सिटौला जिताउन ‘म्याच फिक्सिङ’ ?

ZEN Travels

काठमाडौँ  १४ मङ्सिर  । वाम र लोकतान्त्रिक गठबन्धनले मुलक ध्रुवीकृत भईरहेका बेला लोकतान्त्रिक आन्दोलनको केन्द्र झापामा भने पृथक दृश्य छ।
 
एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सिटौलाप्रति आक्रामक छैनन्। उसैगरी सिटौला र कांग्रेसका अर्का युवा नेता विश्वप्रकाश शर्मा पनि एमालेप्रति आक्रामक छैनन्। बरु गठबन्धनको दृश्य भने फरक छ। राप्रपाका अध्यक्ष कमल थापा मकावनपुरमा बाम गठबन्धनको विरोध गर्छन्, तर उनकै दलका महामन्त्री राजेन्द्र लिङेन बाम गठबन्धनको समर्थनमा उम्मेदवार छन्।
 
चितवन–३ बाट उम्मेदवार रहेका माओवादी अध्यक्ष दाहाल कांग्रेसले राप्रपा ९प्रजातान्त्रिक० उम्मेदवारलाई समर्थन जनाएकोप्रति आक्रामक छन, उसैगरी झापा-३ मा सिटौला आक्रमक छन्।
 
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरवहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार झापाको गौरादहमा (जुन झापाको निर्वाचन क्षेत्र नं ५ अन्तर्गत पर्छ) आयोजना गरेको आमसभामा एमाले र माओवादी केन्द्रको गठबन्धनविरुद्ध चर्को भाषण दिए । कम्यूनिष्ट सरकार बनेमा कहिल्यै निर्वाचन नहुने र एकदलीय अधिनायकबाद लाद्ने दाबी देउवाले गरिरहँदा गृहजिल्लामै रहेका कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला कार्यक्रममै गएनन्।
 
सिटौलासंगै अर्का कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा पनि अनुपस्थित भए । किन त ? जिल्लामा आफ्नै पार्टी नेतृत्व सहभागी कार्यक्रमप्रति उनीहरुको अनुपस्थितिलाई लिएर यतिबेला विभिन्न कोणबाट चर्चा चलिरहेको छ ।
 
सिटौला र शर्मासँग एमाले उम्मेदवार चुनावी प्रतिस्पर्धामा छैनन् । सिटौला राप्रपाका महामन्त्री राजेन्द्र लिङेन र शर्मा माओवादी नेता राम कार्कीसँग प्रतिस्पर्धामा छन् । यसकारण यी दुवै नेता जिल्लामा एमालेलाई चिढ्याउन चाहदैनन् । बरु आफ्नै पार्टीको नेतृत्वमा गठन भएको लोकतान्त्रिक गठबन्धनमा आबद्ध राप्रपाप्रति बढी आक्रमक देखिन्छन् ।
 
‘ओलीविरुद्ध किन बोलिराख्ने भनेर नै दुवै नेता (सिटौला र शर्मा) आफ्नै पार्टीका शीर्षस्थ नेतृत्व उपस्थित रहेको गृहजिल्लाकै कार्यक्रममा नगएका हुन्,’ जिल्लास्थित कांग्रेसका एक नेता भन्छन । जुन कार्यक्रममा पार्टी नेतृत्वले एमाले अध्यक्ष केपी ओली र बाम गठबन्धनप्रति चर्को बिरोधमा अभिव्यक्ति दिएको थियो ।
 
बाम गठबन्धनबिरुद्ध नरम बनेर सिटौलाले एमाले र माओवादी केन्द्र पंक्तिको मत आकर्षित गर्न जसरी खोज्दैछन् त्यो भन्दा पनि उनलाई सहज बनाउन एमाले र माओवादीको नेतृत्व पंक्तिले ‘म्याच फिक्सिङ’ भूमिका निर्वाह गरेको चर्चासमेत चल्ने गरेको छ । यसका पछि केही तर्क पनि छन् ।
 
०४८ देखि निरन्तर चुनाव लडै आएका सिटौलाको ३ नम्बर क्षेत्र राप्रपाका महामन्त्री लिङेनलाई छाड्ने सहमति कांग्रेसको पार्टी नेतृत्वले गरिसकेको थियो । सिटौलाको नाम समानुपातिक सूचीको एक नम्वरमा राखेर निर्वाचन आयोगमा बुझाइसकिएको थियो। सुरुका केही दिन पार्टीले गरेको यो निर्णयप्रति मौन थिए सिटौला।
 
जब झापा आएर काठमाडौं फर्किए, अनि उनले आफूजसरी पनि चुनाव लडिछाड्ने बताए । त्यतिबेला ओलीसँगको गोप्य कुराकानीपछि नै सिटौला चुनावी मैदानमा खडा भएको तर्क राजनीतिक वृत्तमा चलेको छ । जसलाई ‘म्याच फिक्सिङ’ संग जोडेर हेरिएको छ।
 
यसका पछि सिटौलाका भने भिन्नै तर्क छन्। आफू नभएकै मौकामा समानुपातिक सूचीमा राखिएको र झापाका कांग्रेसका कार्यकर्ताको दबाव र मायाकै कारण आफू चुनावी मैदानमा होमिएको उनी तर्क गर्छन।
 
‘मलाई समानुपातिकमा राखेर मेरो क्षेत्रमा राप्रपालाई सघाउने निर्णयलाई मैले पार्टी नेतृत्वको दुस्साहस भनेको छु’ उनले भने,‘म्याच फिक्सिङका कुरा बेकारका कुरा हुन्, एमाले र माओवादी नेतृत्वसंग यो बीचमा मेरो छलफल भएको छैन। नेताहरुले के गर्छन् थाहा छैन तर मतदाताहरुले झापामा प्रश्न उठाएका छन।’
 
राप्रपा नेता लिङेनपनि ‘म्याचफिक्सिङ’ भन्ने हल्लाप्रति विश्वास राख्दैनन्। ‘मलाई त विश्वास छैन, तैपनि त्यसको जबाफ दिने म होइन, केपी ओलीसंगनै सोध्नुहोला’ उनले भने। भित्रभित्र कांग्रेसलाई सघाउने हो कि भन्ने संशय चलीरहेकै बेला लिङेनकै आग्रहमा ओलीले दोस्रोपटक विहीबार क्षेत्र नम्बर ३ मै आयोजित सभालाई सम्वोधन गर्ने भएका छन्। ओलीको चुनावी अभियानको सुरुवात पनि यसै क्षेत्रबाट भएको थियो। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला