खाडीमा: भेडाबाख्राको जस्तो बसाइ

ZEN Travels

आर्थिक वर्ष २०७४/७५ को पहिलो छ महिनाको समीक्षा अवधिमा रेमिट्यान्स प्रवाह ०.५% ले घटेको डाटा राष्ट्रबैंकले सार्वजनिक गरेपछि पुनः एकपटक नेपालको अर्थतन्त्रमा अल्पकाल र दीर्घकालमा रेमिट्यान्सले पार्ने सकारात्मक र नकारात्मक असरहरूबारे बहस शुरु भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्सको प्रवाह करीब ६% ले बढेकोमा चालु आर्थिक वर्षको पहिलो छ महिनाको घट्दो डाटाले सबैलाई झस्काएको छ । चुनाव पछिको राजनीतिक अवस्था स्थीरतातर्फ उन्मुख भएको मान्ने हो भने, अबको सरकारको काँधमा विकास निर्माणका कार्यहरू फटाफट अघि बढाउनुपर्ने दायित्व संगसंगै प्रदेश र स्थानीय तहहरूमा शुरुदेखि नैदेखिएको अनियमित खर्च प्रणालीलाई सन्तुलनमा ल्याउनु पर्ने, आर्थिक अनुशासनलाई अझ कसिलो बनाउनु पर्ने र पुनर्निर्माणको काम तीव्र गतिमा अघि लैजानुपर्ने बाध्यताकाबीच रेमिट्यान्स प्रवाहमा आएको कमी, आर्थिक नीति निर्माताहरूको टाउको दुखाइको कारक बनेको प्रष्ट देखिन्छ ।

देशको अर्थतन्त्रलाई रेमिट्यान्सको चिन्ता बढेको छ, वैदेशिक रोजगारीमा जानेहरूका पारिवारिक सदस्यलाई चर्को ब्याजमा लिइएको ऋणको ब्याज कहिले बुझाउने भन्ने पिर परेको छ । म्यानपावर व्यवसायीहरूलाई कमिसनको चिन्ता छ भने, स्वास्थ्य परीक्षण गराउने लाइसेन्स लिएर बसेकाहरूलाई आम्दानी कम भयो भन्ने चिन्ता छ । तर वैदेशिक रोजगारमा जाने युवा युवतीको पीडाको बारेमा फाट्टफुट्ट लेखहरू लेखिने भए पनि, उनीहरूको पीडा शान्त हुने गरी कसैले कदम चालेको देखिँदैन ।

एयरपोर्टमा गयो, रुवाबासी देखिन्छ, बाआमा श्रीमान् श्रीमती, छोराछोरी छोडेर अर्काको देशमा जानुपर्ने बेलाको दृश्यले सबैलाई रुवाउने भए पनि देशको अन्तिम यथार्थ यही हो । कवि दैवज्ञराज न्यौपानेद्वारा लिखित किसान कवितामा लेखिएको एउटा हरफ ‘नगरी काम पुग्दैन खान, साँझ र बिहान’ आजकल ‘नगई विदेश पुग्दैन खान, साँझ र बिहान’ भन्ने हरफमा परिमार्जित भएको छ । विदेशिएका ४० लाख नेपालीहरूलाई नेपाल फर्काउने भनेर सयौँ अभियानहरू चले, धेरै राजनीतिक पार्टीका चुनावी मुद्दा पनि बने, तर जानुपर्ने गइरहेका छन् । यस्ता इमोसनल कुराले विदेश जाने भनेर हान्निएका कसैलाई कुनै तातोछारो लाग्दैन ।

विदेश जाने तयारी गरेर बसेका प्रत्येक युवायुवतीको तर्क जम्माजम्मी एउटा मात्र छ, ‘नेपालमा केही गर्न सकिँदैन ।‘ नेपालमा केही गर्न सकिँदैन भन्ने कुरालाई तथ्यगतरूपमा केही प्रायः सबै राजनीतिक पार्टीको हर्कतले पुष्टि गरेको छ र कर्मचारीतन्त्रले त्यसलाई थप बल प्रदान गर्दछ । अझ सामाजिक सञ्जालको व्यापक प्रयोग हुने नेपालमा ‘नेपालमा गर्न सकिने केही छैन’ भन्ने आशयका समाचार, लेख, स्ट्याटसहरू लेखेर क्षणिक वाहवाही कमाउने र लेखेरै आफ्नो राजनीतिक उचाई बढाउनेहरूले नेपालमा भएका सम्भावनाहरूलाई बिल्कुलै नजरअन्दाज गरेर उल्टो नेपालको खेदो मात्र खन्ने खालको क्रियाकलापले अहिलेको युवा वर्गको मानसिकतालाई धेरै नकारात्मक प्रभाव पारेको देखिन्छ । १६ वर्ष कटेपछि विदेश जाने मात्र सपना पाल्नेहरू नेपालमा धेरै छन् । उनैको सपना दोहन गरेर पैसा कमाउन खोज्ने दलालहरू मौलाइरहेका छन् ।

यसरी शुरु हुन्छ पीडा

‘छोरा ठूलो भो, पढेर सकियो अब पैसा कमाउने पालो आयो’ भन्ने आशयको कुराहरू परिवारमा चल्न थालेपछि भर्खर अठार टेक्दै गरेको एउटा युवामा पैसा कमाउने हुटहुटी चल्न शुरु गर्दछ । अथवा बिहे गरेपछि, बढ्ने आवश्यकताहरूको परिपूर्तिका लागि ‘कहीँ गएर केही गर्नैपर्ने’ बाध्यताले प्रायःलाई विदेश होमिनै पर्ने परिस्थितिको सिर्जना गर्ने गर्दछ । ‘उमेर जान लागिसक्यो, अहिलेसम्म घर घडेरी जोड्न सकिएको छैन’ भन्ने अर्को मानसिक तनावले पनि मान्छेलाई विदेश धकेलिरहेको हुन्छ । व्यापार घाटाले लागेको ऋण, घरमा कसैको उपचार गरेको ऋण भनुँ या बिहे गर्दा लागेको ऋण समयमा तिर्न नसक्नु पनि एउटा महत्वपूर्ण कारक तत्व हो । यी ‘पुसिङ’ फ्याक्टरहरूले मान्छेलाई यतिसम्म अन्धो बनाइसकेको हुन्छ कि उसलाई एयरपोर्टमा गएर प्लेन चढ्न मात्र पाए हुन्छ भन्ने खालको सोचाइ आउन थाल्छ र त्यहीँबाट पीडाको शुरुवात हुन्छ । अनि पछि लाग्छन् दलाल ।

विदेश जान खोज्नेहरूलाई विभिन्न प्रलोभन देखाउनेहरूले उता आइ पर्न सक्ने सम्भावित समस्याहरूको बारेमा कहिल्यै जानकारी गराउँदैनन् । कमाई राम्रो छ, ओभरटाइम चल्छ, बाहिर काम गर्नुपर्दैन जस्ता कुराहरूले विदेश जान खोज्नेहरूलाई ‘कन्भिन्स’ गराउन खोजिन्छ । उसलाई दिईनुपर्ने आधारभूत प्राविधिक ज्ञान, जान लागेको देशको सामान्य कानूनी प्रावधानहरू र गर्नुपर्ने काममा आईपर्ने सम्भावित जोखिम र त्यस्ता जोखिमहरू न्यूनीकरण गर्ने तरिकाहरू अनि विदेशमा समस्या आउने वित्तिकै कहाँ कसरी सम्पर्क गर्ने भन्ने सामान्य जानकारीबाट विदेश जानेहरूलाई बिमुख गरिन्छ । पैसाको बार्गेनिङ शुरु हुन्छ र ‘जसरी पनि अरब भुमि टेक्ने’ उद्देश्य बोकाइन्छ । परिवारसंग बिछोडिनु पर्ने भावनात्मक पीडा एकातर्फ हुन्छ भने, थप ऋणभार बोक्नुपर्ने अर्को पिर थपिन्छ । समयमा काम भएन भने, दलाललाई बुझाइएको पैसा खाएर भाग्दिने हो की भन्ने पीर अर्कोतर्फ छँदैछ ।

यस्तो छ खाडी मुलुकमा नेपालीको अवस्था

एक अध्ययनअनुसार खाडीमा काम गर्ने दक्षिण एसियाका कुल कामदारहरू मध्ये ५% कहिल्यै निको नहुने मानसिक समस्यासंग जुधिरहेका छन् र उनीहरू त्यही समस्या लिएर स्वदेश फर्किन्छन् । २०% भन्दा बढी तत्कालीनरूपमा आइपर्ने ‘असामान्य परिस्थिति’का कारण भनिएको काम काम गर्न ‘फिट’ हुँदैनन् भने आफूले गर्नुपर्ने कामको बारेमा पर्याप्त जानकारीको अभावमा शारीरिक या अन्य जोखिम मोल्नेहरू प्रशस्तै छन् । विदेश जानकै लागि भनेर कुनै काम या सीप सिक्ने नेपालीहरूको संख्या नगन्य छ । नेपालीहरू अर्धदक्ष या अदक्ष कामदारको रूपमा विदेश जाने प्रचलन बढी छ । दलालले भने जस्तै काम र सुविधा पाउने नेपालीहरू खाडीमुलुकमा कमै छन् । ‘जे जस्तो भए पनि त्यत्रो पैसा खर्च गरेर आइहालियो अब त्यो पैसा तिरेर मात्र फर्किने हो,’ भन्ने मानसिकताले नेपालीहरूलाई जस्तो भेट्यो उस्तै काम गर्न प्रेरित गरिरहेको हुन्छ ।

एउटा कोठामा १२ देखि १५ जनासम्म बस्नु पर्ने, कामको चापले गर्दा जस्तो पायो त्यस्तै खाना खानुपर्ने, चर्को घाममा सुरक्षाका पर्याप्त उपायहरू नअपनाइकन काम गर्नुपर्ने, शारीरिक स्वास्थ्य र सरसफाईको ध्यान दिन पर्याप्त समय नहुने, सामान्य कानुनको जानकारीको अभावमा प्रशासनिक झमेलामा फस्ने, आफू गएको देशको धर्म संस्कृतिको सामान्य जानकारीको अभावमा त्यहाँका स्थानीय मानिसहरूबाट अपहेलित हुनुपर्ने जस्ता व्यवहारिक कठिनाइ हरेक नेपालीहरूले भोगेका हुन्छन् । कामको जस पनि पाइन्न । साहुको गाली खाँदै काममा दलिनुपर्ने अवस्था हुन्छ । दलालहरूले जबरजस्ती शारीरिक जोखिम वहन गर्नुपर्ने काममा धकेलिदिएका कामदारहरू जानकारीको अभावमा मेसिनले थिचिएर मृत्यु हुने, अपाङ्ग हुने जस्ता घटनाहरू देख्न सुन्नमा आइरहेका हुन्छन् ।

बढ्दो घरायसी र पारिवारिक समस्या

विदेश जाने संस्कृतिको शुरुवात भएदेखि नेपालीहरूको पारिवारिक संरचनामा व्यापक फेरबदल आएको छ । सामूहिक परिवार एकल परिवारमा बदलिइरहेको छ । ‘टाढाको सम्बन्ध’ व्यवस्थापन गर्न नसकेर कतिपयको परिवार टुट्ने गर्दछ । वैदेशिक रोजगारका लागि युवा/युवती विदेशिएसंगै सम्बन्धविच्छेदका घटनाहरू बढिरहेका देखिन्छन् । वर्षौं मेहेनेत गरेर कमाएको पैसा र परिवार पनि गुमाउनु पर्ने बाध्यता बढिरहेको छ । यसले विदेश जानेहरूलाई थप् आर्थिक र मानसिक समस्याको भुमरीमा फसाएको छ । एकातर्फ बढिरहेको घर खर्च, पुरानो ऋण र केही गर्नै पर्ने बाध्यता, अर्कोतर्फ बिग्रँदो पारिवारिक सम्बन्ध र हुर्किरहेको मनमुटाव जस्ता यावत कारणहरू रहेका हुन्छन् । बढ्दो क्रममा रहेको ‘भयानक पारिवारिक समस्या’लाई रेमिट्यान्सको मूल्यले न्याय गर्ने नसक्ने परिस्थितिको सिर्जना भइरहेको छ ।

दु:ख गरेर कमाएको पैसाको दुरूपयोग भएर जाने समस्या पनि उत्तिकै छ । उमेर छउञ्जेल कमाएको पैसा अनुत्पादक क्षेत्रमा पैसा फस्ने र घर फर्केपछि रित्तो हात लिएर पुरानै अवस्थामा जिन्दगी काट्नुपर्ने बाध्यतालाई सम्बोधन गर्नका लागि सरकारले वैदेशिक रोजगारमा जानेहरूलाई लक्षित गरेर आम्दानीलाई कुनै भरपर्दो क्षेत्रमा लगानी गर्ने र गराउने नयाँ नीति घोषणा गर्नुपर्ने आवश्यकता छ । नेताहरूले आक्कल/झुक्कल यस्ता कुराहरू गर्ने गर्दछन्, जनतामा आशाको सञ्चार पनि हुने गर्दछ, तर यसलाई नीतिकै रूपमा राज्यले लागू गराउने तहसम्म पुर्‍याउन सकिएको छैन ।

अर्थतन्त्रमा सबैभन्दा बढी योगदान

देशको कूल गाहर्स्थ उत्पादनको ३०% हाराहारीमा रेमिट्यान्सले योगदान गरिरहेको हुन्छ । सरसर्ती हेर्दा विदेशबाट आउने रकमको धेरै प्रतिशत घरायसी कामका लागि खर्च हुने देखिए पनि यसले पुँजी बजारमा सिर्जना गर्ने तरलताले अर्थतन्त्रमा हुने आर्थिक कारोवारको धेरै हिस्सा ओगटिरहेको हुन्छ । घरायसी खर्च कटाएर बाँकी पैसा घर जग्गामा, मोटरसाइकल जस्ता अनुत्पादक क्षेत्रमा लगानी हुने गरेको भए पनि त्यसबाट सृजना हुने आर्थिक क्रियाकलापहरूले धेरैलाई रोजगारी दिएको छ । साना व्यवसाय चलाउन र टिकाउनका लागि आर्थिक सहायता प्रदान गर्ने गर्दछन् । भूकम्प र नाकाबन्दीले पूरै ‘कोल्याप्स’ हुने दिशातर्फ अघि बढेको नेपाली अर्थतन्त्रलाई ‘रेमिट्यान्स’ले मेरुदण्ड बनेर धानेको कुरा आश्चार्यजनक तर सत्य हो ।

तर रेमिट्यान्स नामको त्यही टेको कमजोर बन्दै गर्दा अर्थतन्त्रको भविष्य के होला ? जवाफ स्पष्ट छ, बैंकहरूमा अहिले देखिएको पुँजी अभावको समस्याको एक कारक त्यही हो । ‘अब रेमिट्यान्समा भर पर्ने युग सकिएको छ र यसबारेमा पर्याप्त बहस सिर्जना गर्नुपर्ने देखिन्छ । स्वदेशी उत्पादन बढाएर रोजगारीको दरमा वृद्धि गर्नुपर्छ, ‘अब देशको अर्थतन्त्र रेमिट्यान्सका भरमा मात्रै थेगिन्छ भन्ने मात्र सोच्नु भनेको देशलाई थप आर्थिक अराजकतामा धकेल्नु हो । अमेरिकामा करीब ६०% पुँजीको उत्पादन साना व्यवसायले गर्ने गर्दछन् । नेपालमा राजनीतिक अस्थीरता, उर्जाको अभाव र उत्पादित सामानहरूको लागि आवश्यक पर्ने बजारको अभावजस्ता कारणहरूले साना व्यवसाय चलिरहेका छैनन् । अब सरकारले त्यो दिशातर्फ कदम बढाउनुपर्ने आवश्यकता देखिन्छ ।

नेपालमा के विकल्प छ ?

विदेशबाट फर्केर नेपालमै आर्थिक उपार्जनको काम गरेर प्रशस्त पैसा कमाएका उदाहरणहरू नेपालमा धेरै नै भेटिन्छन् । विशेष गरेर दुई/तीनवटा कारणले गर्दा नेपालमा गरिने लगानी सुरक्षित देखिएका छैनन् । पहिलो कारण राजनीतिक अस्तव्यस्तता, दोस्रो कारण व्यवसायमा देखिने सिन्डिकेट र तेस्रो कारण पर्याप्त कच्चा पदार्थको कमी र उत्पादित सामानहरूलाई बजारको अभाव हुन् ।

लगानी असुरक्षित हुने कारणले व्यापारीहरूले सिन्डिकेट खडा गर्दछन् । सरकारले लगानीको पर्याप्त सुरक्षा दिने नीति ल्याउने र विदेशबाट छाडारूपमा आयात भइरहेका गुणस्तरहीन सामानहरूलाई कडाइका साथ अनुगमन गर्ने हो भने नेपालमा बजार व्यवस्थापन गर्न कुनै कठिनाइ हुँदैन । सानै लगानीबाट पनि घर परिवारको खर्च कटाएर केही प्रतिशत बचत गर्न नेपालीहरूको लागि अझै पनि केही ठूलो कुरा होइन । व्यवस्थित बजार, लगानीको सुरक्षा, कच्चा पदार्थ उत्पादनमा जोड र उत्पादित सामानहरूको व्यवस्थापन जस्ता केही सामान्य कुराहरूमा सुधार गर्न सके वैदेशिक रोजगारको भरपर्दो विकल्प नेपाली बजारमै खोज्न सकिन्छ ।

विदेश गएका चालिसौँ लाखलाई एकैचोटी फर्काएर नेपालमा तत्कालै सेटल गराउन सकिन्छ भन्ने होइन । तर प्राथमिकताका आधारमा बढी जोखिम लिएर काम गर्नेहरूको पहिचान गरेर उनीहरूलाई नेपालमा पहिला रोजगारीको स्थान दिन सकिन्छ । ठूला राष्ट्रिय परियोजनाको निर्माण र सञ्चालनका लागि पनि धेरै म्यानपावर चाहिन्छ ।

त्यसले पनि ठूलो रोजगारी सिर्जना गर्न सक्छ । सरकारले नीजी क्षेत्रसंग समन्वय गरेर विभिन्न प्रकारका अभिमुखीकरण तालिम दिनसक्छ । अहिलेसम्म दिइएका त्यस्ता तालिमको प्रभावकारिता अध्ययन गरेर पुनः नयाँ तरिकाले रोजगारीको अवसर सिर्जना गर्ने गरेर नयाँ काम सुचारु गर्न सकिन्छ ।

-lokantar

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला