जल स्रोत संरक्षण र जलवायु अनुकूलन एकै साथ: कुमाख गाउँपालिकामा रिचार्ज पोखरी निर्माण

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८२ अषाढ २०, शुक्रबार (४ दिन अघि)
  • ९२ पटक पढिएको

जल स्रोत संरक्षण र जलवायु अनुकूलन एकै साथ: कुमाख गाउँपालिकामा रिचार्ज पोखरी निर्माण

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कुमाख गाउँपालिका–१ मा तीनवटा रिचार्ज पोखरी निर्माण गरिएको छ। चिसापानीदेखि भेरी माध्यमिक विद्यालय टाट्केसम्मको खानेपानी परियोजनाको हिस्सा स्वरूप निर्माण गरिएका यी संरचनाहरूले जल स्रोत संरक्षण र जलवायु अनुकूलनतर्फ सार्थक प्रभाव पार्ने अपेक्षा गरिएको छ।वडाका बेरोजगार श्रमिकहरूको श्रम, रोजगार कार्यक्रमअन्तर्गतको पारिश्रमिक र गाउँपालिकाको साझेदारी बजेटबाट सम्पन्न यो योजना भू–जल पुनर्भरण तथा दीर्घकालीन खानेपानी स्रोत संरक्षणतर्फको महत्वपूर्ण पाइला हो।

भू–जल स्तर वृद्धिमा सहयोग

खानेपानीको मुहानभन्दा माथिल्लो भेगमा निर्माण गरिएका रिचार्ज पोखरीहरू वर्षा पानीलाई जमिनमा पुनः प्रवेश गराउन प्रयोग गरिन्छन्। यसले भू–जल स्तर वृद्धिमा योगदान पुगाउने र दीर्घकालीन रूपमा पानीका स्रोतहरू सुक्न नदिन सघाउने बताइएको छ।

स्थानीय तहबाट जलवायु अनुकूलनको अभ्यास

जलवायु परिवर्तनका असर—जस्तै अनियमित वर्षा, खडेरी र पानीको अभाव—को सामना गर्न साना तर प्रभावकारी संरचनाहरू आवश्यक रहेको कर्णाली प्रदेश सरकार अन्तर्गत उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयका वातावरण निरीक्षक केशव बस्याल बताउँछन्। उनका अनुसार, “कुमाख गाउँपालिकाले जलवायु अनुकूलनका स्थानीय अभ्यासका रूपमा यस्ता संरचनाहरूबाट उत्कृष्ट उदाहरण पेश गरेको छ।”

अब २४ घण्टा स्वच्छ पानी

परियोजना अन्तर्गत खानेपानीको मुहानमा इन्टेक संरचना निर्माण गरिएको छ भने भेरी माध्यमिक विद्यालय नजिकै ट्यांकी बनाएर पानी संकलन र आपूर्तिको व्यवस्था गरिएको छ। विद्यालयका प्रधानाध्यापक पदम कुमालका अनुसार, “अब विद्यालयमा २४ सै घण्टा स्वच्छ खानेपानी आपूर्ति सुनिश्चित भएको छ।”

स्थानीय सरकारको बहुआयामिक दृष्टिकोण

वडा नं. १ का वडाध्यक्ष डिल्ली बहादुर रानाले अनुसार  “यस्ता परियोजनाहरू रोजगारी सिर्जना, जल स्रोत संरक्षण र जलवायु अनुकूलनलाई एकैसाथ सम्बोधन गर्ने बहुआयामिक प्रयास हुन्। आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ प्राथमिकता दिइनेछ।”

गाउँपालिकाका रोजगार संयोजक तथा वन, वातावरण तथा जलवायु परिवर्तन शाखा प्रमुख जीवन शर्माका अनुसार, “प्रधानमन्त्री रोजगार कार्यक्रमलाई हामीले केवल रोजगारी सिर्जना गर्ने माध्यमका रूपमा हैन, वातावरण संरक्षण र जलवायु प्रतिरोधात्मक संरचना निर्माण गर्ने अवसरका रूपमा पनि उपयोग गरेका छौं। यसले युवालाई गाउँमै रोजगारीसहित जलवायु अभियानमा संलग्न गराउने वातावरण बनाएको छ।”

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली