
सल्यान प्रहरीले झन्डै पाँच किलोमिटर सडक मर्मत गरेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानले कर्णाली प्रदेश जोड्ने खलंगा–सुर्खेत सडकखण्डअन्तर्गत बाबियाचौर खण्डको पाँच किलोमिटर सडक मर्मत गरेको हो ।
दुर्घटनालाई मध्यनजर गर्दै वर्षातले खाल्डाखुल्डी र बिग्रिएको सडकमा नाला खन्न तथा खाडल पुर्ने काम गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसीले जानकारी दिनु भयो। प्रदेश राजधानी जाने मुख्य सडक नै जोखिमयुक्त भएपछि ४५ जना प्रहरी परिचालन गरेर सडक मर्मत गरिएको उहाको भनाइ छ । शान्तिसुरक्षामा खटिए पनि नेपाली नागरिकको हैसियतले आफूले खाल्डाखुल्डी पुर्ने तथा नाला खन्ने काम गरेको बताउनु भयो ।

सडकको खाल्डाखुल्डीले सवारी दुर्घटनासमेत हुन सक्ने हुँदा यसलाई गम्भीरताका साथ लिएर काम गरेको उहाको भनाइ छ। नेपालको एक सय पर्यटकीय गन्तव्यभित्र पर्ने कुपिण्डे तालसम्म पुग्न पनि यही सडक भएकाले आन्तरिक तथा बाह्रय पर्यटकलाई आवतजावत गर्नसमेत सहज होस् भनेर सडक मर्मत गरिएको केसीले बताउनु भयो ।
