तरकारीको मुल्य पनि बढायो बाढिले

काठमाडौं
भदौं १ ।

तराईमा आएको बाढीका कारण काठमाडौं उपत्यकालगायत देशभरि नै तरकारीको भाउ अकासिएको छ । बाढीले ढुवानीमा अवरोध पुर्‍याई आपूर्ति कम हुँदा मूल्य बढेको कालिमाटी तरकारी तथा फलफूल थोक बजार व्यावसायिक संस्थाका अध्यक्ष भरत खतिवडाले बताए । ‘अहिले तरकारी ढुवानीमा अवरोध कायम छ, अर्कातिर उत्पादन पनि घटेको छ,’ उनले भने, ‘त्यसैले मूल्यमा वृद्धि देखिएको हो ।’

कालिमाटी तरकारी बजार र टुकुचास्थित तरकारी बजारको तथ्यांकमा सबैभन्दा बढी हरियो खुर्सानीमा १ सय ४५ रुपैयाँ मूल्य बढेको छ । त्यस्तै, च्याउको मूल्य ४५ रुपैयाँ वृद्धि भएको छ । यस्ता चाँडै बिग्रने तरकारीको मूल्य अकासिएको व्यवसायीको भनाइ छ ।

८० प्रतिशत तरकारीमा असर
काठमाडौंमा भारत र तराईबाट आउने तरकारीको हिस्सा ८० प्रतिशत छ । व्यवसायी खतिवडाका अनुसार यो वर्ष भारतबाट सबैभन्दा धेरै ४० प्रतिशत तरकारी आएको छ । तराईका चितवन, सर्लाही, रौतहटलगायतका जिल्लाबाट २० प्रतिशत तरकारी आपूर्ति हुने गर्छ । काभ्रे, धादिङ, मकवानपुर, नुवाकोटलगायत आसपासका जिल्लाबाट २० प्रतिशत आपूर्ति हुने गरेको खतिवडाले जानकारी दिए । तराईमा ढुवानी अवरोधसँगै घाम लाग्ने र पानी पर्ने हुँदा तरकारी नष्ट भइरहेको उनले बताए । उनले भने, ‘तरकारी ल्याउने क्रममा एकछिन घाम लाग्ने, एकछिन पानी पर्ने भइरहेको छ, जसकारण धेरै नष्ट हुन पुगेको छ।’

एक सय टन कम आपूर्ति
कालिमाटी बजारमा उपत्यकाका लागि दैनिक करिब ७ सय टन तरकारी आपूर्ति हुन्छ । तर, तराईमा बाढी आएपछि १ सय टन कम आपूर्ति भइरहेको खतिवडाले जानकारी दिए । तराईबाट यतिवेला पर्बल, घिउसिमी, भन्टालगायतका तरकारी धेरै आपूर्ति हुने गर्छ । तर, तिनै तरकारीको आपूर्ति कम हुँदा मूल्य बढिरहेको उनले बताए । बाढी आउनुअघि परबर, घिउसिमी र लामो तथा डल्लो भन्टाको मूल्य क्रमशः ६५, ७५, ३५, ३५ रुपैयाँ प्रतिकिलो थियो । तर, बाढी आएको एक सातापछि बुधबार कालिमाटी बजारमा पर्बल ८५, घिउसिमी ९५, लामो भेन्टा ५० र डल्लो भेन्टा ४५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला