
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत उत्कृष्ट कार्यसम्पादनका आधारमा सल्यान जिल्ला उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यान प्रथम भएको छ । आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्यसम्पादनमा कर्णाली प्रदेशका १० जिल्लामध्ये सल्यान स्थित उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय प्रथम भएको हो ।
सोमबार र मङ्गलबार कर्णालीको राजधानी सुर्खेतमा चलेको वार्षिक समीक्षा गोष्ठीमा मन्त्रालयले उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका प्रमुख श्याम खरेललाई प्रशंसापत्रसहित सम्मान गरेको हो । सबैको सहयोग तथा वित्तीय अनुशासन र पारदर्शितालाई प्राथमिकता दिइएकाले उत्कृष्ट कार्यसम्पादन सम्भव भएको कार्यालय प्रमुख खरेलको भनाइ छ । यस किसिमको सम्मानले आगामी दिनमा अझ प्रभावकारी सेवा दिन प्रेरणा मिलेको उहाँले बताउनुभयो ।
यस कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा पुँजीगततर्फ ९७.३५ प्रतिशत र चालुतर्फ ८२.१९ प्रतिशत खर्च गर्न सफल भएको थियो । कार्यालयका सूचना अधिकारी ध्रुवबहादुर खत्रीका अनुसार वार्षिक स्वीकृत बजेट दुई करोड १८ लाख १८ हजार ५०० मध्ये एक करोड ८५ लाख दुई हजार ७२४ रुपियाँ खर्च भएर समग्रमा ८४.८० प्रतिशत वित्तीय प्रगति हासिल भएको छ ।
