
सल्यान र जाजरकोटको सिमानामा पर्ने भेरी नदीमा अवस्थित झोलुंगे पुल भासिएको चार वर्ष बितिसक्दा पनि मर्मत तथा पुनर्निर्माणको काम नहुँदा स्थानीयवासीहरू आवागमनमा ठूला कठिनाइ भोग्न बाध्य छन्। बन्गाडकुपिण्डे नगरपालिका–२ बाँमे क्षेत्रको बाउनडाँडा, पारिल्ला, चैते, कुरिल्ले लगायतका गाउँका झन्डै ३ सय परिवारहरू दैनिक रूपमा प्रभावित भएका हुन । तिन बर्ष अघि वर्षामा नदीको बहाव बढ्दा झोलुंगे पुलको पिलर सहित पुल भासिएको थियो, जसका कारण पुलको बीच भाग भेरी नदीको सतहमै झुन्डिएको छ । विकल्पको अभावमा जोखिम मोलेर स्थानीयहरू अहिले भासिएको पुल प्रयोग गर्न बाध्य छन् । स्थानीयबासीका अनुसार उक्त पुल भएर प्रमुख बजार सल्लीबजार तथा छेउकोे जारकोटको छेडाबजार जानुपर्ने बाध्यता छ । तर, भासिएको पुल जोखिमपूर्ण भएका कारण यात्रु मात्र होइन, बस्तु ओसारपसारसमेत कठिन भएको स्थानिय गोपिलाल शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक उपभोग्य वस्तु तथा स्थानीयस्तरमा उत्पादन भएका कृषिजन्य सामग्री बजारसम्म पु¥याउन किसानहरूले सास्ती खेपिरहेका छन् । भासिएको पुल अहिले झनै जिर्न भएको छ । अलिकति भेल बढ्नासाथ नदी पार गर्नै सकिँदैन,” उहाँले भन्नु भयो, “पुल भासिएको धेरै भयो, कसैले चासो दिएको छैन।”

उक्त पुल २०७२ सालमा बीबीएलएल नामक संस्थाको सहयोगमा निर्माण गरिएको थियो । करिब १५७ मिटर लामो उक्त पुलले वर्षौंदेखि स्थानीय बासिन्दाको दैनिक यात्रा सहज बनाएको थियो । तर, भासिएपछि न त पालिकाले न त सम्बन्धित निकायले पुनःनिर्माण वा मर्मततर्फ चासो देखाएको उहाँले बताउनु भयो छ ।
पुल भासिएको बिषयमा सम्बन्धित निकायलाई बारम्बार मर्मतका लागि जानकारी गराएपनि कसैले वास्ता नगरेको वनगाड कुपिण्डे नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष मान बहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार पुल मर्मतका लागि वडाको बजेटले नपुग्ने र प्रदेश र संघमा कुरा राख्दा कसैले नसुनेको उहाँले बताउनु भयो ।
“ अहिले यही भासिएको पुल बाट स्थानिय वारपार गरिरहेका छन, पुलको अवस्था देख्दा कहिले ठुलो दुर्घटना हुन सक्छ भन्ने डर छ,” मैले धेरै प्रदेश माननिय ज्यूहरुलाई कुरा राखे “तर कसैले वास्ता गर्नुभएन । चार वर्षसम्म कुनै पहल नहुनु सरकारको उदासीनता र राज्यको कमजोर उपस्थिति देखिएको उहाँले बताउनु भयो ।


उहाँ सरिता मेरो जिल्ला डट कम का लागि सम्पादक तथा संवाददाता हुनुहुन्छ |
