निर्वाचन विथोल्न खोज्नेलाई नेपाली सेनाले गोली हान्ने

ZEN Travels

काठमाडौं । रक्षामन्त्री भीमसेनदास प्रधानले निर्वाचन विथोल्ने उच्छृंखल तत्वहरुलाई गोली हान्ने अधिकार नेपाली सेनालाई दिइएको बताए ।

उनले भने,‘निर्वाचन विथोल्न खोज्ने उच्छृंखल तत्वहरुलाई निस्तेज पार्नको लागि नेपाली सेनालाई हामीले आवश्यक निर्देशन दिएका छौँ, सेनालाई गोली हान्नेसम्मको अधिकार दिइएको छ ।’

निर्वाचनको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा रक्षामन्त्री प्रधानले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको र मतदाताहरुको भरपर्दो सुरक्षा प्रबन्ध गरेकोले ढुक्क भएर मतदान गर्न आग्रह गरे । मन्त्री प्रधानले थने,‘भोलि हुने निर्वाचनमा अत्यधिकभन्दा अत्यधिक मात्रामा सहभागिता होस् ।’

उनले अहिलेसम्म निर्वाचन विरोधी गतिविधि गर्ने ६ सय भन्दा बढीलाई पक्राउ गरिएको र मुद्दा चलाइएको बताए । उनले भने,‘नेपाली सेना हाई अलर्टमा छ, हामीले निर्वाचन सुरक्षा बलियो बनाएका छौँ, कहीँकतै घट्ना भए त्यसलाई हल गर्नको लागि सरकारले आवश्यक निर्देशन दिएको छ, गोली चलाउने आदेश दिएका छौँ ।’ भोलि हुने निर्वाचनमा ३८ हजार नेपाली सेना परिचालन हुने समेत मन्त्री प्रधानले जानकारी दिए । त्यस्तै पहिलो र दोस्रो चरणको निर्वाचन गरेर ६४ हजार २० सेना परिचालन हुने पनि उनले जनाए ।

मन्त्री प्रधानले भोलि हुने निर्वाचनमा साम, दाम, दण्ड र भेदबाट मुक्त भएर मतदान गर्न समेत आम मतदाताहरुलाई आग्रह गरे । नेपाली जनताले ७० वर्ष लगाएर संविधान पाएको भन्दै उक्त उपलब्धिहरुलाई संस्थागत गर्नको लागि पनि यो निर्वाचन अत्यन्तै महत्त्वपूर्ण भएको उनको भनाई थियो । उनले भने,‘हिजोको झापा विद्रोहको झापाली माले, जनयुद्ध गरेको नेकपा माओवादी केन्द्र, राप्रपा, राप्रपा–प्रजातान्त्रिक र तराई मधेसका पार्टीहरू पनि चुनावमा सहभागी हुनुभएको छ, उहाँहरू मुलधारमा आउनुभएको छ, यो सफलता हो ।’

निर्वाचन स्वतन्त्र, भयरहित र निश्पक्ष रूपमा सम्पन्न गर्न सुरक्षा निकायहरू प्रिचालित भइसकेको जनाउँदै उनले भने,‘निर्वाचनको मुखमा भएका थुप्रै घट्नाहरु हामीले निस्तेज पारेका छौँ, केही दिनअघिमात्रै गगन थापामाथि हमला भयो, मेरो निवासमापनि प्रेसर कुकर राखियो, भय उत्पन्न गराउन यस्तो गरियो, नेपाल सरकारले निर्वाचन स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सम्पूर्ण निकाय परिचालन गरिसकेका छौँ । हेलिकप्टरमार्फत पनि अनुगमन भइरहेको उनले जनाए ।

 

मन्त्री प्रधानले निर्वाचनका लागि तीन घेरामा सुरक्षा प्रदान गरेकाले नडराईकन निर्वाचनमा भाग लिन आग्रह गरेका हुन् । “पहिलो चरणमा म्यादी र नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो चरणमा नेपाली सेनाले सुरक्षा प्रदान गर्छ,”– उनले भने ।

मन्त्री प्रधानले प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा ६४ हजार नेपाली सेना परिचालन गरिएको बताए । जनताको मतबाट बनेको संविधान कार्यान्वयन गर्नका लागि निर्वाचन हुन लागेकाले जनता निर्वाचनप्रति उत्साहित भएको मन्त्री प्रधानले बताए ।

नेपाल बार एशोसियशनका अध्यक्ष शेरबहादुर केसीले लोकतन्त्रको रक्षाका लागि निर्वाचन भएकाले निर्वाचन प्रक्रियामा सहभागी हुन सबैलाई आग्रह गरे । उनले निर्वाचनलाई स्वच्छ, भयरहित र स्वतन्त्र रूपमा सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्थापनमा कडाई गर्न सरकारसँग आग्रह पनि गरे ।

निर्वाचन सफल रूपमा सम्पन्न भएर नयाँ लोकतान्त्रिक सरकार बनोस् भन्ने उनको कामना थियो । उनले थपे,‘नयाँ सरकारले धेरै काम गर्नुपर्छ, संविधानले देखाएको बाटोमा हिँड्नुपर्छ, त्यसैले अब बन्ने सरकार लोकतान्त्रिक होस, यदि निरंकुशतावादी सरकार बन्यो भने हामी सडकमा आउँछौं, नेपाल बार जहिलेपनि वाचडगको रूपमा रहेको छ ।’

सरकारका पूर्वसचिव दिवाकर पन्तले संविधान कार्यान्वयनका लागि यो निर्वाचन महत्त्वपूर्ण निर्वाचन भएकाले उत्साहपूर्ण रूपमा आफ्नो मताधिकार प्रदान गर्न सबैसँग अनुरोध गरे ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला