
सल्यानमा भूकम्प गएको दुई वर्ष निजी आवासका संरचनाको विस्तृत क्षति आकलन तथा घर क्षतिको विवरण संकलन कार्य सुरु गरिएको छ । भूकम्पपछि सरकारले जाजरकोट र रुकुमलाई मात्र प्राथमिकतामा राखेपछि सल्यानमा क्षति आकलन रोकिएको थियो । तर हाल पालिका र जिल्ला प्रशासन कार्यालय सल्यानको निरन्तर पहलपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्राविधिक टोलीलाई दुई दिने तालिम दिएर क्षति आकलन प्रक्रिया सुरु गरेको हो ।
सल्यानका दार्मा, कुमाख, त्रिवेणी र बागचौर क्षेत्रमा गरी ४ हजार ३७४ घर–संरचना क्षतिग्रस्त भएको तथ्यांक छ । भूकम्पपछि सरकारले अस्थायी आवास निर्माणका लागि ५० हजार रुपैयाँ राहत दिने घोषणा गरे पनि सल्यानका दुई हजारभन्दा बढी भूकम्पपीडितले पहिलो किस्ता २५ हजार रुपैयाँसमेत पाउन सकेका छैनन। राहत नपाएर निराश पीडितहरू विस्तृत क्षति आकलनको काम सुरु भएपछि भने उत्साहित भएका छन्।
निमित्त प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले जिल्लाभरका ४ हजार ३७४ लाभग्राहीको स्थलगत क्षति विवरण संकलन थालिएको बताउनु भयो । क्षतिको वर्गीकरण आवासको अवस्था, नयाँ निर्माण आवश्यक, मर्मत आवश्यक लगायत पाँच भागमा गरिने बताउनु भयो । क्षतिको विवरण संकलन गर्न प्राविधिक टोलीहरु खटिएर काम सुरु गरिसकेको बताउनु भयो । उहाँका अनुसार एक महिनाभित्रै विस्तृत क्षति आकलन पूरा गरिने लक्ष्य रहेको छ ।
सबैभन्दा बढी प्रभावित दार्मा गाउँपालिकामा केन्द्रबाट पुगेको प्राविधिक टोलीले वडा नम्बर १ र २ लिरापाजाबाट आकलन कार्य सुरु गरिसकेको दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले बताउनु भयो । उहाँका अनुसार खटिएको टिमले मोबाइल एपमार्फत घर–घरमा पुगेर क्षति विवरण संकलन गरिरहेको छ । विस्तृत क्षति आकलन सुरु भएपछि पीडितहरूमा घर पुनर्निर्माणप्रतिको आशा बलियो बन्दै गएको बताउनु भयो । सरकारले प्राथमिकतामा नपार्दा धेरै परिवार अझै मर्मत गरिएको घर वा टहरामा बस्न बाध्य रहेको उहाँले बताउनु भयो ।
२०८० कार्तिक १७ गते राति गएको भूकम्पले सबै भन्दा बढि दार्मा गाउँपालिका क्षति गरेको थियो भने बागचौर नगरपालिका, कुमाख गाउँपालिका र त्रीवेणी गाउँपालिकामा केही घरहरुमा क्षेति गरेको थियो ।
