
सल्यानको दार्मा गाउँपालिका वडा नम्बर ५ बछेलामा रहेको सक्रिय रूपमा क्रियाशील उज्यालो युवा क्लबले युवाको आवाजलाई संस्थागत गर्दै स्थानीय सरकार समक्ष १४ बुँदे साझा प्रस्ताव पेश गरेको छ । पदाधिकारीहरूले उक्त प्रस्ताव दार्मा गाउँपालिकाको प्रशासन शाखा र शिक्षा, युवा तथा खेलकुद शाखामा बुझाएका हुन ्।
क्लबका अध्यक्ष दिपेश खड्का र सचिव घनराज खड्काले लिखित प्रस्ताव पालिकामा बुझाउँदा क्लबका लेखा संयोजक नवीन खड्का र व्यवस्थापन समिति अध्यक्ष रामचन्द्र खड्का समेत सहभागी रहनुभएकोथियो । क्लबका सचिव घनराज खड्काका अनुसार प्रस्ताव तयार पार्नुअघि असोज ७ गते भौतिक भेला तथा अनलाइन छलफल गरिएको थियो । उक्त छलफलमा सहभागी सबै युवाहरूका सुझाव र गुनासाहरू समेटी साझा दस्तावेजको रूपमा प्रस्ताव तयार गरिएको हो । सचिव खड्काका अनुसार, “यो प्रस्ताव केवल कागजमा सिमित नभएर पालिकाले यसलाई व्यवहारमा उतार्न सक्दो पहल गर्नुपर्ने बताउनु भयो । युवाको आवाज अझै पनि बेवास्ता गरिएमा थप कदम चाल्न बाध्य हुने बताउनु भयो ।
उक्त प्रस्ताव बुझ्दै गर्दा दार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम ओलीले क्लबको सक्रियता र उद्देश्यप्रति प्रशंसा व्यक्त गर्दै न्यून बजेटका बाबजुद पनि क्लबसँग समन्वय गरी लोभउन्मुख कला र संस्कृति जगेर्ना सम्बन्धी कार्यक्रमहरुमा सहयोग बताउनु भयो । यस्तै, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख निर्मोद केसीले क्लबका प्रतिनिधिहरूसँग कुराकानी गर्दै “पछिल्लो समय युवाबीच बढ्दो फ्रस्टेसनको अवस्थाका बाबजुद पनि उज्यालो युवा क्लबजस्तो संस्था गाउँको सुधारमुखी कार्यमा लागेको देख्दा खुसी भएको बताउनु भयो । बजेट सीमित भए पनि क्लबको प्रस्तावलाई क्रमिक रूपमा कार्यान्वयन गर्दै जाने बताउनु भयो ।

साझा प्रस्तावमा समेटिएका १४ प्रमुख बुँदाहरू
१. लोभउन्मुख (पारम्परिक) कला तथा संस्कृतिको संरक्षण र जगेर्ना
२. जनचेतनामूलक कार्यक्रम सञ्चालन
३. स्थानीय खेलकुद कार्यक्रम तथा पूर्वाधार
४. वातावरण संरक्षण अभियान
५. पशुपालन तथा कृषि विकास
६. योजना निर्माण र कार्यान्वयनमा युवाको सहभागिता सुनिश्चित गर्ने
७. विद्युतिकरणको तीव्रता
८. विद्युतिय उपकरणको पहुँच विस्तार
९. सञ्चार माध्यमहरूको सुदृढीकरण
१०. स्वास्थ्य सेवा प्रवाहमा सुधार
११. सार्वजनिक क्षेत्रमा हुने राजनीतिक हस्तक्षेप रोक्न तथा पहुँच आधारित नियुक्ति अन्त्य
१२. भ्रष्टाचार नियन्त्रण तथा सुशासन स्थापनाको लागि विज्ञ र युवाको सहभागितामा आयोग गठन
१३. यातायात र ग्रामीण सडकको सुधार
१४. बेरोजगारीको यथार्थ तथ्यांक संकलन
