
सल्यानको कुमाख गाउँपालिकाले गत आर्थिक वर्ष २०८१÷८२ मा साझेदारी कार्यक्रम अन्तर्गत रोजगारीका काम गरेको छ । विगतका दिनहरुमा सामान्य गोरेटो बाटो मर्मत लगायतका काम गर्दै आएकोमा त्यसलाई परिमार्जन गरेर साझेदारी कार्यक्रम अन्तर्गत रोजगारीका काम गरेको हो । गाउँपालिकामा यस वर्ष कामका लागि पारिश्रमिकमा आधारित अन्तर्गत ७ वटा योजना, मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ६ वटा तथा युवा रोजगारीका लागि रुपान्तरण पहल योजना कार्यक्रम अन्तर्गत ७ वटा कार्यक्रम कार्यान्वयनमा थिए ।

प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रम मार्फत करिब २१ सय मिटर सिंचाइ कुलो निर्माण गरिएको छ भने, प्रधानमन्त्री रोजगार कार्यक्रम बाट १ खानेपानी आयोजना निर्माणसँगै रिचार्ज पोखरीहरु निर्माण गरिएको छ । ७७ जनाले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फतको काम गरेका थिए भने १ सय ५ जनाले मुख्यमन्त्री रोजगारको काम अन्तर्गत बिभिन्न योजनाको काम गरेको कुमाख गाउँपालिकाका रोजगार संयोजक जिवन शर्माले जानकारी दिनुभयो । अधिकांश योजनाहरु उत्पादन मुलक क्षेत्रमा कार्यान्वयन भएको र यसले नागरिकलाई प्रत्येक्ष फाइदा पुगेको रोजगार उहाँले बताउनु भयो । रोजगारी सिर्जना र वैदेशिक रोजगारी व्यवस्थापनलाई प्राथमिकतामा राखेर उल्लेखनीय प्रगति गरेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा रु २६ लाख ८० हजार बजेट विनियोजन गरिएको थियो भने मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि १ करोड ५ लाख बजेट विनियोज भएको थियो । यस्तै युवा रोजगारीका लागि रुपान्तरण पहल कार्यक्रममा रु २६ लाख ७२ हजार बजेट विनियोज भएको थियो । गाउँपालिकाले वैदेशिक रोजगार बोर्डको सचिवालयबाट प्रदान गरिने सेवाहरु र श्रम स्वीकृति लगायतका सेवा प्रदान गर्न थालेको उहाँले बताउनु भयो । जसले विदेश जाने प्रक्रियालाई समेत सहन बनाएको रोजगार संयोजक शर्माले बताउनु भयो ।

२०८१÷८२ मा साझेदारी कार्यक्रम अन्तर्गत गाउँपालिकाले २८ लाख रुपैया बजेट विनियोजन गरेको कुमाख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिप सोनीले जानकारी दिनुभयो । उहाँले रोजगारीका कामलाई प्रभावकारी बनाउन उपभोक्ता समितीलाई तालिम देखि अनुगमनका कामलाई प्राथामिकता दिएको बताउनु भयो । उहाँका अनुसार रोजगार सेवा केन्द्र मार्फत ८७ प्रतिशत भौतिक प्रगति हासिल भएको छ । गाउँपालिकाले बालश्रम न्यूनीकरणका लागि यातायात क्षेत्रमा अनुगमन गरी सचेतनामूलक कार्यक्रमहरू समेत सञ्चालन गरेको छ । यसले जोखिमपूर्ण क्षेत्रमा कार्यरत बालबालिकालाई संरक्षण गर्ने उद्देश्य राखेको छ । सहभागितामा आधारित योजनाहरूलाई अझ फराकिलो बनाउँदै लैजाने र गाउँमै रोजगारीका अवसर सिर्जना गर्ने योजना गाउँपालिकाले अघि सारेको छ ।

