वर्षा यामको जोखिम सन्दर्भमा सल्यानमा सरोकारवालाको समन्वय बैठक

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८२ जेष्ठ २९, बिहिबार (३ हप्ता अघि)
  • १०१ पटक पढिएको

वर्षा यामको जोखिम सन्दर्भमा सल्यानमा सरोकारवालाको समन्वय बैठक

मनसुन सुरु भएसँगै सल्यानमा बाढी, पहिरो र डुबानको सम्भावित जोखिमलाई ध्यानमा राख्दै सरोकारवाला निकायहरूको समन्वय बैठक सम्पन्न भएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको अगुवाइमा बिहीबार खलंगामा आयोजित बैठकले जोखिम न्यूनीकरण र समुदायको सुरक्षाका लागि महत्त्वपूर्ण निर्णयहरू गरेको हो।

बैठकले बाढी तथा पहिरोको जोखिम न्यूनीकरणका लागि पूर्वतयारी योजना तयार गर्ने, विपद् सम्भावित क्षेत्रमा मापदण्ड अनुसार स्थान पहिचान गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्नेलगायतका निर्णय गरेको छ। साथै, खोज तथा उद्धार टोलीलाई तयारी अवस्थामा राख्न, सञ्चार संयन्त्रलाई सक्रिय बनाउने र जनचेतनामूलक सन्देश प्रवाह गर्न आग्रह गरिएको छ।

स्थानीय तहहरूलाई जोखिमयुक्त क्षेत्रको पहिचान गरी समयमै बस्ती स्थानान्तरण गर्न, सूचना प्रवाहलाई तीव्र बनाउने र सुरक्षा सतर्कता बढाउन अनुरोध गरिएको छ। बाढी र पहिरो सम्बन्धी जानकारीका लागि मौसम पूर्वानुमान महाशाखाको टोल फ्री नम्बर ११५५ मा सम्पर्क गर्न सकिने जानकारी पनि दिइएको छ।

बैठकमा प्रमुख जिल्ला अधिकारी सावित्रा पुनको अध्यक्षता रहेको थियो। कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरू, सरकारी कार्यालयका प्रतिनिधि, पत्रकार महासंघ, रेडक्रस तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो।

सहभागीहरूले विपद् व्यवस्थापनमा चाहिने सामग्रीहरू तयारी अवस्थामा राख्नुपर्ने र आपतकालीन अवस्थामा सबै पक्ष मिलेर प्रतिकार्यमा जुट्नुपर्ने धारणा व्यक्त गरेका छन । यस वर्ष मनसुन छिटो र तीव्र हुने पूर्वानुमानपछि सबै तहमा जिम्मेवारी र सतर्कता आवश्यक भएको बताएका छन ।

कार्यक्रममा सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालले सल्यानमा आगलागी नियन्त्रणका लागि आवश्यक सामग्री प्रदान गरेको छ। जिल्ला अधिकृत आदर्श अधिकारीमार्फत प्रमुख जिल्ला अधिकारीलाई फायर फाइटिङ सामग्री हस्तान्तरण गरिएको हो।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली