
करदाता सेवा कार्यालय सल्यानले राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा बढी कर तिरेका तीन करदातालाई १४ औँ राष्ट्रिय कर दिवसको अवसरमा सोमबार सम्मान गरेको हो ।
आफ्नो कार्यक्षेत्र रहेको तीन जिल्ला सल्यान, रुकुम पश्चिम र रुकुम पूर्वबाट एक एक जना गरी तीन जना उत्कृष्ट करदातालाई सम्मान गरिएको करदाता सेवा कार्यालय सल्यानले जनाएको छ । सम्मानित हुनेमा न्यु विजय ट्रेडर्स मुसिकोट ५ रुकुम पश्चिम, आइस्नाप स्वप्निल जे.भि त्रिवेणी गाउँपालिका १, सल्यान र मेजेस्टिक इन्जिनियरिङ मल्टि सर्भिस प्रा.लि भुमे २ रुकुम पूर्व रहेका छन् ।
सम्मान कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले कर देश बलियो बनाउने मुख्य आधार भएकाले करदाता र कर प्रशासनबिच सुमधुर सम्बन्ध हुनु पर्नेमा जोड दिनु भयो । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले करको दायरालाई कसरी फराकिलो बनाउन सकिन्छ र बढी भन्दा बढी करदातालाई करको दायारामा ल्याउन सकिन्छ भनेर समन्वय गरी जानु पर्ने बताउनु भयो । वर्तमान सरकार कर संकलन प्रणालीलाई आधुृनिकीकरण गर्ने सरलीकरण गर्नेतर्फ उद्दत रहेको बताउनु भयो । उहाँले भन्नु भयो सूचना प्रविधिको प्रयोगमा विस्तार तथा त्यसको गुणस्तरीयता र दिगोपना कार्यम गर्दै समय र लागत न्युन हुने गरी सेवा प्रवाहमा प्रभावकारिता अभिवृछि गर्नेतर्फ ध्यान दिन जरुरी छ ।
करदाता सेवा कार्यालय सल्यानले आर्थिक वर्ष २०८०/०८१ मा ६३ करोड ३१ लाख ३८ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा ८० प्रतिशत अर्थात ५० करोड ७५ लाख १७ हजार ६ सय ६० रुपैँया राजस्व सकलन गर्न सफल भएको थियो । आयकर तर्फ ३१ करोड ७५ लाख १० हजार ७ सय लक्ष्यको ७९ प्रतिशत, मूल्य अभिवृद्धि कर तफै १७ करोड ६९ लाख ७३ हजार २१० र अन्तरशुलक १ करोड ३० लाख १७ हजार २८० रुैयाँया राजस्व संकलन भएको करदाता सेवा कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख खुमराज शर्माले जानकारी दिनु भयो ।
यस्तै चालु आर्थिक वर्ष २०८२/०८३ को साउन देखि कात्तिक मसान्तसम्म १२ करोड ५२ लाख ९ सय रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा ९ करोड ६३ लाख ७१ हजार राजस्व संकलन भएको शर्माको भनाई छ । लक्ष्यको ७७ प्रतिशत प्रगति भएको उहाँले बताउनु भयो ।
