
सल्यानको कुमाख गाउँपालिका–३, रागेचौरमा अवस्थित हिमालयन बैंक कुमाख शाखाले कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी र विद्यालयलाई उपयोगी सामग्री हस्तान्तरण गरेको छ। कार्यक्रम अन्तर्गत बैंकले जनता माध्यमिक विद्यालय, रागेचौरलाई प्रोजेक्टर सेट र इलाका प्रहरी कार्यालय, रागेचौरलाई सिसी क्यामेरा सेट प्रदान गरेको हो। रागेचौर इलाका प्रहरी कार्यालयले बन्गाड कुपिण्डेको केही भूभागमा समेत सुरक्षा नेतृत्व गर्ने भएकाले, उक्त सहयोग सुरक्षा व्यवस्थापनमा महत्वपूर्ण हुने विश्वास लिइएको छ।
हिमालयन बैंक कुमाख शाखाका प्रबन्धक नवीन डिसीले सरकारी मातहतका दुई सामाजिक संस्थालाई प्रविधिमैत्री बनाउने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको बताउनुभयो । विद्यालयका लागि प्रोजेक्टर र प्रहरीका लागि सिसी क्यामेरा आवश्यक र प्रयोगयोग्य भएको उहाँले बताउनु भयो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष डिल्लीराज रावतले बैंकको सहयोगले सिकाइलाई प्रविधिसँग जोड्न सहयोग पुग्ने बताउनु भयो ।
“समाज एक अर्काको परिपूरक हो। यस्तो सहयोगले सिकाइ सहज र प्रभावकारी हुन्छ,” भन्दै उहाँले हिमालयन बैंकलाई धन्यवाद दिनुभयो । इलाका प्रहरी कार्यालय रागेचौरका प्रमुख प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले सिसी क्यामेराको सहयोगले बजार तथा कार्यालय क्षेत्रमा निगरानी सशक्त हुने बताउनु भयो । सुरक्षामा प्रहरी, समाजमा सहयोग—बैंकले देखाएको सहयोग बैंक र समाज दुवैका लागि उपयोगी हुने बताउनु भयो । कार्यक्रममा उद्योग वाणिज्य संघ सल्यानका सदस्य तथा रागेचौर बजार व्यवस्थापन समिति अध्यक्ष चन्द्र बहादुर रानाले नागरिक सेवासँगै सामाजिक उत्तरदायित्वमा समेत बैंक सक्रिय भएकोमा प्रसंसा गनुर्भयो । कार्यक्रमको सहजीकरण जनता मावि रागेचौरका शिक्षक नन्दराम भारतीले गर्नुभएको थियो ।
कार्यक्रममा शिक्षक अभिभावक संघ अध्यक्ष तथा वडा नं १ का सदस्य डम्बर शाही, विद्यालयका पदाधिकारी, शिक्षक, ग्लोबल आइएमई लघुवित्तका शाखा प्रबन्धक सुनिश शाह, हिमालयन बैंकका कर्मचारी चन्द्र प्रकाश रावत, कृष्ण बहादुर राना, भिम बहादुर रावत, प्रहरी अधिकारीलगायतको उपस्थिति रहेको थियो।
