पर्वतमा आत्महत्याका घटनामा वृद्धि

पर्वत,
भाद्र ०१ ।

पर्वतमा आजभोलि आत्महत्याका घटना बढ्दै जान थालेका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको साउन महिनामा मात्रै ७ जनाले आत्महत्या गरेको पाइएको छ । गत आर्थिक बर्षमा पर्वतमा ३१ जनाले देहत्याग गरेका थिए भने यस बर्ष साउनमा मात्रै ७ जनाले आत्महत्या गरेका हुन् । आत्महत्या गर्नेमा युवा युवती देखि बृद्धबृद्धा सम्मका व्यक्तिहरु रहेका छन् । साउन महिनामा मात्रै झुण्डिएर ४ जनाले आत्महत्या गरेका छन् भने विष सेवन गरेर १ जना र हामफालेर २ जनाले आत्महत्या गरेको प्रहरी तथ्याङक छ । पवृतको जलजला ७ का हिमाल परियार, फलेवास नगरपालिका १० का भासबहादुर क्षेत्री, मोदी गाउँपालिका १ का मैतलाल विक, र विहादी गाउँपालिका १ का तेजबहादुर गुरुङले झुण्डिएर आत्माहत्या गरेका थिए भने विहादी १ की शान्तिदेवी क्षेत्रीले विष सेवन गरेर आत्महत्या गरेकी हुन् । त्यसै गरी ललितपुर महानगरपालिका १५ की मुना राना र सुनसरी धरान उपमहानगरपालिका ११ का अंकिन गुरुङले पर्वतमा रहेको नेपालकै अग्लो कुश्मा ज्ञादी झोलुङ्गेपुलबाट हामफालेर सामुहिक आत्महत्या गरेका थिए । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक शेखर खनालले आत्महत्याका घटना गत बर्षको तुलनामा यस बर्ष अझै बढ्ने देखिएको बताउनुभयो । खास गरी युवा युवतीहरु प्रेम र लागु औषध कै कारणबाट आत्महत्या गर्ने गरेको प्रहरी अनुसन्धानमा पाइएको उहाले बताउनुभयो । कतिपय युवायुवतीहरु प्रेममा धोका पाएपछि र प्रेम सम्बन्धमा जोडिएपछि घरपरिवारले नस्वीकार्ने र अन्तिम विकल्पका रुपमा आत्महत्यालाई रोज्ने गरेको खनालले बताउनुभयो । आर्थिक बर्ष २०७१।७२ मा ३६ जनाले आत्महत्या गरेका थिए भने २०७२।७३ मा २९ र २०७३।७४ मा ३१ जनाले पर्वतमा आत्महत्या गरेका थिए । नेपालमा प्रत्येक २ घण्टामा एकजनाले आत्महत्या गर्ने गरेको तथ्य सार्वजनिक भएपछि प्रहरीले पनि मुलुकभर आत्महत्या गर्नेको संख्या बढिरहेको जनाएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला