ओलीबाट धोका भएपछि बालकोटबाट रिसाएर फर्किए बाबुराम, वाम गठबन्धनबाट बाहिरिने चेतावनी

काठमाडौं, २६ असोज  ।

वाम गठबन्धन र एकताका प्रमुख नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट धोका भएपछि नयाँ शक्ती पार्टीका संयोजक डा बाबुराम भट्टराईले गठबन्धनबाट बाहिरिने निष्कर्षमा पुगेका छन् ।

केपी ओलीको भर परेर वाम गठबन्धनमा सहभागी हुने, एमालेको सूर्य चिन्ह लिएर चुनाव लड्ने निर्णय गरेका बाबुराममाथि अहिले आएर धोका भएपछि नयाँ शक्तिका नेताहरुले गठबन्धन तोडेर कांग्रेस वा मधेसवादी दलसँग तालमेल गर्नुपर्ने सुझाव दिएका छन् ।

बुधबार बालकोटस्थित केपी ओलीको निवासमा छलफलका लागि पुगेका डा. बाबुराम भट्टराईले केन्द्रीय संसदमा आफ्नो पार्टीले १५ सीट पाउनुपर्ने माग गरेका थिए । साथै प्रदेशसभामा ३० स्थान पाउनुपर्ने भट्टराईको माग थियो । तर, ओलीले ‘बडो गाह्रो भयो’ भन्दै भट्टराईको माग पूरा नहुने आशय व्यक्त गरेपछि उनी रिसाएर फर्किएको स्रोतले बतायो ।

एमाले, माओवादी र नयााशक्ति पार्टीवीच वाम एकताको प्रतिवद्धतासहित चुनावी तालमेल गर्ने सहमति भएपछि डा. भट्टराईले १५ सीट आफूहरुले पाउनुपर्ने माग अघि सारेका छन् । केन्द्रीय संसदमा प्रत्यक्ष र समानुपातिक दुबैमा गरी १५ सीट नयाँशक्तिले मागको हो । तर ओलीले पूर्वसहमति विपरित धोका दिएका छन् ।

नयाँशक्तिका एक नेताले भने, हामी पूर्वसहमतिप्रति इमान्दार छौं । तर, हृदयेश त्रिपाठी लगायतका नेतालाई तालमेलका लागि सीट छुट्याएजस्तै हामीलाई पनि सम्मानजनक स्थान हुनुपर्छ भन्ने हाम्रो आग्रह हो ।

वाम गठबन्धनमा सहभागी भएका नयाँशक्ति पार्टी लगायतका दललाई सीट छुट्याइसकेपछि बाँकी रहेका सीटमा मात्रै एमाले र माओवादीवीच ६०–४० को भागवण्डा गर्ने सहमति भएको नयाँशक्तिका नेताको दाबी छ । तर, माओवादी केन्द्रका नेताहरुले अहिले पनि बाबुराम भट्टराईमाथि पूर्वाग्रह राखिरहेको र पुरानो तुष कायमै राखेको गुनासो नयाँशक्तिका नेताले गरेका छन् ।

वाम गठबन्धनमा अपमानित भएर बस्नुभन्दा कांग्रेससँग चुनावी तालमेल गर्नुपर्ने सुझाव

बालकोटबाट चित्त दुखाएर फर्केका डा. भट्टराईले दिउँसो १२ बजेतिर बबरमहलस्थित आफ्नो कार्यालयमा नयाँशक्ति पार्टीका नेताहरुको बैठक डाकेका थिए । सो बैठकमा उनले नयाँशक्ति पार्टीलाई सम्मानजनक स्थान दिनका लागि एमाले र माओवादीका नेताहरु अन्कनाइरहेको र आफूहरुलाई अपमानित गर्न खोजेको रिपोर्टिंग गरे ।

बैठकमा सहभागी नयाँशक्तिका केही नेताहरुले आफ्नो मागलाई उपेक्षा गरिए वाम गठबन्धनबाट अलग भई पार्टीको तर्फबाट बेग्लै उम्मेदवारी दिनुपर्ने सुझाव दिए ।

बैठकका क्रममा केही नेताले १५ सीटभन्दा कम लिएर सहमति गरिएमा विभिन्न जिल्लामा स्वतन्त्र एवं बागी उम्मेद्वार उठाउने चेनावतीसमेत पार्टी नेतृत्वलाई दिएका छन् ।

बैठकमा केही नेताले ओली र प्रचण्डबाट अपमानित भएर बस्नुभन्दा वाम गठबन्धन तोडेर नेपाली कांग्रेस वा मधेसवादी दलसँग चुनावी तालमेल गर्नुपर्ने सुझावसमेत दिएको स्रोतले बतायो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला