
तरकारी खेतीमा जीवनाशक विषादीको प्रयोग घटाउनका लागि सल्यानका कृषक तथा सरोकारवालाहरुलाई अभिमुखिकरण गरिएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिकामा जीवनाशक विषादीको प्रयोगबाट मानव स्वास्थ्य तथा प्राकृतिक वातावरणमा पर्ने असरबारे एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । जीवनाशक विषादीको प्रयोग घटाउँदै जैविक तथा दिगो कृषिप्रणालीतर्फ कृषकलाई प्रोत्साहन गर्नका लागि अन्तरक्रिया तथा अभिमुखिकरण गरिएको हो । छत्रेश्वरी गाउँपालिकाको समन्वय र आइएम स्वीडिस डेभलपमेन्ट पार्टनरको सहयोगमा दलित विकास समाज सल्यानको आयोजनामा भएको कार्यक्रममा बोल्दै छत्रेश्वरी गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले पछिल्लो समय विभिन्न स्वास्थ्य समस्या बढिरहेको र यसमा विषादी प्रयोग एक प्रमुख कारण बनेको उल्लेख गर्नुभयो । कृषकहरू प्रांगारिक मल प्रयोग छाडेर रासायनिक मलमा निर्भर हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै उहाले भन्नुभयो , “यसलाई न्यूनीकरण गर्न महिलाहरू अझ बढी सचेत हुनुपर्छ । पशुपालनलाई छाड्न हुँदैन, पशुपालनबाट उत्पादन हुने मललाई प्रयोग गरेर खेति गरेमा अर्गानीक खान पाउँछौँ ।”

आर्थिक र सामाजिक न्यायका लागि समुदाय परिचालन परियोजना अन्तर्गत सञ्चालन भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगीले विषादी विष नै हो औषधि होइन भन्ने मुख्य सन्देशलाई सबैले ममन गर्नुपर्नेमा जोड दिनुभयो । जनप्रतिनिधि, विभिन्न शाखा प्रमुख, नागरिक समाजका अगुवा, सहकारी संस्था, समूह तथा स्थानीय कृषकहरूलाई महत्वपूर्ण विषयमा अभिमुखिकरण गरिएको थियो । विषादीको परिभाषा, विषादीको प्रकार, नेपालमा विषादी प्रयोगको वर्तमान स्थिति, विषादीको खतरा संकेत तथा विषादीको तत्कालिन र दीर्घकालीन असरहरुका बारे गाउँपालिकाका कृषि विकास अधिकृत सुदीप खनालले अभिमुखिकरण गर्नुभएको थियो ।
यसैगरी विषादीको वातावरणमा पार्ने नकारात्मक प्रभाव, विषादी दुरुपयोगका प्रमुख कारणहरु, विषादी खरिद गर्दा ध्यान दिनुपर्ने कुराहरु, विषादी प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीहरु, पर्खनुपर्ने समय अवधि र विषको अवशेषका बारे पनि जानकारी प्रदान गरिएको थियो । यसका साथै तरकारी र फलफूलमा रासायनिक विषादीक अवशेष कम गर्ने उपायहरु, जैविक विषादीहरु, जैविक विषादीहरु प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु, झोलमल बनाउने तरिका, कृषिमा रोगकिरा नियन्त्रणका लागि प्रयोग गर्न सकिने विभिन्न पासोहरुका बारेमा पनि अभिमुखिकरण गरिएको हो । सो अवसरमा नागरिक समाज संजाल मार्फत पालिकामा ध्यानाकर्षण गरिएका क्रियाकलापहरुमा आ.व. २०८२÷०८३ को बजेटबारे पनि शाखागत छलफल गरिएको परियोजनाका जिल्ला संयोजक गुमानसिंह नेपालीले जानकारी दिनुभयो ।
