पर्वतमै १५ करोडको लगानीमा बञ्जी जम्प बन्दै

ZEN Travels

पर्वत ०२ माघ ।

अग्ला पुलहरूको जिल्ला भनेर चिनिएको पर्वत फेरि विश्वकै अग्लो र नमूना बञ्जी जम्पले चिनिने भएको छ । जिल्लालाई पर्यटनको ‘हव’ बनाउन यहाँका युवाहरूले १५ करोड रुपैयाँको लगानीमा बञ्जी जम्पको निर्माण गरिरहेका छन् ।

उनीहरूले संसारकै सबैभन्दा गहिरो खोँच रहेको कालीगण्डकी नदीमाथि बञ्जी जम्प निर्माण थालेका छन् । १ वर्षअगाडिबाट निर्माण थालिएको बञ्जी जम्पको कार्य ७० प्रतिशत सकिएको र अबको ६ महीनामा सकिने लगानीकर्ता युवराज जोशीले बताए । उनले संसारभरिका बञ्जी जम्पका पारखीलाई पर्वतमा तान्ने गरी बञ्जी निर्माण भइरहेको बताए ।

उनका अनुसार सदरमुकाम कुश्मा र बागलुङ जोड्ने गरी ५ सय १५ मिटर लामो र २ सय २८ मिटर उचाइकोे झोलुङ्गे पुलसहित बञ्जी जम्प बन्नेछ । बञ्जी जम्पसँगै कालीगण्डकीको शिरमा तिरैतिर आकाशमा उड्ने साइकल चलाउने ‘स्काई साइक्लिङ’ पनि बनाइसकिएको छ । तारको माध्यमबाट साइकल चलाएर ‘स्काई साइक्लिङ’ मा पर्यटकहरूले आनन्द लिनेछन् ।

उक्त स्थानमा स्काई साइक्लिङ, स्वीङ र रिसोर्टसमेतको व्यवस्था हुने जोशीले बताए । ‘विश्वकै अग्लो बञ्जी अष्ट्रेलियामा छ भन्ने सुनेको छु,’ प्रमुख लगानीकर्ता राजु कार्कीले भने, ‘यो निर्माण सम्पन्न भएँगै अब स्काई साइक्लिङ र स्वीङमा हामी विश्वकै अग्लो हुनेछौं ।’

‘द क्लिफ प्राली’ नामक कम्पनीमार्फत लगानी गरेका उनीहरूले जिल्लालाई साहसिक पर्यटकको ‘हव’ बनाउने दाबी गरेका छन् । उनका अनुसार १ वर्षको अवधिमा दुवैतर्फ बेस निर्माण भइसकेको छ । स्काई साइकिलिङका लागि संरचना तयार भएको छ । मुख्य लट्ठा तान्ने काम १ साताभित्र सक्ने लक्ष्य छ ।

उनीहरूले यो कम्पनीमार्फत बञ्जी, स्काई साइक्लिङ र स्वीङमा मात्रै ६० हजार आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखेका छन् । ‘हाम्रा अधिकांश ग्राहक नेपाली नै हुन्’ कार्कीले भने, ‘विश्वभरका साहसिक पर्यटकलाई यहाँ तान्न हामी सफल हुन्छौं ।’ बञ्जीको क्षमता दैनिक २ सय जनाको छ । झोलुङ्गे पुलबाट एक पटकमा ६ सय जनासम्म वारपार गर्न मिल्छ ।

‘यहाँ एड्भेन्चर स्टाइलको रिसोर्ट र स्वीमिङ पुल बन्छ,’ लगानीकर्ता राजन जोशीले भने । लगानीकर्ताहरूले बलेवाबाट मुलाबारीसम्म ट्रेकिङ रुटको खोजी पनि गरिरहेका छन् । यहाँ आउने पर्यटकहरूलाई कम्तीमा ३ दिनसम्मको ट्रेकिङको व्यवस्था गर्ने लक्ष्य उनीहरूको छ । पोखराबाट नजिकै र मुस्ताङको प्रवेशद्वार भएकाले पनि यहाँको बञ्जीमा पर्यटकहरू आउने उनीहरूको अनुमान छ । भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोर सञ्चालन भइसकेकाले यहाँ भारतको बाटो हुँदै पनि पर्यटक आउने अपेक्षा छ ।आजको आर्थीक अभियान राष्ट्रय दैनिकमा समाचार छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला