विकासको सारथी

ZEN Travels

भरत कोइराला

प्रजातन्त्रको किरणले नेपाली भूमि रापिँदै थियो । १ सय ४ वर्षे निरंशकुशताबाट मुक्त भएर मुलुकले नवबिहानीलाई स्वागत गरेसँगै विकासको मूल रसाउन थाल्यो । माछापुच्छ«ेको काख अनि फेवाको छातीमा टाँसिएको पोखराले विकास भिœयायो विमानबाट । ६५ वर्ष अघि अर्थात विसं २००८ मा पोखरेली जमीनमा विमान ओर्लियो । १६ औं सताब्दीमा काठमाडौं उपत्यकाबाट आएका नेवार र १८ औं सताब्दीमा मुस्ताङबाट झरेका थकाली समुदायले पोखरामा थालेको व्यापार व्यवसाय फस्टाउन थाल्यो ।

सै व्यवसाय फस्टायो, समस्या पनि आउने नै भए । अहिलेको जस्तो बाटोघाटो र सञ्चारको त कल्पना पनि थिएन । २००८ पुस १ । आधुनिक पोखराको प्रगतिपथ शिलान्यास भयो । ३३ जना व्यापारीको भेलाले टेकबहादुर ढेवाजु सभापति रहने गरी समिति गठन ग¥यो । नामकरण गरियो पोखरा व्यापार संघ । श्यामप्रसाद कर्माचार्य, प्रेमराज मुल्मी, अमृतप्रसाद शेरचन, दानबहादुर शेरचन र पूर्णलाल कायस्थ समितिमा थिए ।

व्यापारीको संघ भए पनि उद्देश्य थियो,‘गरिब, मजदुर, किसान र व्यापारीको स्तर उचो राख्ने र बाटोघाटो पुल आदि बनाउन विशेष प्रयास गर्ने ।’ अग्रज पत्रकार तीलकमान गुभाजु भन्छन्,‘नामले यो व्यापारीको संघ जस्तो देखिए पनि यसका संस्थापक र सञ्चालकमा निहीत सामाजिक काम गर्ने अभिरुचि र संघको माध्यमबाटै समाजमा केही गरेर देखाउँ भन्ने पवित्र भावनाले यसको उचाइ चुलिएको छ ।’

भारतबाट कोटाको सामान आयात गरी संघले स्थानीय बजारमा बिक्री थाले पनि कानुनको अभावमा दर्ता हुन सकेको थिएन । २४ माघ २०११ मा नदीपुरमा भएको भेलाले पोखरा व्यापार संघलाई विधिवत दर्ता गरी सञ्चालनको निर्णय ग¥यो । दर्ताको व्यवस्था मिलाउने टोलीको जिम्मा पाएका थिए सर्वज्ञमान प्रधानांगले । २६ माघमा अमृतप्रसाद शेरचन नेतृत्वमा ९ सदस्यीय अस्थायी समिति गठन भयो । सचिव मथुराप्रसाद बजिमय र कोषाध्यक्ष सर्वज्ञमान प्रधानांग थिए । चित्रबहादुर तुलाचन, जगदीशप्रसाद गौचन, कृष्णबहादुर जोशी, दीलबहादुर भारी, समरबहादुर बजिमय, अमृतमान बिजुक्छे सदस्य थिए । समिति गठन भएको १ वर्षपछि अनंगमान शेरचनको पहलमा संघ दर्ता भयो पोखराकै पहिलो संस्थाको रुपमा । पोखरामा व्यावसायिक गतिविधि बढ्दै गयो । उद्योगहरु स्थापना भए । सबैको प्यारो र न्यानो माया दिने अभिभावक भएकाले संघले आफूलाई परिमार्जन गर्नुपर्ने महसुस ग¥यो । उद्योगहरुलाई पनि समेट्ने हिसाबले संघ, २०३३ सालमा पोखरा उद्योग वाणिज्य संघमा रुपान्तरित भयो ।

व्यापारी वर्गबाट स्थापित संस्थाले शैशव अवस्थादेखि नै समाज सेवा र विकासमा चासो दिइरह्यो । विकासको सारथी बनिरह्यो । २००७ सालको क्रान्तिमा होमिएका अमृतप्रसाद शेरचन संघको अध्यक्ष भएकाले नैे संस्थाले विकासका निम्ति अगुवाइको मौका पाएको हो । पोखरामै जन्मेहुर्केका कवि तीर्थ श्रेष्ठ भन्छन्,‘त्यो क्रान्तिमा भाग लिएको पुस्ता पोखरा उद्योग वाणिज्य संघमा हुँदा संस्थामै क्रान्तिकारी चेत आयो । त्यतिबेला न चुनाव भएको थियो, न नगरपालिका बनेको थियो । जनताका प्रतिनिधि भएका निकाय थिएनन् । क्रान्तिकालीन पुस्ता पोखरा उद्योग वाणिज्य संघमा भयो, त्यसैले नै पोखराको विकासका लागि तत्परता लिन थाल्यो । पोखराका निम्ति सपना देख्ने संस्था बन्यो ।’

बागलुङ र बन्दीपुरले आर्थिक शक्तिकेन्द्र बनिरहँदा पोखरामा औलोको डर थियो । राणाहरु पाल्पा खेदिँदा र प्रशासनिक निकायका सबैजसो काम उतैबाट हुने भएकाले पोखरा छायाँमा नै थियो । विसं १९५८ मै नेपाल राजकीय संस्कृत पाठशाला स्थापना भए पनि शैक्षिक चेतनाको दृष्टिले कास्की खासै चर्चामा थिएन । २००७ सालको परिवर्तनले जन्माएको राजनीतिक चेतनापछि मात्र यहाँको शैक्षिक विकासले गतिलिन थाल्यो । भर्खरै स्थापित पोखरा उद्योग वाणिज्य संघ सो अभियानको संवाहक बन्न पुग्यो । पोखराका पुराना सबैजसो शैक्षिक संस्था स्थापना र सञ्चालनमा संघले नेतृत्व लिएको छ ।

संघ आफै शैक्षिक संस्था सञ्चालन गर्दैैन । पोखरालाई शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको व्यावसायिक थलो बनाउन जुटिरह्यो । नेपाल उद्योग वाणिज्य महासंघ पूर्व अध्यक्ष आनन्दराज मुल्मी भन्छन, ‘राणाकाललगत्तै प्राथमिक तहदेखि माध्यमिक, पञ्चायतकालमा क्याम्पस र बहुदलपछि विश्वविद्यालय खोल्न संघले देखाएको तत्परता र आर्थिक सहयोगको तुलना सायदै हुन्छ ।’ संघले २०२५ सालमा गैह्रपाटनमा ४४ हात मोहडाको जग्गा १३ हजार रुपैयाँमा खरिद ग¥यो । त्यही वर्ष नदीपुरमा बालमन्दिर बनाउन संघले १ लाख ३२ हजार रुपैयाँ खर्चियो । यसबाट पनि पोखराका उद्योग व्यवसायीको शिक्षाप्रतिको लगाव प्रस्ट्याउँछ । संघका संस्थापक अध्यक्ष शेरचनले राजा महेन्द्रको इच्छा अनुसार पृथ्वीनारायण क्याम्पस भवन बनाउने ठेक्का पाए । उनले क्याम्पसको पहिलो भवन बनाए । त्यो ठेक्काको पैसा नपाएपछि शेरचनले काठमाडौं इन्द्रचोकको घरै बेच्नुपरेको थियो ।

पोखरालाई भैरहवा र काठमाडौंसँग जोड्ने दुईवटा राजमार्ग चाहिन्छ भनेर सपना देख्ने स्वप्नद्रष्टा हो पोखरा उद्योग वाणिज्य संघ । पूर्व पश्चिम राजमार्ग निर्माणका लागि तत्कालीन राजा महेन्द्रले सम्पूर्ण नेपालीलाई आह्वान गरे । त्यसले पनि संघको ध्यान तान्यो । राजमार्ग नसकिएसम्म प्रति वर्ष १ हजार १ रुपैयाँ चन्दा दिने प्रस्ताव संघले ग¥यो । ३ वर्ष यो सहयोग निरन्तर रह्यो । राजमार्ग बनाउन छिमेकी मित्रराष्ट्रले सहयोग गर्ने प्रतिबद्धता जनाएपछि चन्दा रोकिएको थियो ।

महेन्द्रपुल, काहुँडाँडामा भ्यु टावर निर्माणमा संघले नै अगुवाइ ग¥यो । तत्कालीन अवस्थामा क्षेत्रीय योजना आयोगको समीक्षालय र पोखरा सभागृह मात्र नभएर महेन्द्रपुल निर्माणका लागि समेत संघले नेतृत्व लियो । यही अगुवाइको निरन्तरता संघले अहिले पनि दिइरहेको छ । प्रदेश नम्बर ४ कै विकासको मूल पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि संघले लिएको अगुवाइ कसैबाट छिपेको छैन । झन्डै ३ महिना लामो रिले अनसन, पोखरा र राजधानीमा पटक पटक दबाब दिन पछि हटेन संघ । व्यवसायीको वर्गीय हित मात्रै नहेरेर संघ किन सामाजिक सेवामा लागेको ? संघ अध्यक्ष विश्वशंकर पालिखे भन्छन्,‘हाम्रा अग्रजले नै यसको थालनी गर्नुभएको हो । पोखराको समग्र विकासको लागि हामी चुप्प लागेर बस्न सक्दैनौं ।’

डेढ दसकभन्दा बढी स्थानीय तहको निर्वाचित प्रतिनिधि विहीन रहे । हरेक २ वर्षमा अधिवेशन हुने संघप्रति पोखरेलीको असाध्यै भरोसा छ । फुटपाथबाट पसल हटाउनेदेखि होर्डिङ बोर्ड व्यवस्थापनमा पोखरेलीको साथ र सहयोग लिएर संघले सफलता पाएको छ । पोखरालाईसोलार सिटी बनाउन चीनको स्वशासित क्षेत्र तिब्बत सरकारसँग समन्वय भयो । विजयपुरदेखि हल्लनचोक मात्र हैन सहरका अन्य भागमा समेत सोलार लाइटले पोखरा झलमल भएको छ । अध्यक्ष पालिखेले भने, ‘नेपाल र चीन दौत्यसम्बन्ध स्थापना भएको ६०औं वर्षगाँठको अवसरमा तिब्बत सरकारकोतर्फबाट प्राप्त सहयोग उल्लेखनीय छ ।’

पोखराको खानेपानी आयोजना सुदृढीकरण, यहाँको बाटोघाटो र निर्माण कार्यलाई प्रभावकारी बनाउन सरकारी निकायसँग समन्वय गरी वृहत्तर विकासमा लाग्न संघले खाका तयार गरिसकेको छ । संघीयता कार्यान्वयनका क्रममा ३ तहको निर्वाचन सम्पन्न भइसकेको छ । तत्कालीन पोखरा उपमहानगर अहिले पोखरा–लेखनाथ महानगर बनिसकेको छ । यो अवस्थामा पनि संघले आफ्नो भूमिकालाई निरन्तरता दिइरहेको छ ।

सहरको क्षेत्र विस्तारले मात्र हुँदैन । यसका लागि चाहिने पूर्वाधार तयार हुनु जरुरी छ । चाक्ला सडक, व्यवस्थित बसपार्क, नियन्त्रित बस्ती विकास, भूउपयोग नीति कार्यान्वयनमा स्थानीय निकायले चासो दिनुपर्ने अध्यक्ष पालिखे बताउँछन् । यसबाहेक पोखरा–काठमाडौं रेलमार्ग, पोखरालाई महेन्द्र राजमार्गसँग जोड्ने बाटो, वृहत्तर चक्रपथ, अन्तर्राष्ट्रियस्तरको सभाहल पोखराले मागेको छ । शिलान्यास भइसकेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल त यो क्षेत्रको समृद्धिद्वार नै हो । वर्गीय हित मात्र नभएर समग्र विकासमा पोखरा उद्योग वाणिज्यसंघले अग्रणी भूमिका खेल्दै आएको छ । यसैको निरन्तरताका क्रममा संघले राष्ट्रिय औद्योगिक व्यापार मेला गर्दै आएको छ । व्यापारिक जमघट मात्र नभएर यसको आम्दानी संघले सामाजिक क्षेत्रमा समेत खर्चिंदै आएको छ । यो पटकको मेलाको आम्दानीबाट संघले पोखरा प्रदर्शनी केन्द्रमा अत्याधुनिक डोम बनाउने लक्ष्य राखेको छ । मेला भब्य र सभ्य रुपमा सम्पन्न हुनुको साथै अपेक्षा अनुसार नै सफल भएको कोषाध्यक्ष पवन प्रजापति बताउँछन् ।-samadhan

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला