प्रदेश सरकारले सल्यानका तीन जना प्रधानाध्यापकलाई उत्कृष्ट शिक्षकका रूपमा सम्मान गरेको छ। सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश शिक्षा विकास निर्देशनालय, वीरेन्द्रनगर सुर्खेतले शिक्षा क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै उनीहरूलाई नगद ३५ हजार रुपैयाँसहित प्रशंसा–पत्र प्रदान गरेको हो। सम्मानित शिक्षकहरूमा शारदा नगरपालिका–१ स्थित शिव माध्यमिक विद्यालयका प्रधानाध्यापक जीवनी रावत, सिद्धकुमाख गाउँपालिका–३ ढोरचौरस्थित निराजन माध्यमिक विद्यालयका प्रधानाध्यापक धर्मराज घर्ती, र छत्रेश्वरी गाउँपालिका–५ मा रहेको कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक बालाराम ओली छन्। उनीहरू तीनैजनालाई जिल्लास्तरको उत्कृष्ट शिक्षकका रूपमा चयन गरिएपछि यो सम्मान प्रदान गरिएको हो।
सो अवसरमा बोल्दै सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले शिक्षकहरूको सम्मानले शिक्षण पेशाको मर्यादा बढ्ने र शैक्षिक गुणस्तर अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँकै हातबाट सम्मान प्रदान गरिएको थियो।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव अर्जुन गौतम, प्रदेश शिक्षा विकास निर्देशनालयकी निमित्त निर्देशक दीपा हमाललगायतको उपस्थिति थियो। सल्यानबाट तीन जना शिक्षक सहित कर्णाली प्रदेशभरबाट चयन गरिएका ३० जना उत्कृष्ट शिक्षकहरू सम्मानित भएका हुन ।
उहाँ सरिता मेरो जिल्ला डट कम का लागि सम्पादक तथा संवाददाता हुनुहुन्छ |