म्याग्दीमा बजेट नहुँदा सरकारी भवन निर्माण अपुरै

ZEN Travels

म्याग्दी ।

म्याग्दीका निर्माणाधीन अधिकांश सरकारी भवन निर्माण बजेट नहुँदा प्रभावित भएको छ । जिल्ला समन्वय समितिको सभाहलसमेत बजेट अभावले अलपत्र परेको छ ।

पहिलो चरणमा फ्रेम स्टक्चरका लागि आएको बजेटबाट अधिकांश काम भए पनि फिनिसिङका लागि पठाइएको स्टिमेट अनुसार बजेट प्राप्त नहुँदा समस्यामा परेको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ । सभाहललाई पूर्णता दिन थप २ करोड २५ लाख रुपैयाँ बजेट अनुमान गरिएको इन्जिनियर रवीन महर्जनले बताए । बजेट स्वीकृत भए पनि रकम प्राप्त नहुँदा योजना अलपत्र छ ।

अन्नपूर्ण गाउँपालिका–६ को वडा कार्यालय भवनको पनि काम हुन सकेको छैन । शान्ति तथा पुनर्निर्माण मन्त्रालयको शान्ति तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत ठेक्का सम्झौता भएका भवनका लागि बजेट नआएपछि भवन निर्माणमा समस्या आएको हो ।

निर्माण कम्पनी भगवती मालिका कन्स्ट्रक्सनसँग ३८ लाख ५० हजार ८ सय १८ रुपैयाँमा योजना सम्झौता भए पनि योजनाका लागि पूरा बजेट नभएपछि योजना अधकल्चो अवस्थामा छ । पहिलो तला ढलान नभएकाले बनेको पूर्वाधारसमेत भत्कने अवस्थामा पुगेको वडाध्यक्ष कृष्णप्रसाद बरुवालले बताए ।

भवन अभावले वडा कार्यालयको सेवा प्रभावित भएको छ । अन्नपूर्ण गाउँपालिका–७ को साविक हिस्तान गाविस भवन, धौलागिरी गाउँपालिका–७, ताकमको वडा कार्यालयको भवनसमेत निर्माण हुन सकेको छैन ।

ताकमको वडा भवनका लागि भने २०७३ असोजमा सम्पन्न गर्ने लक्ष्य राखिएको साविक हिस्तान गाविसको भवन निर्माण पनि सम्झौता भएको २ वर्षसम्म पूरा भएको छैन ।अन्नपूर्ण गाउँपालिका–५।, शिखको साविक गाविस भवन अझै पनि निर्माण सकिएको छैन ।

ठेक्का सम्झौता पाएका निर्माण कम्पनीले सम्पन्न भएको कामको विवरण दिँदासमेत रकम भुक्तानी नपाएको गुनासो गर्न थालेका छन् ।

 

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला