बालबालिकाको मनमा रमाउँदै सफल गुरुआमा कमला

                                                                                                                                                                                   -गोविन्द अधिकारी 
जीवनका उकाली ओराली, अनेकौ घुम्तीहरु कठिन संघर्षका साथ पार गर्दै आएकी एक सफल नारी पात्र हुनृ कमला ढकाल अधिकारी । जीवनका ४० औं बसन्त पार गरिसक्दासम्म धेरै क्षेत्रहरुको अनुभव संगालिसकेको भएपनि अधिकारी साना बालबालिकाको शिक्षा क्षेत्रमा राम्रो दखल राख्छिन् ।
नारीलाई एक प्रेममय, कोमल, निर्मल, सहनशीलताकी प्रतिमुर्तिको रुपमा लिने गरेको पाइन्छ । सायद यही नारी गुणले प्रशिक्षित र सुसज्जित भएर होला अधिकारी सानैदेखि बालबालिका प्रति अति नै लगाव राख्ने गर्दथिइन् । बालबालिकासँग रम्नु र केही नयाँ कुरा सिकाउनु उनको सोख बनेको छ । खोटाङ जिल्लाको बुइया भन्ने स्थानमा मध्यम घरपरिवारमा जन्मेको भएपनि उनको बाल्यकाल राजधानी काठमाडौमा वितेको हो । राजधानीकै पद्म कन्या स्कुलबाट स्कुले शिक्षा हासिल गरेकी उनले पद्म कन्या कलेजबाट नै नेपाली विषयमा उच्च शिक्षा हासिल गरेकी हुन् । आफू बाल्यकालमा सुखसयल र मायाममतामा हुर्केर पनि घरगाउँमा आर्थिक गरीवी र अभावले पढाइ लेखाइ पुरा गर्न नपाएका बालसंगीहरुको यादले उनलाई सधै सताइरहन्थ्यो । विशेषगरी बालबालिकालाई असल र व्यवहारिक शिक्षा प्रदान गर्नुपर्छ भन्ने कुराले आफ्नो मनमा जरा गाडेपछि जिन्दगी नै शिक्षा क्षेत्रमा होम्ने त्यसमा पनि बालबालिकाकै शैक्षिक विकासमा लगाउने अधिकारीले प्रण गरेकी छिन् ।
शिक्षित र खानदानी संयुक्त परिवारमा हुर्केकी भएपनि शिक्षाको सवालमा महिलाले किन पढ्नु पर्छ र ? भन्ने मानसिकता राख्ने पुरुषप्रधान समाजको चिन्तनबाट उनी प्रभावित नबनेकी हैनन्् । खासगरी उनका हजुरबाले छोरीले पढे पनि जागिर खानु हुँदैन भन्ने मानसिकता राख्ने गर्दथे । हजुरबाको छोरी मान्छेले जागिर खानु हुँदैन भन्ने चिन्तनलाई परास्त गर्दै उनले जागिर खाएकी थिइन् । त्यतिखेर जागिर खानु उनका लागि एकखाले विद्रोह गरेजस्तै अहिले लाग्छ । अधिकारीले २०४८ सालतिर नै एसएलसी पासपछि यूनिसेफ भन्ने संस्थामा राम्रै सेवासुविधा लिएर जागिर गरेकी थिइन् । जागिरमा जम्मा २ वर्ष समय विताए पछि आफैले केही पेशाव्यवसाय गर्नुपर्छ भन्ने मुड बनाइन् । यस्तो मुड आउनुको पछाडि उनका बाबु हेमान्नद ढकालले हवाइविभागमा कायममुकायम डाइरेक्टरबाट हुँदाखादाको जागिर छाड्न परेपछि हो । पंचायती शासकले नेपाली कांग्रेसको विचारधारा बोकेको र सहयोग गरेको भन्ने आरोपमा २०४० सालमा उनका बाबुलाई जागिरबाट बर्खास्त गरेको थियो । बाबुको जागिर छुटेपछि ढकाल परिवारका दुःख र संघर्षका दिनहरु शुरु भएका थिए । त्यसपछि नै अधिकारीकोे मनमा आफैले केही गर्नुपर्छ भन्ने भावनाको विकास भएको थियो । सानैदेखि विभिन्न पेशाव्यवसाय संचालन  गर्दै आफ्नो पढाइ खर्च जुटाउने क्षमता अधिकारीले राख्न थालिन् । उनले व्यवसाय गर्ने क्रममा धेरै संघर्ष गर्नु प¥यो । केही व्यवसाय गर्दै उच्च शिक्षा अध्ययन गर्ने क्रममा उनले स्टेशनरी पसल, व्युटीपार्लर संचालन गरिन् । यी सवै व्यवसाय गर्दै गर्दा पनि उनको मन भने शिक्षा क्षेत्रमै केही गर्नुपर्छ भन्ने रहिरह्यो ।
सानैदेखि केही फरक कार्य गरेर समाजमा उदाहरणीय छाप छाड्न सक्नुपर्छ भन्ने मान्यता बोक्ने अधिकारीले धेरै अवसरहरुलाई त्याग गरी बालबालिकाकै शिक्षाको विकासमा आफूलाई समर्पित गर्ने प्रण गरिन् । त्यही प्रणको यथार्थ रुप भनेको उनी संस्थापक रहेको छुनामुना मन्टेश्वरी विथ डे केयर हो । दृढ ईच्छाशक्ति र लामो संघर्षको दौडानपछि स्थापना भएको उनको स्कुल काठमाडौको धुम्बाराही मण्डीकाटारमा रहेको छ । संस्थापक नै अधिकारी रहेको उक्त मन्टेश्वरीको स्थापना वि.सं. २०६३ मा भएको हो । काठमाडौमा मन्टेश्वरीको संख्या गनेर नसक्ने छ । ती सवै मन्टेश्वरी भन्दा अधिकारीले स्थापना गरेको भिन्दै छ । उनको मन्टेश्वरीमा हाल करीव २०० सानाबालबालिकाले पठनपाठन गर्दै आएका छन् । मन्टेश्वरीमा सानाबालबालिकालाई व्यवहारिक शिक्षा दिइन्छ । विभिन्न शैक्षिकविधि र कलामार्फत् विद्यार्थीको मनमस्तिष्कमा भिज्ने गरी पढाउन सक्नु छुनामुना मन्टेश्वरीको फरक पहिचान हो ।
साना बालबालिकालाई क, ख अक्षर सिकाउनु भन्दा ठुलो कुरा नेपाली मौलिक संस्कारको क, ख सिकाउनु महत्वपूर्ण हुने गुरुआमा अधिकारीको तर्क छ । साना बालबालिकाको पहिलो पाठशाला घर हुन्छ । हामीले हाम्रो मन्टेश्वरीलाई नै असल संस्कार सहित शिक्षा दिइने घर बनाउने सत्प्रयास गरिएको अधिकारीको भनाई छ । अधिकारीको मन्टेश्वरीको अर्को महत्वपूर्ण विशेषता भनेको नै बालबालिकालाई मातृवात्सल्य प्रेम दिई व्यवहारिक शिक्षा प्रदान गर्नु हो । बालबालिकालाई सवैभन्दा पहिले प्रेममय पारिवारिक वातावरण दिइनुपर्छ भन्ने उनको मान्यता छ । प्रेमले जस्तोसुकै शत्रुलाई परास्त गर्न सकिन्छ भने ईश्वरको दोस्रो रुप मानिने बालबालिकाको मन जित्नु प्रेमकै प्रयोग गरिनुपर्छ । कुटेर, पिटेर र थर्काएर कहिल्यै पनि बालबालिकालाई उचित शिक्षा  प्रदान गर्न सकिदैन र बालबालिकाले स्वतन्त्रताको भरपुर रसास्वादन गर्न पाउनुपर्छ भन्ने तर्क गुरुआमा अधिकारीको छ । यही तर्क र विश्वासको आधारमा नै छुनामुना मन्टेश्वरी संचालन हुँदै आएको छ । जसकाकारण यो मन्टेश्वरीका अभिभावकहरु सन्तुष्ट छन् भने विद्यार्थीको आकर्षण समेत बढ्दो छ । गुरुआमा अधिकारी आफ्ना बालबालिकाको मनमा मातृवात्सल्य पे्रमबाट रम्न सफल छिन् ।
छुनामुना मन्टेश्वरीका बालबालिकाहरु हर्षित मुद्रामा देखिन्छन् । मन्टेश्वरीमा प्ले गु्रपदेखि युकेजीसम्म पढाइ हुने गरेको छ । बालबालिकालाई बजारका खाद्यपदार्थहरु खानमा बन्देज लगाइएको छ भने शारीरिक स्वास्थ्यमा मात्र नभई मानसिक रुपमा समेत स्वास्थ्य राख्नका लागि विभिन्न ध्यान र साधना विधिको प्रयोग गर्ने गरिएको छ । छुनामुना मन्टेश्वरी पढेर उच्च कक्षा पढ्न जाने विद्यार्थीले राम्रो पढाइ गर्दै आएको समेत पाइन्छ ।
नारीहरुको शैक्षिक, सामाजिक र आर्थिक समृद्धिले मात्र समाज र मुलुकको विकास सम्भव हुन्छ भन्ने विश्वास राख्ने अधिकारी आफू राजनीतिक परिवारको सदस्य भएपनि राजनैतिक क्षेत्रमा खासै चासो राख्दिनन् । मन्टेश्वरी क्षेत्रमा राज्यका सरोकारवाला निकायले चासो र कुनै सहयोग नराखेको गुनासो गर्ने अधिकारी हाल मन्टेश्वरी एसोसिएसनको केन्द्रिय सदस्य रहेकी छन् । बालशिक्षाको क्षेत्रमा संगठित भै कामगर्न पनि एसोसिएसनको स्थापना गर्नु परेको उनको तर्क छ । शिक्षा क्षेत्रका होमिदै गरेकी अधिकारीले पैसा कमाउनु मात्र आफ्नो साध्य नभई मन्टेश्वरी मार्फत् सामाजिक सेवाको अभ्यास गर्दै गरेको दावी गर्छिन् । उनले आर्थिक अभाव र गरिवीले अक्षर चिन्न मुस्किलमा परेको केही बालबालिकालाई शिक्षा दिदै आएकी छिन् भने आगामि दिनमा त्यस्ता बालबालिकाहरुलाई अरु बढी स्थान दिने उनको लक्ष्य छ ।
नारी शिक्षा र हकअधिकारको आवाज उठाउन पछि नपर्ने उनले आफ्नो मन्टेश्वरीमा शिक्षकहरु समेत सवै महिलाहरु नियुक्त गरेकी छन् । उनको मन्टेश्वरीको गाडी चालक पनि महिला नै रहेकी छिन् । महिलाहरु आफै उठेर केही गर्नुपर्छ भन्ने भावनाको विकास नभएसम्म कसैले केहीगर्न नसक्ने उनको भनाई छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला