सल्यानको छत्रेश्वरी गाउँपालिकाले लघु, घरेल तथा साना उद्योगहरुलाई प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न सामग्रीहरु उपलब्ध गराएको छ । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत ११ जना उद्यमीहरुलाई ५० प्रतिशत अनुदानमा प्रविधि हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ ।
मंगलबार भोटेचौरमा एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकी, उपाध्यक्ष बुद्ध कुमारी खत्री तथा प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगीले उद्यमीहरुलाई फ्रिज, डिफ्रीज, सिलाइ तथा इन्टरलक मेसिनहरु हस्तान्तरण गर्नुभएको हो ।
सार्वजनिक सूचना जारी गरेर आवेदन दिएका उद्यमीहरुको व्यवसाय स्थलगत रुपमा नै अनुगमन गरी कानुनी रुपमा दर्ता गरेर व्यवसाय सञ्चालन गरिरहेका उद्यमीहरुलाई अनुदानमा प्रविधि हस्तान्तरण गरिएको उद्यम विकास शाखाले जनाएको छ ।
जस अन्तर्गत ४ जना उद्यमीहरुलाई फ्रीज, एक जनालाई डिफ्रिज, ४ जनालाई सिलाई मेसिन तथा २ जनालाई इन्टरलक मेसिन हस्तान्तरण गरिएको उद्यम विकास शाखा प्रमुख निमा बस्नेतले जानकारी दिनुभयो । भ्याट सहित प्रविधि हस्तान्तरणका सामग्री खरिद, ढुवानी एवं प्रशासनीक खर्च र सम्बन्धीत उद्यमीको लागत सहभागिता गरेर २ लाख ७० हजार रुपैयाँ लगानी भएको गाउँपालिकाले जनाएको छ ।
छत्रेश्वरी गाउँपालिकाले चालु आर्थिक वर्षमा नै ८५ जनालाई विभिन्न सीप विकास सम्बन्धी तालिम पनि प्रदान गरेको छ । ३४ जनालाई कटाई सिलाईको आधारभुत र १३ जनालाई एड्भान्स तालिम प्रदान गरेको गाउँपालिकाले १८ जनालाई गुडिया बनाउने, १२ जनालाई चप्पल बनाउने र ८ जनालाई सिलाई मेसिन मर्मत गर्ने सीप विकास तालिम प्रदान गरेको उद्यम विकास शाखा प्रमुख बस्नेतले जानकारी दिनुभयो ।