्नेमा गएको पहिरोका कारण गएरातीदेखि सवारी–साधन आवागमन ठप्प भएको छ ।
बर्दघाटदेखि दुम्कीवाससम्मका ७ बढी स्थानमा पहिरो जाँदा सयौं सवारी–साधन र हजारौं यात्री रातिदेखि अलपत्र परेका छन् । अवरूद्ध सडक खुलाउन सडक डिभिजन र निर्माण व्यवसासीहरूका डोजरहरूको प्रयोग गरेपनि सवारी सन्चालनमा ल्याउन नसकिएको प्रहरीले जनाएको छ ।
पानी परिरहेकाले पहिरो हटाउन समस्या भएको छ । पानी रोकिएर काम सुचारू भएमा आज दिउँसोसम्म अवरूद्ध सडक खुल्नसक्ने जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

केन्द्रीय विपद व्यवस्थापन समिति बैठक
केन्द्रीय विपद व्यवस्थापन समितिको आकस्मिक बैठक सुरु भएको छ ।
देशका विभिन्न ठाउँमा बाढी र पहिरोले धनजनको क्षेति बढ्दै गएपछि गृहमन्त्रालयमा समितिको आकस्मिक बैठक सुरु भएको हो ।
बैठकमा बाढी पहीरो प्रभवित क्षेत्रमा उद्धार र राहतको व्यवस्था मिलाउने विषयमा छलफल भइरहेको बताइएको छ ।बैठकमा गृहमन्त्री जनार्दन शर्मासहित, गृह सचिव, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति रहेको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला