
सल्यान जिल्लालाई पूर्ण विद्युतिकरणको कामलाई अगाडी बढाउन सल्यानका जनप्रतिनिधिहरूले संयुक्त रूपमा पहल अघि बढाएका छन् । जिल्लाका सबै बस्तीमा छिटोभन्दा छिटो विद्युत सेवा पुगोस् भन्ने उद्देश्यले प्रदेश तथा संघीय तहका सरोकारवालाबीच निरन्तर समन्वय र छलफल भइरहेको छ ।
यसै सन्दर्भमा आज कर्णाली प्रदेशसभाका सदस्य तथा पूर्वमन्त्री भिमप्रकाश शर्मा, बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख कर्णबहादुर बुढाथोकी, र सल्यान जिल्ला इन्चार्ज किर्तिबहादुर पुन (प्रकाण्ड) नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा पुगेर छलफल गर्नुभएको छ । कार्यालयमा पुगेर कार्यकारी निर्देशक मनोज सिलवाल तथा कर्णाली विद्युत विस्तार आयोजनाका प्रमुख विमल रावतसँग विस्तृत छलफल गर्नुभएको हो । छलफलमा जिल्लाको हालसम्मको विद्युतिकरण कार्यान्वयन अवस्थाको समीक्षा गर्दै बाँकी काम छिटो सम्पन्न गर्न आवश्यक कदमबारे गम्भीर छलफल भएको नेकपाका नेता रमेश मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार कर्णाली प्रदेश विद्युत विस्तार अभियानका संयोजक तथा जिल्लाका प्राविधिक सल्लाहकारका रूपमा सहभागी रहँदै, हाल सल्यानमा चलिरहेका विद्युत विस्तारका परियोजनाको प्राविधिक स्थिति र चुनौतीबारे विस्तृत जानकारी दिएको बताउनु भयो । नेपाल विद्युत प्राधिकरण, प्रदेश सरकार र स्थानीय तहबीचको सहकार्यमा अहिले जिल्लाका अधिकांश बस्तीमा ट्रान्सफर्मर जडान, पोल निर्माण र लाइन तान्ने काम तीव्र गतिमा भइरहेको बत्ति बलेका छैनन ।

जिल्लामा एसियाली पूर्वाधार बैंकको सहयोगमा कालिमाटी र बनगाड कुपिण्डे नगरपालिकाका केही भागमा विद्युतिकरणको काम भइरहेको छ भने कर्णाली प्रदेश कार्यालयको मातहत अरु आठ वटा पालिकामा पनि परियोजना अघि बढिरहेको बताइएको छ । निर्माण कम्पनीहरूले जिम्मेवारीका साथ काम अगाडि बढाउन सरोकारवालाहरूले जोड दिएका छन् । पूर्ण विद्युतिकरणको बाँकी कार्य सम्पन्न गर्नका लागि स्थापना गरिएको कर्णाली विद्युत विस्तार आयोजनाले एडीबीको सहयोगमा सल्यानका सबै पालिकामा विद्युत पहुँच विस्तारको जिम्मेवारी लिएको छ । छलफलका क्रममा सहभागीहरूले टेन्डर प्रक्रिया छिटो अघि बढाई काम सुरु गर्न सम्बन्धित पक्षहरूको गम्भीर ध्यानाकर्षण गराएका छन् । प्रदेशसभा सदस्य भिमप्रकाश शर्माले सल्यानलाई पूर्णरूपमा उज्यालो बनाउन सबै तहका सरकार र निकायको सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताउनु भयो । यस पहलले सल्यानलाई नजिकिँदै गरेको समयमा “पूर्ण उज्यालो जिल्ला” बनाउने लक्ष्यलाई ठोस गतिमा अघि बढाउने अपेक्षा गरिएको छ।
