
सल्यानको दुर्गम क्षेत्र कालिमाटी गाउँपालिका–७ घुईयाबारीमा सञ्चालन गरिएको एकदिने निःशुल्क पशु स्वास्थ्य शिविरबाट २५ सयभन्दा बढी पशु चौपायको उपचार गरिएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानको आयोजनामा सञ्चालन गरिएको उक्त शिविरमार्फत जम्मा २ हजार ५ सय १० पशु चौपायले उपचार सेवा पाएका हुन् ।
शिविरबाट वडा नम्बर ७ का १ हजार १ सय २७ जना पशुपालक कृषक प्रत्यक्ष रूपमा लाभान्वित भएका पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका सूचना अधिकारी बिरेन्द्र केसीले जानकारी दिनुभयो । उहाँका अनुसार सल्यान जिल्लाका दुर्गम तथा विकट बस्तीमा बसोबास गर्ने अधिकांश किसानहरू पशु उपचार सेवा लिन सदरमुकाम वा बजारसम्म पुग्न नसक्ने अवस्थालाई मध्यनजर गर्दै यस प्रकारका निःशुल्क शिविरहरू सञ्चालन गरिँदै आएको हो ।

घुईयाबारी बस्ती सदरमुकाम खलङ्गाबाट धेरै टाढा रहेको र यातायात तथा भौगोलिक कठिनाइका कारण पशुपालक कृषकहरू नियमित रूपमा पशु उपचार गराउन वञ्चित हुँदै आएका थिए । पशुमा देखिने सामान्य रोगसमेत समयमा उपचार नहुँदा पशुपालक किसानले ठूलो आर्थिक क्षति व्यहोर्नु परेको गुनासो बढ्दै गएपछि गाउँमै पुगेर सेवा दिने उद्देश्यले शिविर आयोजना गरिएको सूचना अधिकारी केसीले बताउनुभयो । शिविरमा बाख्रा ८ सय ८५, भेडा ६१, गाई ३६, गोरु २ सय २८, कुखुरा १ हजार २ सय ३६, कुकुर १८, भैँसी २९ तथा बंगुर ४४ वटा पशु चौपायको उपचार गरिएको छ। पशु चिकित्सक तथा प्राविधिक टोलीले पशुमा देखिएका विभिन्न रोगको पहिचान गरी उपचार गर्नुका साथै आवश्यक औषधि निःशुल्क रूपमा वितरण गरिएको थियो । शिविरमार्फत निःशुल्क औषधि वितरण, पशु बन्ध्याकरण सेवा, रेबिज रोग विरुद्धको निःशुल्क खोप, पशुपालन व्यवसाय सुधार सम्बन्धी परामर्श, पोषण व्यवस्थापन, रोग नियन्त्रण तथा पशु स्वास्थ्य सम्बन्धी सचेतनामूलक जानकारी समेत प्रदान गरिएको कार्यालयले जनाएको छ । विशेष गरी कुकुरमा रेबिज विरुद्धको खोप कार्यक्रमले स्थानीयवासीलाई सुरक्षित बनाउने विश्वास गरिएको छ ।

गाउँ टोलमै पशु उपचार सेवा पाउँदा किसानहरू निकै उत्साहित भएका छन ्। समय र खर्च दुवै बचत भएको भन्दै उनीहरूले आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्न माग गरेका छन् । पशुपालन नै जीविकोपार्जनको मुख्य आधार रहेका स्थानीय किसानहरूका लागि यस प्रकारका शिविरले ठूलो राहत पुगेको उनीहरूको भनाइ छ ।

पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले आगामी दिनहरूमा पनि जिल्लाका अन्य दुर्गम तथा पिछडिएका बस्तीहरूमा पुगेर नियमित रूपमा घुम्ती पशु स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना बनाएको छ। कार्यालयका अनुसार यसले पशुजन्य रोग नियन्त्रण, पशुपालन व्यवसायको विकास तथा किसानको आयस्तर वृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
