कृषि क्षेत्र विकास कार्यक्रम (ASDP) अन्तर्गत शारदा नगरपालिकामा सञ्चालित कार्यक्रमहरूको हस्तान्तरण तथा पालिका स्तरीय समापन कार्यशाला गोष्ठी भव्य रूपमा सम्पन्न भएको छ। बिगत ७ बर्ष देखी संचालित कार्यक्रम समापन सँगै पालिकालाई हस्तान्तरण गरिएको हो । कार्यक्रमको अध्यक्षता कृषि क्षेत्र विकास कार्यक्रमका कार्यक्रम समन्वय इकाइ बाघचौरका प्रमुख यामलाल खत्रीले गर्नुभएको थियो। प्रमुख अतिथि शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारी रहनु भयो भने विशेष अतिथिमा उपप्रमुख सुस्मिता सापकोटा र प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटा रहनुभएको थियो। कार्यक्रममा नगर कार्यपालिकाका सदस्यहरू, पालिकाका विभिन्न शाखाका कर्मचारी, समूह तथा सहकारी प्रतिनिधि, सरोकारवाला तथा कृषकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा फिल्ड अधिकृत चक्रपानी अधिकारीले कार्यक्रम सञ्चालनका सन्दर्भमा समग्र जानकारी प्रस्तुत गर्नुभयो। उहाँका अनुसार सल्यान जिल्लाका आठ वटा पालिकामा ASDP कार्यक्रम लागू भई विभिन्न समूह तथा सहकारीसँग सहलगानीमा कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्। शारदा नगरपालिकाले समेत सम्झौता गरी सामुदायिक कृषि प्रसार, सिंचाइ कुलो, सहकारी तथा समूह सशक्तीकरण, बित्तीय पहुँच विस्तार, र प्राविधिक सामग्री सहयोग जस्ता विविध क्षेत्रमा प्रभावकारी कार्य गरेको थियो । कृषि क्षेत्र विकास कार्यक्रमको मुख्य उद्देश्य ग्रामीण कृषकहरूको आय वृद्धिसँगै खाद्य सुरक्षामा योगदान पुर्याउने, दिगो तथा समावेशी कृषि प्रणाली विकास गर्ने, र सहकारी-संस्थामार्फत स्थानीय सरकारसँग साझेदारीमा काम गर्दै कृषिमा आधारित विकासलाई टेवा पुर्याउने रहेको छ। यो कार्यक्रमले सीमान्तकृत, महिला, दलित तथा विपन्न वर्गका कृषकलाई प्राथमिकतामा राखी उनीहरूको जीविकोपार्जनमा प्रत्यक्ष सहयोग पुर्याएको छ। शारदा नगरपालिकाका भित्र समूह तथा सहकारीसँग साझेदारीमा सञ्चालित यस कार्यक्रममा सात वर्षको अवधिमा ५० प्रतिशत अनुदान साझेदारीमा करीब ७८ लाख रुपैयाँको बजेट कार्यान्वयन गरिएको जानकारी दिइएको छ। कार्यक्रमअन्तर्गत सामुदायिक स्तरमा कृषिमा आधारित संरचना निर्माण, तालिम, उपकरण, तथा सशक्तीकरण कार्यक्रमहरू सञ्चालन गरिएको थियो।
समापन सँगै कार्यक्रमको सम्पूर्ण प्रतिवेदन ASDP टिमद्वारा शारदा नगरपालिकालाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। नगरप्रमुख प्रकाश भण्डारीले कार्यक्रममार्फत नगरपालिकामा कृषि क्षेत्रमा देखिएको सकारात्मक परिवर्तनप्रति सन्तुष्टि व्यक्त गर्दै ASDP टिमलाई धन्यवाद ज्ञापन गर्नुभयो। साथै, आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूमा समन्वय र सहकार्य गरी अझ प्रभावकारी ढंगले कार्य गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रम समापन भए पनि ASDP का अनुभवहरूलाई आधार बनाएर भविष्यमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने, समूह तथा सहकारीसँगको सहकार्यलाई मजबुत बनाउँदै सामुदायिक कृषि प्रसारमा थप योगदान पुर्याउने अपेक्षा गरिएको छ।