
सल्यानमा पहिरोले विद्यालय र बारीमा क्षति गर्नुका साथै एक परिवार विस्थापित भएको छ । जिल्लाको कालिमाटी गाउँपालिका–२ स्थित बागखोर झिंगाने गाउँमा अविरल वर्षापछि गएको पहिरोले विद्यालय र निजी खेतबारीमा क्षति पुर्याएको छ भने एक परिवार विस्थापित भएको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार मंगलबार दिउँसो साढे १ बजे सृजनशील माध्यमिक विद्यालयभन्दा करिब ७० मिटर माथिबाट लेदो माटोसहितको ठूलो पहिरो खसेको जनाएको छ । पहिरोले विद्यालयको प्रांगण पुरिएको भए पनि भवनमा कुनै भौतिक क्षति नपुगेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरिक्षक रेशम खत्रीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पहिरोले विद्यालय नजिकै बसोबास गर्दै आएका लालबहादुर वलीको करिब ५ रोपनी पाखाबारी पनि पुरिएको छ । घटनापछि लालबहादुर वलीको पाँच सदस्यीय परिवार विस्थापित भई छिमेकी देवबहादुर खत्रीको घरमा आश्रय लिएको बसेको जनाएको छ ।
विस्थापित परिवारको घरमा रहेका अन्नपात, लत्ताकपडा, पशुचौपाया र अन्य सामग्रीहरू पनि सुरक्षित रूपमा सारिएको बताउनु भयो । घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कालिमाटीबाट प्रहरी निरीक्षक उपेन्द्र वलीको नेतृत्वमा दुई जना प्रहरी टोली घटनास्थलमा खटिएको थियो । त्यसै दिन दिउँसो करिब २ः५० बजे कालिमाटी गाउँपालिका–२ स्थित भोटेताल नजिकैको दाङ–सुर्खेत सडकखण्डमा माथिबाट खसेको अर्को पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध बनाएको छ। जसका कारण सो क्षेत्रमा सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
