
रोजगारीका सिलसिलामा भारत गएका सल्यानका ४ जनाको गाडी दुर्घटमा परि मृत्यु भएको छ । दुर्घटनामा तिन जना घाइते भएका छन । जिल्लाको कुमाख गाउँपालिका ४ बस्नेत जिउलाका एकै गाउँका ४ जनाको भारतको हिमाचल प्रदेशको सिम्ला जिल्लाको कोटखाइमा गाडी दुर्घटनामा परि मृत्यु भएको हो । मृत्यु हुनेमा अन्दाजी ३६ बर्षका राजेश बिष्ट, ४८ बर्षिय डिल्ली शाही, ३७ बर्षिय एकेन्द्र शाही र २६ वर्षीय लक्ष्मी शाही रहेको कुमाख गाउँपालिका ४ का वडा अध्यक्ष शोभिलाल बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते हुनेमा सोही ठाउँका २६ बर्षिय हिम बहादुर शाही, ३६ बर्षिय नेव बहादुर शाही र २२ बर्षका हेमन्त शाही रहेका छन ।

मृतक र घाइते एकै गाउँका रहेको उहाँले बताउनु भयो । मृत्यु हुने तिन जना एकै परिवारका रहेको उहाँले बताउनु भयो । आइतबार बिहान ९ बजे डेरा बाट एक घण्टाको दुरीमा काम गर्न जाने क्रममा एचपी ६३,७८,९७ नम्बरको पिकप गाडी दुर्घटनामा परेको थियो । गत साउन महिनामा रोजगारीको सिलसिलामा भारत पुगेका उनीहरू दुर्घटनामा परी ज्यान गुमाएपछि गाउँ शोकमा डुबेको वडाध्यक्ष बस्नेतले बताउनु भयो । मृतकको शव पोष्टमार्टमपछि नेपाल ल्याउने पहल भइरहेको छ भने घाइतेहरूको उपचार सिम्लामै भइरहेको छ ।
