सल्यान जिल्लालाई पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । “स्थानिय स्रोतको उपयोग,स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता – हाम्रा प्रतिवद्धता भन्ने मूल नाराकासाथ सोमबार सल्यान जिल्लालाई पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । पूर्ण खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख वेलाराम रावलको अध्यक्षता तथा कर्णाली प्रदश सांसद भिमप्रकाश शर्माको प्रमुख आथित्यतामा आयोजित एक समारोहका बीच पूर्ण खोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा भएको हो । राष्ट्रिय खोप तालिकाअनुसार खोप पाए÷नपाएको अनुगमन र घरधुरी सर्वेक्षण गरेपछि जिल्लाका दशवटै स्थानीय तहलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेर जिल्लालाई घोषणा गरिएको जिल्ला पूर्णखोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिती सल्यानका प्रमुख वेलाराम रावलले बताउनु भयो ।
जिल्लाका १६ देखि ५९ महिना सम्मका ९ हजार ४९ बालबालिकाले पुर्णखोप प्राप्त गरेपछि सल्यान जिल्ला पूर्णखोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । पुर्णखोप प्राप्त नगरेका ३३ जना बालबालिकालाई पनि पुर्णखोपको पहुँचमा ल्याएको कार्यालयले जनाएको छ । खोप प्राप्त गर्नेमा बागचौर नगरपालिकामा १ हजार ५ सय २३, शारदा नगरपालिकामा १ हजार ४ सय २७, बँनगाड कुपिण्डे नगरपालिकामा ७ सय ७८ बालबालिकाले पूर्णखोप प्राप्त गरेका छ ।
यस्तै कमाख गाउँपालिकामा १ हजार ५ सय ५१, दार्मामा ८ सय ८७, सिद्धकुमाख गाउँपालिकामा १ सय ५१, छत्रश्वरी गाउँपालिकामा ३ सय ३३ जनाले प्राप्त गरेका छन । यस्तै कालिमाटी गाउँपालिकामा १ हजार २ सय २, त्रिवेणी गाउँपालिकामा ८ सय ८४ र कपुकोट गाउँपालिकामा १ सय ८३ जना बालबालिकाले पूर्णखोप प्राप्त गरेका छ । जिल्लाका १० वटै पालिकामा खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि जिल्लालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका खोप अधिकृत तारा रिजालले बताउनु भयो । उहाँका अनुसार हाल जिल्लामा नियमित खोप लगाउने जन्मेदेखि १५ महिनासम्मका ३ हजार ८ सय ५९ रहेका छन । बिभिन्न कारणले खोपको शून्य डोज लगाउन छुटेका जिल्लाका ३३ जना बालबालिकाहरुको खोजी गरेर खोप लगाइएको उहाँले बताउनु भयो । राष्ट्रिय खोप तालिकाअनुसार जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई १४ वटा रोगविरुद्ध १३ किसिमका खोप प्रदान गरिन्छ ।
एकपटक पूर्ण खोप घोषणा गरिसकेपछि हरेक वर्ष नयाँ थपिने बालबालिकाहरुले समेत खोपको मात्रा पुरा गरेको सुनिश्चित गरेर मात्र सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कार्यालय प्रमुख डा. अजुर्न कुमार बुढाले बताउनु भयो । सल्यानलाई २०७९ भदौ १ गते पहिलोपटक पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो । त्यसयता हरेक वर्ष सबै बालबालिकालाई खोप लगाइसकेपछि पूर्ण खोप सुनिश्चिता जिल्ला घोषणा हुँदै आइरहेको छ । कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका पूर्व भूमि व्यवस्था तथा कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले सबै बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसार पूर्ण खोप उपलब्ध गराउनका लागि स्थानीय सरकार, सरोकारवाला निकायको अपनत्व र सहभागिता उल्लेखनिय रहेको बताउनु भयो । रोग लाग्ने दर, अपांगता दर र मृत्युदरमा कमीलाई ल्याई स्वस्थ बालिका तयार गर्नु नै खोपको मुख्य उद्देश्य रहेको उहाँको भनाई छ । कार्यक्रममा दशवटै स्थानीय तहका प्रमुख, उपप्रमुख, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका पत्रकार लगायतका सहभागिता रहेको थियो ।कार्यक्रमको संचालन स्वास्थ्य सेवा कार्यालय सल्यानका सूचना अधिकारी थलराज डिसीले गर्नुभएको थियो ।
उहाँ सरिता मेरो जिल्ला डट कम का लागि सम्पादक तथा संवाददाता हुनुहुन्छ |