
सल्यानका २ पालिका बाट ५ करोड भन्दा बढिकाे खसी बोका निकासी भएका छन । जिल्लाको त्रिवेणी गाउँपालिका र दार्मा गाउँपालिका बाट गत आर्थिक बर्ष २०८१⁄८२ मा ५ करोड ३३ लाख ३१ हजार ४ सय ८४ रुपैयाको खसी बोका निकासी भएका हुन । त्रिवेणी गाउँपालिका बाट तीन करोड २६ लाख ४३ हजार ६ सय ३ रुयैया र दार्मा गाउँपालिका बाट २ करोड ६ लाख ८७ हजार ८ सय ८४ रुपैयाको खसी निकासी गरेर यो रकम किसानले हात पारेका छन । यस्तै दार्मा गाउँपालिकामा १ करोड ३७ लाख ५० हजारको दुध निकासी भएको छ । जस बाट ४ सय १४ किसानले उत्पादन गरे वापतको प्रोत्साहन अनुदान पनि प्राप्त गरेका छन । गाउँपालिकाले किसानले एक लिटर दुध उत्पादन गरे वापत ३ रुपैया प्रोत्साहन अनुदान दिदै आएको छ भने यसमा प्रदेश सरकारले एक लिटर दुधमा ५ रुपैया प्रोत्साहन अनुदान दिदै आएको छ ।

कृषकको उत्पादन गाउँपालिकाको अनुदान कार्यक्रम अन्तर्गत सहकारी मार्फत खसी बोका बिक्री गर्ने किसानलाई गाउँपालिकाहरुले अनुदान उपलब्ध गराउँदै आएपछि किसानहरू बाख्रा पालनतर्फ आकर्षित भएका छन । त्रिवेणी गाउँपालिकाले एक खसी बिक्रि गरे बापत किलोको २० रुपैया अनुदान दिदै आइरहेको छ भने दार्मा गाउँपालिकाले किलोको २५ रुपैया अनुदान दिदै आएको छ । प्रोत्साहन अनुदानले पालिका भित्र व्यवसायीक बाख्रा पालन गर्ने किसान बढदै जान थालेका छन ।
त्रिवेणी गाउँपालिकामा आ.व. २०८१–०८२ मा वार्षिक न्यूनतम १०० किलो खसी बिक्री गर्ने ३०८ जना कृषकहरूलाई २० रुपैयाँको दरले १० लाख ८० हजार ९२० रुपियाँ अनुदान दिएको पशु विकास शाखाका प्रमुख वसन्त रावतले जानकारी दिनुभयो । दुर्गा भवानी सामाजिक उद्यमी महिला सहकारीका १२० जना कृषकलाई पाँच लाख २८ हजार २२० रुपियाँ अनुदान प्रदान गरिएको छ । यो सहकारीमा आबद्ध किसानहरूले एक करोड ४६ लाख १६ हजार ७८५ रुपियाँ बराबरको खसी निर्यात गरेका छन् । यस्तै नमुना सामाजिक उद्यमी महिला सहकारीबाट ७३ जना कृषकहरूलाई अनुदान बापत दुई लाख ३२ हजार १२० रुपियाँ दिइएको छ भने यो सहकारीबाट ७० लाख ४२ हजार १८४ रुपियाँ बराबरको खसी निर्यात भएका छन् ।

पशु विकास शाखाका अनुसार उपहार सामाजिक उद्यमी महिला सहकारीबाट ६२ जना कृषकहरूलाई एक लाख ८७ हजार ४०० रुपैयाँ अनुदान दिइएको छ भने यो सहकारीबाट ७१ लाख ५२ हजार ४६४ रुपियाँ बराबरका खसी बिक्री भएका छन् । यसै गरी त्रिवेणी पशुपालन व्यवसायी सहकारीबाट ५३ जना कृषकहरूलाई एक लाख ३९ हजार ८३९ रुपियाँ अनुदान दिइएको छ भने ३८ लाख ३२ हजार १७० रुपियाँ बराबरको खसी निर्यात भएको छ । गाउँपालिकाले गत आर्थिक वर्षभन्दा करिब एक करोड रुपियाँ बढीका खसी निर्यात गरेको पशु विकास शाखा प्रमुख रावतले जानकारी दिनुभयो ।
त्रिवेणी गाउँपालिकाका अध्यक्ष खिम बहादुर रावतले गाउँपालिकाले अनुदान दिएपछि किसानहरुले व्यवसायीक बाख्रापालनमा आर्कषित भएको र सहकारी मार्फत खसी बिक्रि गर्न सजिलो भएको बताउनु भयो । आर्थिक वर्ष २०७६–०७७ देखी नै गाउँपालिकाले अनुदान उपलब्ध गराउँदै आएको गाउँपालिकाकाले वडा नम्बर २ ४ र ५ लाई बाख्रा पकेट क्षेत्रको रूपमा विकास गरेको बताउनु भयो ।

यस्तै दार्मा गाउँपालिकाका ३ वटा वडालाइ बाख्रा पकेट क्षेत्रको रुपमा बिकास गरेर किसानहरुलाई व्यवसायीक बाखा्र पालनमा लगाइएको दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले जानकारी दिनुभयो । उहाँले किसानले उत्पादन गरेका खसी बोका बिक्रिमा समस्या नहोस भनेर समुह र सहकारी मार्फत बिक्रि गर्ने वातावरण बनाइएको बताउनु भयो । पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख गोविन्द महतका अनुसार जिल्ला बाट बार्षिक ३० हजार ५ सय संख्यामा खसी निकासी हुने गरेको छ । जस बाट किसानले ७० करोड भन्दा बढि रकम हात पार्ने गरेको उहाँले बताउनु भयो । जिल्लाको खसी बोका दाङ, सुर्खेत, नेपालगञ्ज, बुटुवल, भैरहवा, काँठमान्डौँ लगायतका शहरमा जाने गरेको छ ।
