कर्मचारी संघको अगुवाइमा डिडिसीमा भ्रष्टाचार

ZEN Travels

विराटनगर २७ पुस  ।

विराटनगरस्थित दुग्ध वितरण आयोजना (डिडिसी)मा हुने गरेको भ्रष्टाचार तथा अनियमिततामा कर्मचारी सघं पनि मुछिएको छ ।

दुग्ध विकास संस्थान कर्मचारी संघ नेपाल क्षेत्रीय समिति विराटनगरले मंगलबार विज्ञप्ति जारी गरि विभिन्न संचार माध्याममा प्रकाशित समाचार सत्य भएको स्वीकार गर्दै सूचना चुहाउने कर्मचारीलाई कारबाही गर्नुपर्ने माग गरेको छ ।

यसअघि जनता टेलिभिजनले दुग्ध वितरण आयोजना विराटनगरले २५ हजार पर्ने पाइपलाई १ लाख ४५ हजारमा खरिद गरेको समाचार प्रशारण भएको थियो । उक्त समाचारको विषयमा कर्मचारी संघ क्षेत्रीय समितिका अध्यक्ष चुँडामणी निरौलाले विज्ञप्ति जारी गर्दै संस्थाको सत्यतथ्य बाहिर ल्याई संस्थानको प्रतिष्ठालाई धरासायी हुनेगरी सूचना दिने कर्मचारीलाई अनुशासनको कारबाही गर्न माग गरेका छन् ।

विज्ञप्तिमा खरिद प्रक्रियामा संलग्न रहेका संस्थानका प्रमुख सरोजकुमार सिंखडा र इन्जिनियरिङ शाखा प्रमुख परमेश्वर चौधरीको बचाउ गर्दै उनीहरुको चरित्र हत्या गर्ने गरी सूचना बाहिर ल्याएको उल्लेख गरिएको छ । संस्थानका इन्जिनियरिङ शाखाका प्रमुख परमेश्वर चौधरी सोही संघ निकट रहेका कारण उनको बचाउ गर्न संघले वक्तब्य जारी गरेको बुझिएको छ ।

करोडौं घाटा व्यहोरिरहेको आयोजनाले स–साना सामान खरिदमा पनि वास्तविक मूल्य भन्दा पाँच गुणा बढी मूल्य दिएर सामान खरिद गरेको पाइएको थियो । आयोजनाले २०७४ पुस १२ गते खरिद गरेको एसएस ३०४ ग्रेडको ५ पिस पाइपलाई १ लाख ४५ हजार ७ सय ७० रुपैयाँ तिरेको पाइएको छ । उक्त पाइप विराटनगरमा २५ हजार १ सय ७० मा खरिद गर्न सकिन्छ ।

आयोजनाका लागि काठमाडौंको लाल टे«डिङ कम्प्लेक्सले खरिद गरेको पाइपको मूल्य १ लाख ४५ हजार छ भने विराटनगरस्थित पञ्चकन्या हार्डवेर्सले २५ हजारमा दिएको छ । फरक–फरक मूल्यमा एउटै सामान खरिद गरिएपछि त्यहाँ भ्रष्टाचार हुने गरेको खुलासा भएको थियो । संस्थानभित्र भएको भ्रष्टाचार र अनियमितताको विषयमा प्रमुख र केही कर्मचारीबीच आरोप प्रत्यारोप चलिरहेको बेला कर्मचारी संगठन भने प्रमुखको बचाउ गर्न उत्रिएको छ ।

समाचारमा सार्वजनिक भएको विषयमा छानविनको माग गर्नुपर्नेमा मिडियामा सूचना दिने कर्मचारीलाई उल्टै कारबाही गर्न माग गर्दै वक्तत्व दिनुले भ्रष्टाचार र अनियमिततामा संघका पदाधिकारी पनि संलग्न हुनसक्ने देखिएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला