सल्यानको कपुरकोट गाउँपालिकामा लागू औषध दुर्व्यसनी रोकथामका लागि एक दिने विद्यालय तथा समुदायस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय सल्यान र जिल्ला प्रशासन कार्यालय सल्यानको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । पछिल्लो समय लागु औषधको दुरुपयोग बढदै गएको र सबैको चासो र चिन्ताको बिषय भएको भन्दै यसलाई कम गर्न यो कार्यक्रमको आयोजना गरिएको सामाजिक बिकास कार्यालय सल्यानले जनाएको छ । कार्यक्रममा लागू औषधको असर, रोकथामका उपाय तथा समुदायको भूमिकाका विषयमा विस्तृत छलफल गरिएको हो ।
लागु औषधको असर, यसको समस्या, युवापुस्ताहरु लागु औषधमा प्रयोग तथा कारोबारमा कसरी लाग्छन, यसको कानुनी उपचार के छ? यसले समाजमा कस्ता असर पार्छ? भन्ने बिषयमा जिल्ला प्रहरी कार्यलय सल्यानका प्रमुख केशर कुमार न्यौपानले प्रशिक्षण दिनुभएको थियो । यस्तै लागुऔषध पछि पार्ने सामाजिक र मनोसामाजिक असरको बिषयमा मनोसामाजिक कर्ता मिना बुढाथोकीले प्रशिक्षण दिनुभएको हो ।
कार्यक्रमका कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले युवावर्ग लागू औषध दुव्र्यसनतर्फ आकर्षित हुँदै गएको अवस्था चिन्ताजनक बिषय भएको बताउनु भयो । विद्यालयस्तरमै सचेतना अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गर्नु अत्यावश्यक भएको बताउनुभयो ।
उहाले यसलाई पालिकाले गम्भिर रुपमा लिएको भन्दै आगामी बर्षको निति तथा कार्यक्रममा समेटिने बताउनु भयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी साबित्रा पुनले लागू औषधको समस्या दिनप्रतिदिन जटिल बन्दै गएको उल्लेख गर्दै रोकथामका लागि सबै पक्ष मिलेर सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरू, प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेल, वडा अध्यक्षहरू, सामाजिक विकास कार्यालयका पदाधिकारीहरू, विद्यालयका शिक्षक–विद्यार्थी, अभिभावकहरूको उपस्थिति थियो।