दक्षिण कोरियामा शीतकालीन ओलिम्पिक्स शुरु

ZEN Travels

कोरिया ।

दक्षिण कोरियामा शीतकालीन ओलिम्पिक्सको औपचारिक उदघाटन पछि ओलिम्पिक ज्योति बलिरहेको छ । जुन समारोहमा उत्तर र दक्षिण कोरियाका दर्जनौं खेलाडीहरूले संगसंगै मार्च गरेका थिए।

एउटै संयुक्त झण्डा मुनि दुई कोरियाका खेलाडीहरूले रंगशालामा प्रवेश गर्दा दर्शकहरुले उत्साहका साथ स्वागत गरेका थिए। दक्षिणले शीतकालीन ओलिम्पिक्समा संयुक्त सहभागिता जनाइएपछि उत्तर कोरियासंगको तनावपूर्ण सम्बन्धमा केही सुधार हुने अपेक्षा गरेको छ।

अमेरिकी उपराष्ट्रपति माइक पेन्स भने उद्घाटन अघि आयोजित उत्तर कोरियाका आलंकारिक राष्ट्र प्रमुख सहितको रात्रीभोजमा सहभागी भएनन्। दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इनले प्युअंगचांगमा उदघाटन समारोह अघि अमेरिकी उपराष्ट्रपति माइक पेन्स र उत्तर कोरियाका राष्ट्र प्रमुख किम योंग–नामलाई रात्रीभोजमा निम्त्याएका थिए।

तर अमेरिकी उपराष्ट्रपतिले पांचै मिनेटमा उक्त भोजस्थल छाडेका दक्षिण कोरियाली समाचार संस्था योनहापले जनाएको छ। राष्ट्रपति मून र जापानी प्रधानमन्त्री शिन्जो आबे दुवैले उत्तर कोरियाली राष्ट्र प्रमुखसंग हात मिलाएका थिए भने उपराष्ट्रपति पेन्सले त्यसो नगरेको दक्षिण कोरियाली अधिकारीहरुले बताएका छन्।

सो रात्रीभोजका अवसरमा राष्ट्रपति मूनले यो शीतकालिन ओलिम्पिक्सलाई उनकै शब्दमा शान्तिको आरम्भ भएको दिनका रुपमा स्मरण गरिने बताएका थिए। उनले शनिबार उत्तर कोरियाली प्रतिनिधिमण्डलसंग भेटवार्ता गर्ने पनि योनहापले जनाएको छ।

शीतकालिन ओलिम्पिक्सको उदघाटन समारोहमा उत्तर र दक्षिण कोरियाका दर्जनौं खेलाडीहरुले एउटै झण्डामुनि साथसाथै मार्च पास गरेका थिए। तिनीहरुले महिला तर्फको आइस हकी खेलमा संयुक्त टोलीलाई सहभागी गराएका छन्।

प्योंगयांगले यो ओलिम्पिक्समा २२ जना खेलाडीका अतिरिक्त ४०० जना भन्दा बढी सहभागी पठाएको छ, जसमा खेलाडीहरुलाई हौस्याउने चियर लिडरहरु र वाद्यवादन समूह पनि छन्। तर यो शीतकालिन ओलिम्पिक्सको उदघाटन समारोह उत्तर कोरियाको सरकारी टेलिभिजनमा भने देखाइएको थिएन।

समारोहको समयमा उक्त टेलिभिजनमा देशभक्तिका गीत र देशको उद्योग र सशस्त्र सैन्यको प्रसंशामा तयार पारिएका नाराहरु प्रसारण भैरहेका थिए।बीबीसीले खबर लेखेको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला