सल्यानमा दुर्लभ बिरुवा संरक्षण , अभियानमा जुट्याे वनस्पति अनुसन्धान केन्द्र

  • मेरो जिल्ला
  • / कृषि /
  • २०८२ जेष्ठ ४, आईतबार (१ महिना अघि)
  • २६९ पटक पढिएको

सल्यानमा दुर्लभ बिरुवा संरक्षण , अभियानमा जुट्याे वनस्पति अनुसन्धान केन्द्र

वैज्ञानिक हिसाबले साइथिया स्पाइनुलोसा, नेपालीमा रुख उन्यु तथा स्थानिय रुपमा रुख डउरे भनेर चिनिने दुर्लभ विरुवा कर्णाली (सल्यान) एवं पश्चिम नेपालमा पहिलो पटक भेटिए पछि वनस्पित अनुसन्धान केन्द्र सल्यानले थप खोजी तथा संरक्षण अभियान चलाएको छ। सल्यानकै दार्मा गाउँपालिका ३ को धुलखर्कको सामुदायिक वन र कपुरकोट गाउँपालिका ४ को कालिका सामुदायिक वन गरि फरक स्थानमा सानो संख्यामा रुख उन्यु भेटिएकोमा कपुरकोट गा.पा ४ को कालिका सामुदायिक वन र दार्मा गा पा ३ को धुलखर्क सामुदायिक वनमा अस्थायी सचेतना सन्देश सहित बोर्ड राखेर, वन उपभोक्ता समूह र जनप्रतिनिधि समेटेर छलफल समेत गरिएको वनस्पित अनुसन्धान केन्द्र सल्यानका कार्यालय प्रमुख डा मित्र पाठकले बताउनु भयो । यसैगरि दार्मा गा पा ३ का थप दुइ ठाउँमा पनि अरु रुख उन्यु भेटिएको छ। दार्मा गा पा उपाध्यक्ष जुना मल्ल चन्द तथा प्रमुख प्रशासकिय अधिकृत रेशम ओलीले समेत रुख उन्यु संरक्षणका लागि तारबार लगायतको आवश्यक पहल गर्ने बताउनु भयो । सोहि अवसरमा केन्द्रले रुख उन्यु अनुसन्धानमा सहयोग पुराउने कृषि शाखा अधिकृत नेत्र घर्तीलाइ सम्मान समेत गरेको थियो । यस्तै दुर्लभ विरुवा काकरसिङी संरक्षणका लागि अनुसन्धान केन्द्रले छत्रेश्वरी गा पा २ मा पाँचवटा सामुदायिक वनको सहभागितामा सचेतना गोष्ठी गरेर इन्द्र सामुदायिक वनमा सचेतना बोर्ड राख्न पहल गरेको छ। जैविक विविधताको महत्व र दुर्लभ विरुवा सचेतनाको विषयलाइ केन्द्रले स्थानिय तह, विद्यालय, कलेजमा र जडिबुटी सम्बन्धि तालिममा कृषकलाइ समेत झकझकाउने गरेको छ। नेपालमा पाइने रुख उन्यु (साइथिया) का चार प्रजाती साइटिसमा सुचिकृत छन्। ती मध्ये उपस्थिति र फैलावटको आधारमा दुइलाइ संकटापन्न, एउटा; लाइ दुर्लभ र एउटा साइथिया स्पाइनुलोसा लाइ कम चासो (हराउँदै गइरहेको) को रुपमा मूल्याङ्कन गरिएको छ।

फरक फरक देशहरुले फरक फरक सूचीकृत गरे अनुसार साइथिया स्पाइनुलोसालाई कतै दुर्लभ त कतै थ्रेटन अनि कतै लिस्ट कन्सर्न प्रजाति मानिन्छ। नेपालले भने लिस्ट कन्सर्नमा राखेको छ । देश अनुसार बासस्थान पनि थोरै फरक फरक देखिन्छ । नेपालमा यसको उपस्थिति ७५० मिटर देखि २००० मिटर पूर्व र मध्य नेपाल भनिएको छ भने ताइवानमा ३०० मिटरदेखि २५०० मिटरको उचाइमा घना, गाढा जंगलहरूमा पाइन्छ । वनस्पति अनुसन्धान केन्द्र कैलालीका अनुसार हालसालै रुख उन्यु कैलालीमा पनि भेटिएको खबर आएको छ। अब भने यो प्रजाती पूर्व मध्य सँगै पश्चिम नेपालमा पनि रिपोर्ट भएको छ र थोरै संख्यामा भएकोले यसलाइ जोगाउनु चुनौतीपूर्ण रहेको डा पाठकको बुझाइ छ।

काँडेदार फर्न रूख भनेर चिनिने साइथिया स्पिनुलोसाको परम्परागत औषधि, खाना र सजावट सहित विभिन्न प्रयोगहरू छन्। यसलाई परम्परागत औषधिमा छाला, मिर्गौला र आँखाको संक्रमणको उपचारको लागि र क्यान्सर र मधुमेह तथा क्षय रोगहरूको लागि पनि प्रयोग गरिन्छ। थप रूपमा, यसको पातहरू अचार र तरकारीको लागि प्रयोग गर्न सकिन्छ, र डाँठको गुदि खान योग्य र स्टार्च युक्त हुन्छ। साइथिया स्पिनुलोसालाई सजावटी बोटको रूपमा पनि मूल्यवान मानिन्छ । वनस्पित अनुसन्धान केन्द्र सल्यानले रुख उन्यु लगायत सल्यान र आसपास पाइने दुर्लभ र संकटापन्न विरुवाहरु काकरसिङी, वन चाँप, सुनाखरी, सिप्लीकान, टटेलो लगायतको संरक्षणका लागि उद्यानमा ल्याएर थप उत्पादन एवं संरक्षण, सचेतना अभियान तथा सामुदायिक वनमा पुन:रोपणको काम पनि गरिरहेको छ ।केन्द्रको मूलपानी वनस्पति उद्यानमा संरक्षित झन्डै छ सय प्रजातीका विरुवा मध्ये सुनाखरी सहित ७० प्रतातीका विरुवा दुर्लभ, संकटापन्न तथा जंगली अवस्थामा निकै कम हुदै गइरहेका विरुवा रहेको केन्द्रका सूचना अधिकारी दामोदर दहालले बताउनु भयो ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली