सल्यानमा २३ वर्षीय युवक जंगलमा मृत अवस्थामा फेला परेका छन् । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका–६ डुडाखोलाका २३ वर्षीय शंकर बीसी कुवाखोलानजिकै जंगलमा मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बिहीबार बन्गाड कुपिण्डे नगरपालिका ११ ढोरपिपलमा मेला हेरेर फर्केका उनी घर नफर्केपछि खोज्दै जाँदा जंगलको बीचमा एक रुखमा पासो लगाई झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख केशर कुमार न्यौपानेले बताउनु भयो । घटना शंकास्पद देखिएपछि बीसीसँगै गएका तीन जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सल्लीबजार राखेर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । मृतक युवकका शरिरमा बिभिन्न भागमा चोटपटक देखिएकोले घटनालाई शंकासपद रुपमा हेरिएको प्रहरीले जनाएको छ ।