
सल्यानको दार्मा गाउँपालिकामा पछिल्ला केही दिनयता अज्ञात रोगको लक्षण देखिँदै उच्च ज्वरोको कारण चार जनाको मृत्यु भएको छ । मृतकहरू सबैमा समान प्रकारका लक्षणहरू देखिएको दार्मा गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । प्रारम्भिक रूपमा यो रोग के हो भन्ने स्पष्ट हुन नसकेको र अहिले स्क्रब टाइफसको सक्रंमण फैलिएकाले यही हुन सक्ने आकंलन गरिएको छ । स्वास्थ्य शाखा प्रमुख यज्ञ बस्नेतका अनुसार मृत्यु हुनेहरुमा दार्मा गाउँपालिका ३ की अन्दाजी ६८,६९ बर्षिय तिली बिक, सोही ठाउँकी ४७ बर्षिय यनकुमारी खत्री, दार्मा ५ का ४० बर्षिय टेकम चन्द र दार्मा गाउँपालिका ४ की ४१ बर्षिय पबित्रा थापाको मृत्यु भएको हो । उनिहरु सबैको उपचारको क्रममा नेपालगञ्जमा मृत्यु भएको उहाँले जानकारी दिनुभयो । तिहार अघि १ जना र तिहार यता ३ जनाको मृत्यु भएको उहाँले बताउनुभयो । मृतकहरूमा देखिएका लक्षणहरू सामान्य ज्वरोभन्दा गम्भीर रहेको र केही घण्टामै स्वास्थ्य अवस्था बिग्रँदै गएको उहाँले बताउनु भयो । सुरुमा सामान्य ज्वरो देखिदै सास फेर्न गाह्रो हुने र मुटु र फोक्सोमा समस्या भएर मृत्यु हुने गरेको उहाँले बताउनु भयो । डेगीं हो वा स्क्रव टाइफसले बिरामी मृत्यु भयो यो पत्ता लाग्न नसकेको उहाँले बताउनु भयो । रोग पहिचान गर्न स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको शाखा प्रमुख बस्नेतले बताउनु भयो ।
गाउँपालिकाका उपाध्यक्ष जुना मल्ल चन्दका अनुसार, “हालसम्म चार जना मानिसकोे मृत्यु भइसकेको र यसले त्रास फैलाएको बताउनु भयो । उहाँले आम नागरिकहरूलाई आफ्नै स्वास्थ्यप्रति सचेत रहन, सफाइमा ध्यान दिन तथा कुनै अस्वस्थता महसुस भए तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको बताउनु भयो ।

स्वास्थ्य शिविर सञ्चालन हुदै
यही अवस्थालाई मध्यनजर गर्दै दार्मा गाउँपालिकाको आयोजनामा र दार्मा गाउँपालिका–जेन्जीको समन्वयमा, तथा जिल्ला अस्पताल सल्यानका डाक्टर र प्राविधिकहरूको सहयोगमा विशेष स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको छ ।
स्वास्थ्य शिविर कार्तिक १५ गते दार्मा गाउँपालिका–५, थुम्केसक्लीमा र कार्तिक १६ गते त्रिवेणी स्वास्थ्य चौकीमा सञ्चालन गरिनेछ । शिविरमा गाउँपालिकाभरिका सर्वसाधारणले निःशुल्क स्वास्थ्य जाँच, उपचार तथा परामर्श सेवा पाउनेछन् । गाउँपालिकाले नागरिकहरूलाई स्वास्थ्य शिविरमा उपस्थित भई आफ्नो स्वास्थ्य जाँच गराउन, लक्षण देखिए तुरुन्त रिपोर्ट गर्न र स्वास्थ्यकर्मीहरूको सल्लाह पालना गर्न आग्रह गरेको छ । साथै, विद्यालय, उपभोक्ता समिति र वडास्तरका प्रतिनिधिहरूलाई पनि स्वास्थ्य सचेतना फैलाउने अभियानमा सक्रिय रहन अनुरोध गरिएको छ । दार्मा गाउँपालिकाले यस घटनापछि आकस्मिक स्वास्थ्य योजना सक्रिय गरेको छ र रोगको प्रकृति पत्ता लगाउनका लागि नमुना परीक्षणका लागि तयारी भइरहेको जनाएको छ।
