महिनावारी स्वच्छता दिवस २०२५ सिद्ध कुमाख गाउँपालिकामा भव्य रूपमा मनाइएको छ। सिद्ध कुमाख गाउँपालिकाको वास इकाइको आयोजनामा “महिनावारीमैत्री समाजका लागि सहकार्य” र “रजोनिवृत्ति बारे खुलेर कुरा गरौं महिनावारी हुँदा पर होइन, घर” भन्ने मूल नाराका साथ महिनावारी स्वच्छता दिवस मनाइएको हो।
कार्यक्रमको मुख्य उद्देश्य समाजमा महिनावारी स्वच्छता र सेनेटरी प्याडको प्रयोगबारे सचेत गराउने रहेको आयोजकले जनाएको छ। आगामी दिनमा पनि समाजमा रहेका कुरीति र कुसंस्कारलाई उन्मूलन गर्ने विभिन्न कार्यक्रम संचालन गर्ने उद्देश्यले महिनावारी दिवस मनाइएको वास इकाइ संयोजक टेकराज शाहीले जानकारी दिनुभयो।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष भरत गिरीले महिनावारी स्वच्छताका विषयमा नागरिकलाई जागरुक बनाउने उद्देश्यले दिवसको आयोजना गरिएको बताउनुभयो। उहाँले गाउँपालिकालाई महिनावारीको समयमा हुने विभेदमुक्त पालिका बनाउने योजनामा आफूहरू रहेको समेत बताउनुभयो। यस्तै कार्यक्रमा गाउँपालिका उपाध्यक्ष रामबहादुर बस्नेतले पालिका भित्रका हरेक वडामा महिनावारीका कारण हुने विभेदहरूको खोजी गरेर त्यसको अन्त्यका लागि उचित कार्यक्रम सञ्चालन गरी सन् २०२६ सम्म महिनावारी विभेदमुक्त पालिका घोषणा गर्ने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी साबित्रा पुनले महिनावारी सम्बन्धी सचेतना अभियानले समाजमा सकारात्मक सन्देश फैलिने बताउँदै अहिले पनि समाजमा महिनावारी हुँदा विभेद हुने भएकाले यस्ता कार्यक्रमले चेतना फैलाउनुका साथै स्थानीय तहले नीति कार्यक्रममै समेट्नुपर्ने बताउनुभयो।
सिद्ध कुमाख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले सचेतनामूलक कार्यक्रमबाट महिनावारीको समयमा हुने विभेदको अन्त्य गर्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस्ता खाले कार्यक्रम आगामी दिनमा पनि आयोजना गरिने बताउनुभयो।
कार्यक्रममा गाउँपालिका भित्रका आमासमुहहरुको साँस्कृति प्रस्तुति, स्वास्थ्य स्वयंसेविकाहरुको लोकगित प्रतियोगिता र राष्ट्रिय स्तरमा ख्यातीप्राप्त चर्चित लोक दोहोरी गायिका इव्सल सन्ज्यालको चेनतामूलक गित तथा लोकगितहरु प्रस्तुत गरिएको थियो । उनीहरुले महिनावारी सम्बन्धि सचेतनामुलक गित गाएका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले हरेकले आफ्नो घरघरमा महिनावारी बारे खुलेर कुरा गर्न सक्नुपर्ने बताउनुभएको थियो ।