जापानमा भाषा नबुझेर स्वास्थ्य उपचारमा समस्यामा परेका नेपालीले अब अनलाइनबाटै सेवा पाउने

जापान,२३ असोज  ।

जापानमा भाषा नबुझेर स्वास्थ्य उपचारमा समस्यामा परेका नेपालीले अब अनलाइनबाटै सेवा पाउने भएका छन् ।

भाषा नबुझेर उपचार गर्न समस्यामा परेका नेपालीलाई लक्षित गर्दै जापानका अस्पतालमा कार्यरत पाँच जना डाक्टरले इन्नो सेवा हेल्पलाइन सञ्चालनमा ल्याएका छन् । अनलाइन प्रविधिमा आधारित हेल्पलाइन मार्फत समस्या भएका नेपालीले सहज रुपमा उपचार पाउने आयोजकले बताएका छन् ।

जापानमा रहेका डाक्टर उज्ज्वल न्यौपाने, लुसन चालिसे, प्राविधिक इञ्जिनियर हरेन्द्र भण्डारी, पवन मिश्र र नृपेन्द्र श्रेष्ठको पहलमा अनलाइन सञ्चालनमा ल्याइएको हो । कुकदेखि पारिवारिक, व्यावसायिक र अध्ययनमा जापान आउने नेपाली बढेसँगै विभिन्न प्रकारका समस्या थपिँदै गएपछि समाधानका लागि हेल्पलाइन अनलाइन शुरु गरिएको हो ।

जापानका विश्वविद्यालयमा अध्ययनपछि उच्चस्तरीय अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकले शुरु गरेको यो प्रविधि अन्तर्गत निःशुल्क रुपमा समस्या सुन्ने, जापानी भाषामा उल्था गर्ने र सम्बन्धित अस्पतालबारे जानकारी लगायतका काम हुने डाक्टर न्यौपानेले बताउनुभयो ।

भाषा नबुझेरसमस्या नथपियोस भनेर पाँच जना मिलेर सुरु गरिएको काममा अहिले नौ जना डाक्टर रहेको न्यौपानेले जानकारी दिनुभयो ।

डाक्टर सन्दिप शाक्य, दीपेन्द्र गौतम, मेलिसा रञ्जित र विजय ज्ञवाली समेत गरी नौ जनाको समूहले स्वास्थ्य समस्या र जीवनयापनको उपायबारे अनलाइन मार्फत जानकारी दिने गरेका छन् ।

दिनभर काम गरेर घर फर्केका र छुट्टिको समयमा समस्या राख्नेलाई चिकित्सकले पनि अनलाइनबाटै समाधानको उपायबारे जानकारी दिन टोकियोमा हालै एक कार्यक्रम पनि आयोजना गरिएको थियो ।

कार्यक्रमबारे जानकारी लिएपछि नेपाली राजदूतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले इन्नो सेवा हेल्पलाइनलाई थप प्रभावकारी बनाउन सके जापानमा बस्ने नेपालीले फाइदा लिनसक्ने बताउनुभयो । जापानमा स्वास्थ्य बीमा भएमा अधिकांश उपचारमा ३० प्रतिशतमात्र रकम विरामीले तिर्नुपर्छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला