पृथ्वीनारायण शाहको परराष्ट्र नीतिका पञ्चतत्व

ZEN Travels

              जुनसुकै देशको परराष्ट्र नीतिका तीनवटा लक्ष्य हुन्छन् । पहिलो- देशको स्वाधीनता, सार्वभौमिकता र प्रादेशिक अखण्डताको रक्षा गर्ने । दोस्रो- आर्थिक, सामाजिक विकास र तेस्रो- विदेशी हस्तक्षेप एवं घुसपैठबाट बच्ने । ठूला शक्ति राष्ट्रहरुले कमजोर देशभित्र हस्तक्षेप गर्छन् । सानाले त्यो हस्तक्षेपलाई रोक्ने प्रयास गर्छन् ।

बडामहाराजधिराज पृथ्वीनारायण शाहको परराष्ट्र नीतिलाई यसैको आलोकमा हेरिनुपर्छ । उनको परराष्ट्र नीतिमा पाँच वटा मुख्य तत्व देखिन्छन् । उनको परराष्ट्रनीतिको लक्ष्य पनि नेपालको सुरक्षा नै हो ।

१९ वर्षको उमेरमा उनी राजा बने । २० वर्षको उमेरमा हतियार किन्न बनारसको यात्रामा गए । गोरखाको राजपाठ आफ्नी आमा र कालु पाण्डेलाई जिम्मा लगाएर बनारस गएका थिए । बनारस जाँदा उनले हतियार मात्रै किनेनन्, बिहे पनि गरे । आफ्नो गोत्र बदले ।हिमालयको काखमा एउटा हिन्दूराष्ट्र निर्माण गर्ने र त्यसलाई सुरक्षित राख्ने उनको परराष्ट्र नीतिको प्रमुख लक्ष्य देखिन्छ । त्यसैकारण उनले नेपाल एकीकरण गरे । किनभने, जनतामा एकता नभइकन सुरक्षा हुँदैन भन्ने उनलाई थाहा थियो । भारतमा त्यो प्रष्ट देखेका थिए ।

त्यतिबेला गंगाजीको दायाँ-बायाँ रहेका हालको उत्तर भारतका राजा, रजौटाहरुको अवस्था कमजोर थियो । तिनीहरुलाई अंग्रेजहरुले कपाकप खाँदै जाने सम्भावना पृथ्वीनारायण शाहले देखे । नेपालमा बाइसे र चौबीसेलगायत काठमाडौं उपत्यका र पूर्वका किराँत राज्यहरु समेत एक भएन भने अंग्रेजले त्यसैगरी खान्छ भन्ने उनले देखे । र, नेपाल एकीकरण नै उनको परराष्ट्र नीतिको पहिलो तत्व हो ।

दोस्रो तत्व हो, त्यो एकीकरणका लागि आवश्यक कुटनीति र राजनीति । त्यही उनले गरे । काठमाडौं र नुवाकोटतर्फ लडाईं शुरु गर्नुअघि उनले बाइसे, चौबीसे सबै राजाहरुकहाँ आफ्ना दूत पठाए । लमजुङ, तनहुँ, कास्की, पर्वत, पाल्पा, रुकुम, सल्यान सबैतिर दूत पठाए ।

काठमाडौंमा समेत पठाइएका छन् । उनले सबैलाई कूटनीतिक र राजनीतिक तवरले सहमत गर्ने कोशिस गरे, ‘हामी एक भएनौं भने अंग्रेजको दास हुनेछौं । एक हुने कि नहुने ? हेर्नुस्, तराईभन्दा पारि भारतमा के भइरहेको छ ?’

यसो भनेर सबैलाई सहमत बनाउने कोशिस गरे ।

एकीकरणकै सिलसिलामा उनले मकवानपुरका राजा हेमकर्ण सेनकी छोरीसँग बिहे गरेका थिए । तर, बिहे मात्रै गरे, राजकुमारीलाई गोर्खा ल्याएनन् । त्यो खटपट अर्कै छ । मकवानपुरका राजाको सम्पर्क तराईका मुसलमान राजाहरुसँग पनि थियो । र, उनीहरुले हातहतियार ल्याउनका लागि मद्दत गर्छन् कि भनेर बिहे गरेका थिए । तर, व्यवहारमा आफूलाई अपमान गरेको महशुस पृथ्वीनारायण शाहलाई भयो ।

उनले भनेका छन्, ‘डोला पनि ल्याउँ, मकवानपुरसँग कुरा पनि गरौं भनेर गयौं तर कुरा मिलेन । त्यसपछि मैले नौलाखे हीरा र एकदन्त हात्ती दिन्छौ भने डोला पनि लैजान्छु र दिँदैनौ भने फर्केर जान्छु भनेर निहुँ झिकेँ ।’

आफ्नो माग पूरा नभएपछि पृथ्वीनारायण शाह चन्द्रागिरी हुँदै गोरखा फर्किए । अहिले केबलकार बनेको ठाउँबाट काठमाडौं उपत्यका हेर्दा साह्रै राम्रो देखे । उनका साथमा आएका ज्योतिषीहरुले ‘तपाईंको इच्छा पूरा हुन्छ’ भनिदिए ।

‘कसरी मेरो मनको इच्छा तिमीहरुले बुझ्यौ’ भनेर सोध्दा उनीहरुले भने, ‘जसै तीन शहर नेपाल खाल्डोमा नजर भएथ्यो, सहसा हात जुँगामा गयो ।’ त्यो भनेको ‘त्यहाँको राजा हुन पाए त’ भन्ने भाव झल्किन्छ उनको भनाइमा ।

तेस्रो, उनको परराष्ट्रनीतिको तत्व हो, सेना । यदि राजनीति र कूटनीतिले काम गरेन भने सेना प्रयोग गर्ने । त्यतिबेला उनीसँग १५/१६ सय सैनिक थिए होलान् । सुनेअनुसार गोर्खामा १२ हजार घरधुरी थिए । ती धुरीबाट १/१ जना लडाका मागेर लडाईं थालिएको थियो । त्यतिबेला न बर्दी थियो, न त कवाज हुन्थ्यो ।

बनारसबाट फर्केर आउँदा गोरखपुरबाट उनले तीन जना मुसलमान साथमा लिएर आएका थिए । उनीहरुलाई बन्दुक बनाउने, चलाउने र मर्मत गर्ने तरिका थाहा थियो । उनीहरुले गोर्खाली फौजलाई तालिम दिए ।

सिन्धुलीगढीमा क्याप्टेन किनलकको फौजलाई गोरखाको फौजले परास्त गरेको थियो । ‘उहाँ पनि काटी पत्थर काला च्याती ल्यायाँ’ भनेका छन् । ‘पत्थर काला’ भनेको बन्दुक हो । खोसेर त ल्याइयो तर कसरी चलाउने हो भन्ने थाहा थिएन । ती मुसलमानलाई थाहा रहेछ । उनीहरुको सहयोगमा अरुले पनि सिके ।

पृथ्वीनारायण शाहको परराष्ट्र नीतिको चौथो तत्व हो प्रतिरक्षात्मक लडाईं । दिव्योपदेशमा उनले भनेका छन्, ‘जाई कटक नगर्नु, झिकी कटक गर्नु ।’ यसको अर्थ हो, आफैं निहुँ खोजेर जाइनलाग्नु तर निहुँ खोज्न आउनेलाई त्यसै नछोड्नु ।

नेपाल पहाडी मुलुक भएकाले परम्परादेखि नै पहाडमा लड्न हामी अभ्यस्त छौं । अग्लो ठाउँमा टाकुरामा बसेर तल बसेका शत्रुलाई ढुंगा गुल्टाएर वा धनुकाँड हानेर लड्ने हाम्रो शैली हो ।

हामी मैदानमा सक्दैनौं, त्यसैले आक्रमण गर्दै नजानु भनेर उनले भनेका छन् । उनले ‘सानालाई मिलाऊ, ठूलालाई नचलाऊ’ पनि भनेका छन् । यसैअनुरुप उनले बाइसे, चौबीसेलगायत राज्यहरुलाई आफूमा मिलाए तर भारत र चीनजस्ता महाशक्तिहरुलाई जिस्क्याउन गएनन् ।

पृथ्वीनारायण शाहले अपनाएको परराष्ट्र नीतिलाई नै जंंगबहादुर राणा, भीमसेन थापा, राजा महेन्द्रदेखि केपी ओलीसम्मले पछ्याएको देखिन्छ । किनभने, परराष्ट्र नीतिको पहिलो निर्धारक तत्व भनेको भूगोल हो । अरु चिज बदलिन सक्छ, भूगोल बदलिँदैन । यही भूगोलका आधारमा पृथ्वीनारायण शाहले ‘नेपाल दुई ढुंगाबीचको तरुल हो’ भनेका थिए, जुन आज पनि उत्तिकै सान्दर्भिक छ ।

आर्थिक नीतिहरु

पृथ्वीनारायण शाहले मुलुकको आर्थिक समृद्धिका बारेमा पनि धेरै कुरा भनेका छन् । मुलुक गरिब भयो भने सुरक्षित रहँदैन भन्ने उनको मान्यता थियो ।

उनले पूर्व र पश्चिमको रास्ता बन्द गरी यहीँ रसुवाबाट, जहाँ अहिले चीनले बाटो खन्ने भनेको छ, काठमाडौंसम्म यातायातको बाटो खुलाउने इच्छा राखेका थिए । सिक्किम र गोरखाभन्दा पश्चिमका बाटो बन्द गर्ने उनको आशय हो ।

सिक्किममा अंग्रेजको पनि नियन्त्रण थियो । त्यतातिरको बाटो बन्द गरेर यताबाट व्यापार गर्‍यो भने कर उठ्छ र हामी सम्पन्न हुन्छौं भन्ने उनको विश्वास हो ।

उनले समयमै भनेका थिए, ‘दक्षिणका बादशाहसँग घाहा राख्नु । त्यो महाचतुर छ ।’ घाहा भनेको शान्ति, मैत्री हो । त्यो भनेको अंग्रेजलाई खुशी राख्नु भनेको हो ।

‘हिन्दूस्तानमा विद्रोह भयो भने अंग्रेज फौज किल्ला खोज्दै आउन्या छन्’ भनेर उनले भनेका छन् । किनभने, हिन्दूस्तानमा विद्रोह भयो भने सुरक्षाका लागि अंग्रेजहरु पहाडतिर स्वाभाविकै हुन्थ्यो । ‘आयो भने चुरेमा खुबै काटिन्या छ, ५/७ पुस्तालाई खजाना पनि मिल्न्याछ’ भन्नुको तात्पर्य हो, अंग्रेजहरु आए भने चुरेमा काट्छौं र ५/७ पुस्तालाई पुग्ने गरी हतियार खोस्छौं ।

उनले भनेका छन्, विदेशका साहु-महाजनलाई गौर, पर्साहा (पर्सा) देखि उँभो आउन नदिनु, आया भन्या मुलुक कंगाल गरी छाड्न्या छन् ।’

यस्तै, अर्को ठाउँमा भनेका छन्, ‘आफ्ना देशका कपडा बुन्न जान्यालाई नमूना देखाई कपडा बुन्न सिकाउनु । आफ्ना देशका कपडा लाउनु । विदेशका कपडा लाउन मनाही गरिदिनु ।’ भन्नुको तात्पर्य, स्वदेशी उत्पादनलाई प्रश्रय दिनु र विदेशी उत्पादनलाई निरुत्साहित गर्नु । यो आजका सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक छ ।

‘गह्रो बन्या जग्गामा घर भया घर सारी गह्रो बनाउनु’ भनेका छन् । यसको अर्थ हो, घर भएको जग्गा खेतियोग्य छ भने भिरालोमा घर सारेर त्यहाँ खेति गर्नु । यसैगरी, ‘खानी भयाका जग्गामा गाउँ भया गाउँ सारी खानी खन्नु’ भनेका छन् । यसको अर्थ कुनै गाउँको जग्गामा खानी भेटियो भने गाउँ अन्यत्र सारेर भए पनि खानी निकाल्नु भन्ने हो । यो पनि समृद्धिको एउटा ‘प्रेस्त्रिmप्सन’ हो ।

‘आफ्ना देशको जडिबुटी विदेश लगी बेच्नु र नगद खैंचनु’ भनेका छन् । जसको अर्थ हो, स्वदेशका जडिबुटी विदेशमा बेचेर विदेशी मुद्रा आर्जन गर्नु । ‘प्रजा मोटा भया दरबार बलियो रहन्छ’ भन्ने उनको नीति थियो । अर्थात्, जनता सम्पन्न भए मात्र सरकार पनि बलियो हुन्छ । यदि जनता तन्नम भने उनीहरुले सरकारको विरुद्ध विद्रोह गर्न सक्छन् भन्ने उनको राय थियो ।

कर उठाउने ठेक्का कसैलाई नदिएर सरकार आफैंले उठाउनुपर्छ भन्ने उनको मान्यता थियो । यदि कसैलाई वर्षमा १५ सय रुपैयाँ उठाएर ल्याऊ भन्यो भने उसले जनतालाई निचोर्छ । जनता निचोरिन थालेपछि सरकारप्रति विद्रोही हुन्छन् । जनतालाई ‘एक्सप्लोइट’ गर्नु हुँदैन । प्रत्येक गाउँमा सरकारकै मान्छे पठाएर सरकारले तोकेबमोजिम मात्रै ट्याक्स लिनु भनेका छन्, उनले ।

टक (पैसा) चोखो चलाउनु भनेका छन् । त्यतिबेला तिब्बतको सिक्का काठमाडौंका नेवार बाणाहरुले बनाएर पठाइदिन्थे । तिब्बतीहरुले चाँदी दिन्थे र त्यसको उनीहरुले सिक्का बनाएर तिब्बतमा जान्थ्यो । तर, नेवारहरुले चाँदीको सिक्का बनाएर पठाउँदा अलिकति मिसावट गर्थे ।

जब पृथ्वीनारायण शाहले काठमाडौं जिते, त्यतिबेला तिब्बतीका केही सिक्का यहाँ थिए, जुन नेपाली व्यापारीले तिब्बतीलाई सामान बेचेपछि उनीहरुले तिरेको पैसा थियो । त्यतिबेला तिब्बतका शासकले गोर्खाको एक रुपैयाँ र तिब्बतको एक रुपैयाँ बराबर हुनुपर्ने बताए । तर, पृथ्वीनारायण शाहले त्यो मानेनन् ।

‘हाम्रो शुद्ध छ, तिमीहरुकोमा मिसावट छ । त्यसैले तिमीहरुको सय पैसा बराबर हाम्रो ८० पैसा मात्र हुन्छ’ भन्ने उनको अडान थियो । उनको समयमा यो विवाद सुल्झिएन ।

एक ठाउँमा उनले भनेका छन्, ‘मलाई एउटा कुराको सन्देह (डर) लागिरह्या छ । नगिचैै हिन्दूस्तान रह्या छ । त्यहाँ छोकडा पात्रिया (उरन्ठेउला नर्तक नर्तकीहरु) छन् । राजा-महाराजको नाचगानमा बडो मोह हुन्छ । उनीहरु ती पात्रियाको नाचगानमा भुल्लान् । मुजुरा बजाएर तिनका नाच हेर्न थाल्यो भने राज्य डुब्छ । नाचगान हेर्ने मनसुवा भया तीन शहर नेपालको नेवारहरुको नाच झिकाएर हेर्‍या हुन्छ । यिनलाई दियाको पनि आफ्नै देशमा रहन्छ ।’

हिन्दूस्तानतिरबाट आएका नर्तक-नर्तकीलाई बक्सिस दिनुभन्दा यहीँका नेवारहरुलाई दिँदा आप\mनो देशको पैसा बाहिर जाँदैन भन्ने उनको अभिव्यक्तिको आशय हो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला