
लामो समयदेखि भाडाको भवनबाट सेवा दिँदै आएको सल्यानको त्रिवेणी गाउँपालिकाले अब देखि आफ्नै प्रशासनिक भवनबाट सेवा सुरु गरेको छ। सोमबार पूजापाठसहित भवनको औपचारिक उद्घाटन गरिएको हो। ५ करोड रुपैयाँ लागतमा निर्माण गरिएको भवनको गाउँपालिका अध्यक्ष खिमबहादुर रावत, उपाध्यक्ष सीता खड्का पुन, प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर केसी, वडा अध्यक्षहरूलगायतको उपस्थितिमा उद्घाटन गरिएको हो।

२०७७ साल माघमा प्राकृतिक हमाल जेभीसँग ठेक्का सम्झौता गरेर २०७९ साल पुस मसान्तसम्म सक्ने गरी काम सुरू भएको भए पनि भवन लामो समयसम्म अलपत्र परेको थियो। गाउँपालिकाले भाडाकाे घर बाट सेवा दिदै आएको थियो । जसका कारण वार्षिक १७ लाखभन्दा बढी भाडा तिर्नु परेको थियो।
गाउँपालिका अध्यक्ष खिम बहादुर रावतका अनुसार आफ्नो भवन नहुँदा सेवा प्रवाहमा धेरै समस्या थियो। “अब भाडाको खर्च बचेको छ, सेवा पनि एकीकृत रूपमा सहज हुन्छ,” अध्यक्ष रावतले बताउनुभयो। उहाँले लामो समयदेखि रोकिएको भवन निर्माण कार्य निरन्तर दबाब र समन्वयपछि मात्र सम्पन्न हुन सकेको पनि बताउनु भयो । उहाँका अनुसार उद्घाटन पनि सामान्य रूपमा गरिएको र गाउँपालिकाले चालु खर्च कटौती गरी पूँजीगत खर्च बढाउने लक्ष्य राखेको छ।

प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर केसीले नयाँ भवन बनेपछि साँघुरो ठाउँमा सेवा दिनुपर्ने बाध्यता समाप्त भएको बताउनु भयो । उहाँले प्रशासकीय भवन उद्घाटन कार्यक्रम पूर्णरूपमा सादा शैलीमा सम्पन्न गरिएको बताउनु भयो । “हामीले यस्ता अनावश्यक चालु खर्च कटौती गरेर खानेपानी, सिंचाइ कुलो लगायतका समस्यामा परेका स्थानीयका मुद्दामा बजेट केन्द्रीत गरेका छौँ,” उहाँले भन्नुभयो ।
कार्यक्रम भव्य रूपमा गरेमा मञ्च, टेन्ट–कार्पेट, साउण्ड सिस्टम, गाडीभाडा, खानाखर्च, ब्यानर लगायतमा करिब पाँच लाख रुपैयाँ खर्च हुनसक्ने भन्दै खर्च कम गर्ने गरि कार्यक्रम सम्पन्न गरिएको बताउनुभयो ।
गाउँपालिकाको भवन निर्माणका लागि स्व. ध्रुवप्रसाद श्रेष्ठ,रेमु श्रेष्ठ, दिवाकरराज श्रेष्ठ, डम्बरबहादुर शाही, कर्णबहादुर श्रेष्ठ र कमलराज केसीले जग्गा दान गर्नुभएको थियो । उहाँहरुलाई पालिकाले सम्मान पनि गरेको छ । यस्तै भवन निर्माण गर्ने निर्माण व्यवसायीहरूलाई पनि सम्मान गरिएको थियो।
उद्घाटन कार्यक्रममा वडा अध्यक्षहरू, कर्मचारी, स्थानीयवासी र पत्रकारहरूको उपस्थिति थियो।
