७१ यात्रु सवार विमान उडान भरेको ५ मिनेटमै दुर्घटना हुदाँ सबैको मृत्यु

ZEN Travels

काठमाडौं,

७१ यात्रु बोकेको एक रसियन विमान दुर्घटनामा परेको छ । मस्कोको दमदजियदवा विमानस्थलबाट उडान भरेको ५ मिनेटमै यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।विमानमा ६ जना चालक दलका सदस्य र ६५ जना यात्रु थिए ।

आन्तरिक उडानको क्रममा रहेको एन्टोनोभ १४८ सारातोफ एयरलाइन्सको उक्त विमान उडान भरेको केही मिनेटमै हराएको थियो । रूसी अधिकारीहरुका अनुसार विमान मस्कोबाट ८० किलोमिटर दक्षिण पूर्वमा रहेको अरगुनोवो नजिकै दुर्घटनाग्रस्त भएको हो । रुसी सञ्चार माध्यमहरुका अनुसार विमान सवार सबैको मृत्यु भएको छ ।

विमान कजाकिस्तनको सीमा नजिकै रहेको उराल्सको ओरस्क गइरहेको थियो । स्थानीय समय अनुसार दिउँसो विमान दुर्घटनामा परेको हो । उडान भरेको पाँच मिनेटपछि विमान एक हजार मिटर प्रतिमिनेटको गतिले जमिनतर्फ आइरहेको हवाई सेवाका बारेमा ट्रयाक गर्ने वेबसाइट फ्लाइटराइडर २४ले जनाएको छ।

हिउँले ढाकिएको मैदानमा विमान दुर्घटनाग्रस्त भएको हो । विमानका अवशेषहरु हिउँले ढाकिएको अवस्थामा फेला परेको हो । रुसी समाचार संस्था तासका अनुसार विमानका अवशेष नजिकै यात्रुहरुको शब छरिएको अवस्थामा भेटिएको छ ।

यसैबीच रूसी राष्ट्रपतिले पीडित परिवारप्रति सहानुभूति प्रकट गर्दै दुर्घटनाको छानविन गर्न आदेश दिएका छन् । विमानको सञ्चालक सारातोफ एयरलायन्सलाई सुरक्षासम्बन्धी प्रावधान उल्लंघन गरेको भन्दै झण्डै तीन वर्षअगाडि यो विमानलाई प्रतिबन्ध लगाइएको थियो ।

त्यति बेला उक्त एयरलायन्सका एक जना नजिकका नातेदारलाई विमानको ककपिटमा पाइएपछि त्यस्तो कारबाही गरिएको थियो । पछि उक्त प्रतिबन्धविरुद्ध अपिल गर्दै उसले केही नीतिमा सुधार गरेपछि सन् २०१६ बाट अन्तर्राष्ट्रिय चार्टर उडान गर्ने अनुमति पाएको थियो ।

himalayapost

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला