राष्ट्र सेवक, राष्ट्र सेवक नै हुन् नोकर होइनन् मन्त्री ज्यू

सुदिप रेग्मी
निजामती कर्मचारीले डि।भी पिआर लिन नपाउने नियम बनाएर चर्चामा आएका लालबाबु पण्डित अहिले सरकारको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेसँगै थप नयाँ चर्चा बटुलेका छन् । कर्मचारी संमायोजन ऐनले प्रावधान गरेको स्वेच्छिक अवकाश योजनाको विरोधमा गएपछि मन्त्रीले थप नयाँ चर्चा बटु्लेका छन् । कर्मचारीको डि।भी पिआर रोकेर हाईहाई भएका मन्त्री सामान्य प्रशासनमा आएसँगै कर्मचारीलाई तल्लो स्तरको गाली गर्न समेत भ्याएका छन् । मन्त्रीको भनाईलाई टक्कर दिन कर्मचारीका संघ, संगठन पनि मैदानमा उत्रिएको छन् ।
झण्डै एक दशक पत्रकारितापछि निजामति प्रवेश गरेको एउटा कर्मचारी अहिलेको निजामती कर्मचारी र मन्त्रीको बाजाबाज र कचहरी देखेर अचम्म मान्नुलाई नौलो नमालिएला । दशक भर कर्मचारीतन्त्रको विरोधमा कमल चलाएको स्वंयम कलमजिवीलाई कर्मचारीको कार्यशैली र जुम्सो प्रशासन संयन्त्र मन परेको छैन यद्यपी देशले फड्को मार्न नसक्नु सबै दोष कर्मचारीको होइन । तर मन्त्री पण्डितका अभिव्यक्तीले नयाँ जोस, जाँगरका साथ भर्खरै निजामती प्रवेश गरेका रसिला जोशिला कर्मचारीको मनमा भने निराशा उत्पन्न भएको छ ।
खासगरी मन्त्री पण्डितले कर्मचारीको स्वेच्छिक अवकाश अधिकार नभई सुविधा मात्र भएको विषयलाई केन्द्रबिन्दुमा राखेका छन् भने मानसिक असन्तुलन गुमाएका कर्मचारीलाई मात्र स्वेच्छिक अवकाश दिने भन्ने अर्को अभिव्यक्ति सार्वजनिक गरेका छन् । यस्तै मन्त्री पण्डितले तोकिएको स्थानमा नजाने कर्मचारीको दानापानी रोक्ने अभिव्यक्ति सार्वजनिक गरेका छन् ।
मालिकको अत्याचारबाट मुक्ति पाउन भनी थालिएका विभिन्न आन्दोलनको जगले निर्माण भएको गणतन्त्र नेपालका मन्त्रीको अभिव्यक्ति सुन्दा लाग्छ उनी देशका मालिक हुन र कर्मचारी नोकर । जसको दानापानी मन्त्रीले चुड्की बजाउँदैमा रोकिन्छ । उनैले भनेजसरी नै गर्ने हो भने अब स्वेच्छिक अवकाशमा जाने कर्मचारीले मेरो मानसिक अवस्था ठिक छैन भनी डाक्टरको सिफारिस ल्याउनु पर्नेछ । २० वर्ष राष्ट्र सेवामा खटिएर राज्यले नै ल्याएको ऐनको आधारमा स्वेच्छिक अवकाश राजेका कर्मचारीलाई उनको भनाईले कस्तो प्रभाव पारेको होला । आफ्नो भरभर्रादो जवानीमा निजामती सेवामा प्रवेश गरेको कर्मचारी आफ्नो ऊर्जामय समय, उमेर निजामती सेवामा खर्चेर राज्यले नै ल्याएको ऐनमा टेकेर स्वेच्छिक अवकाशमा जान थालेको हो नाकी कर्मचारी आफैले हामीलाई यस्तो चाहियो भन्दै माग गरेका होइनन् । सार्वभौम संसद्बाट पारित भएको ऐन मन्त्री आफैले चाहादैमा खारेज हुने कुरा होइन यसका आफ्नै प्रकृया छन् । निजामती कर्मचारीको कार्यशैलीबाट दिक्क भएका जनताबाट हाईहाई पाएपनि कर्मचारीको मनोवल गिराउन गरिएका यस्ता अभिव्यक्तिले संघियताको जगलाई अवस्य बलियो बनाउने छैन । निजामतीमा कोही पनि कुशल, असल र सच्चा कर्मचारी नै छैनन् भन्ने मनासाह सहित कर्मचारी सबैलाई भष्ट्र, कामचोर जस्ता अभिव्यक्तिले कर्मचारीको मनोवल पक्कै बढ्दैन । हिजो मात्रै एक पत्रिकामा सार्वजनिक भएको समाचारका अनुसार सिंहदरवारमा मात्रै काम गर्ने ७० प्रतिशत कर्मचारीहरु उच्च रक्तचाप लगायतका समस्यमा सृजित छन् । कर्मचारीहरु दशर्कौँ निजामतीमा रहँदा उनिहरुले राज्यको पैसा मात्र लिए भन्ने मनशायका अभिव्यक्ति दिदाँ यो अवधिमा उनिहरुले विभिन्न रोगहरु पनि लिए, विभिन्न समस्याहरु पनि भोगे भन्ने तिर पनि ख्याल गर्नु आवश्यक देखिन्छ ।
देशमा विकासले गति दिने बेला जनताले गाउँघरमै सिंह दरवारको अनुुभव लिने यो समयमा कर्मचारीलाई सहज तरिकाले संमायोजन गर्नु नै मुख्य चुनौती हो । सरकाले यसलाई व्यवस्थित बनाउन कर्मचारीलाई प्रोत्साहन गर्दै कर्मचारीको वृत्तिविकासमा समेत ध्यान दिन जरुरी छ ।
लेखक निजामती कर्मचारी हुन