
भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लाको पूर्वी बागर छेनागाडमा गएको शुक्रबार बिहान आएको बाढी–पहिरोमा सल्यानका तीन जना बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा बनगाड कुपिण्डे नगरपालिका–६ कालागाउँ निवासी ४९ वर्षीय सरद आग्री र उनका २४ वर्षीय छोरा दीपक आग्री, त्यस्तै सोही नगरपालिकाको वडा नम्बर ५ राउच निवासी ६९ वर्षीय भीमबहादुर बुढा रहेका छन्।
उनीहरु रोजगारीको सिलसिलामा साउन १६ गते भारत गएको बनगाड कुपिण्डे नगरपालिका–६ का वडा अध्यक्ष गणेश बिसीले बताउनु भयो । उहाँका अनुसार पहिरो गएको खबर उनीहरूको परिवारमार्फत पाएको बताउँनुभयो । वडा अध्यक्ष बिसीले भन्नुभयो, “बिहान ३–४ बजेतिर लेदो सहितको पहिरो गएको बुझिन्छ। उनीहरू सुतिरहेको अवस्थामा बस्ती नै पुरिएको खबर छ।”
उक्त पहिरोमा चार नेपालीसहित आठ जना बेपत्ता भएको बताइएको छ। बाँकी एक नेपालीको परिचय भने खुलेको छैन। स्थानीयका अनुसार उनी जुम्ला घर भएका व्यक्ति हुन्।
बेपत्ता भीमबहादुर बुढाका छोरा सुरेश बुढाले घटनास्थल विकट भएको कारण खोजीमा कठिनाइ भएको बताउनु भयो । “चार दिनसम्म पनि सम्पर्क नभएपछि हामी घर फर्किदै छौं,” उहाले भन्नुभयो ।
भदौ १२ गते रातिदेखि लगातार परेको वर्षाका कारण पूर्वी बागर क्षेत्रमा बाढी–पहिरोको ठूलो क्षति भएको छ। १३ भदौको बिहान पहाडबाट आएको लेदो सहितको बाढीले त्यहाँका १५ भन्दा बढी घर तथा पसल बगाएको थियो। यस क्रममा कम्तीमा आठ जना बेपत्ता भएका छन्, जसमा चार नेपाली र चार भारतीय छन्।
