
सल्यानमा ‘जेन–जी’ आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन गरिएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको आयोजनामा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको हो ।
जिल्लाको सदरमुकाम खलंगास्थित पुरानो बसपार्कमा दीप प्रज्वलन गरिएको महासंघका शाखा सचिव बुद्धि पुनले जानकारी दिनुभयो । सो क्रममा मौनधारण समेत गरिएको छ ।
उक्त अवसरमा बोल्दै महासंघका अध्यक्ष डिल्लीराज रावतले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै यस्तो दुःखद घटनाले समाजलाई गहिरो चोट पु¥याएको बताउनुभयो । उहाँले यस्ता घटना दोहोरिन नदिन राज्य संयमित र जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।

‘राज्य संयमित र उत्तरदायी बन्न सक्नुपर्छ, युवा पुस्ता सडकमा ओर्लिनुको पछाडिका कारणलाई गहिरो अध्ययन गर्नुपर्ने आवश्यकता छ, ज्यान गुमाएकाहरूको बलिदानलाई बेवास्ता गर्नु हुन्न, यस्ता आन्दोलन र घटनाबाट हामीले पाठ सिक्नुपर्छ, नत्र हाम्रो लोकतन्त्रको आधार नै कमजोर बन्छ’ अध्यक्ष रावतले भन्नुभयो । उहाँले लोकतन्त्रमा अभिव्यक्तिको स्वतन्त्रता मौलिक अधिकार भएकोले विरोध र असहमति जनाउने अधिकारप्रति सम्मानजनक व्यवहार गरिनुपर्ने बताउनुभयो ।
सो अवसरमा महासंघका पुर्वकार्यवाहक अध्यक्ष सनत कुमार शर्मा, शाखा उपाध्यक्ष शिव डाँगी सहित अन्य पत्रकार तथा सञ्चारकर्मीको उपस्थित रहेको थियो । यस्तै सरोकारवाला र स्थानीयको समेत सहभागिता रहेको थियो । भदौ २३ र २४ गते भएको आन्दोलनको क्रममा कम्तिमा ७४ जनाको ज्यान गएको छ । सरकारले जेनजी युवाहरुको आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिहरुको सम्मान स्वरूप बुधबार राष्ट्रिय शोक मनाउँदै सार्वजनिक बिदा दिएको थियो ।

