सल्यानको कुमाख गाउँपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा योगदान पु¥याउने २७ जना किसानलाई नगदसहित सम्मान गरेको छ। गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत उनीहरूलाई कृषक पुरस्कार तथा सम्मानपत्र प्रदान गरेको हो।
गाउँपालिकाका अनुसार एक जनालाई गाउँपालिका अध्यक्ष कृषक पुरस्कार, २३ जनालाई व्यावसायिक कृषक प्रोत्साहन पुरस्कार, र तीन वटा भन्दा बढी भैंसी पाल्ने तीन जनालाई विशेष पुरस्कार प्रदान गरिएको हो।
कुमाख–३ का गोपाल बुढा गाउँपालिका अध्यक्ष कृषक पुरस्कार प्राप्त गर्ने उत्कृष्ट कृषक बनेका छन्। सुन्तला खेतीमार्फत लामो समयदेखि आत्मनिर्भर बन्न सफल बुढालाई ५० हजार नगद र सम्मानपत्र प्रदान गरिएको हो । कार्यक्रमअन्तर्गत सात जना किसानलाई क्रमशः २५ हजार, २२ हजार, २० हजार, १८ हजार, १६ हजार, १४ हजार र १२ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिएको छ। त्यस्तै, बाँकी १६ जना किसानलाई जनही १० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको हो। तीन वटा भन्दा बढी माउ भैंसी पाल्ने किसानमध्ये प्रथम हुनेलाई ३५ हजार र बाँकी दुई जनालाई जनही ३० हजार रुपैयाँ प्रदान गरिएको पशुपन्छी विकास शाखाका प्रमुख डा. विष्णु केसीले जानकारी दिनुभयो। गाउँपालिकाले आवेदन आह्वान गरी किसान छनोट गरेको थियो। छनोटमा परेका २७ जना किसानलाई गाउँपालिका अध्यक्ष मानबहादुर बुढाथोकी र प्रमुख प्रशासकीय अधिकृत दिलीप सोनीले प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो।
पुरस्कार वितरण समारोहमा अध्यक्ष बुढाथोकीले यो सम्मानले किसानहरूको मनोबल बढाउने विश्वास व्यक्त गर्नुभयो। “व्यावसायिक कृषिमा लागेकाहरूलाई राहत र प्रेरणा दिने उद्देश्यसहित कार्यक्रम ल्याइएको हो,” उहाँले भन्नुभयो।
प्रमुख प्रशासकीय अधिकृत सोनीले पनि यस्ता कार्यक्रमले अन्य किसानहरूलाई पनि व्यवसायिक कृषि तथा पशुपालनतर्फ आकर्षित गर्ने बताउनु भयो । “यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै किसानको जीवनस्तर उकास्ने नयाँ योजना ल्याइनेछ,” उहाँले भन्नुभयो।