नेपाली सेनाद्धारा विपद प्रतिकार्य अभिमुखीकरण तथा विपद अभ्यास प्रदर्शन

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८२ मंसिर २४, बुधबार (१ महिना अघि)
  • १७३ पटक पढिएको

नेपाली सेनाद्धारा विपद प्रतिकार्य अभिमुखीकरण तथा विपद अभ्यास प्रदर्शन

नेपाली सेनाद्धारा विपद् व्यवस्थापनसम्बन्धी अभिमुखीकरण तथा (डेमो) प्रदर्शन गरिएको छ । दार्मा गाउँपालिका, सल्यानको आयोजना र श्री सिद्धिबक्स गण सिमखर्क सल्यानको प्राविधिक सहजीकरणमा फारुलामा विपद् व्यवस्थापनसम्बन्धी अभिमुखीकरण तथा (डेमो) प्रदर्शन गरिएको हो । विपद् जोखिम न्यूनीकरण र स्थानीय स्तरमा तत्काल उद्धार क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी तथा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।


कार्यक्रमका प्रशिक्षक तथा सेनाका प्रतिनिधिहरूले सहभागीहरूलाई विपद् भनेको के हो, विपद् कसरी उत्पन्न हुन्छ, कस–कसले कति प्रभावित गर्छ, विपद् रोकथाम तथा न्यूनीकरणका उपायहरू जस्ता आधारभूत विषयमा विस्तृत जानकारी प्रदान गरका थिए । विशेषगरी भूकम्प, बाढी–पहिरा, आगलागी, डुबान, चट्याङ जस्ता स्थानीय समुदायले बारम्बार सामना गर्ने जोखिमबारे वैज्ञानिक र व्यवहारिक दुवै दृष्टिकोण राख्दै प्रशिक्षण दिइएको थियो ।
यस्तै विपद् आइपरिहालेमा कसरी प्राथमिक उद्धार सुरु गर्ने, उद्धारमा समुदायको भूमिका कस्तो हुन्छ, तत्काल सरसफाइ र स्वास्थ्य सुरक्षा कसरी कायम राख्ने जस्ता विषयहरू पनि सहभागीहरूलाई सिकाइयो। स्थानीय बासिन्दा स्वयंले गर्न सक्ने प्रारम्भिक उद्धार गतिविधि, जोखिम सीप तथा सुरक्षित स्थान पहिचान गर्ने क्षमता विकासमा कार्यक्रम विशेष रूपमा केन्द्रित रही अभिमुखीकरण गरिएको थियो ।


अभिमुखीकरणपछि जनज्योती माध्यमिक विद्यालय, फारुलाको खेलमैदानमा विभिन्न प्रकारका विपद् सन्दर्भहरूको व्यावहारिक डेमो (प्रदर्शन) गरिएको थियो । सेनाको प्राविधिक टोलीले विपद् परिप्रेक्ष्यमा अपनाइने उद्धार प्रक्रिया प्रत्यक्ष देखाउँदै सहभागीहरूलाई सहभागी र अवलोकनकर्ता दुवै भूमिकामा समावेश गराएको थियो । कार्यक्रममा आगलागी नियन्त्रणमा प्रयोग हुने सामग्री—फायर एक्स्टिङ्गुइशर, फायर बल, धुवाँ नियन्त्रण उपकरण तथा अन्य सुरक्षात्मक साधनहरूको सही तरिका र समयमा कसरी प्रयोग गर्ने भन्ने विषयमा व्यावहारिक प्रदर्शन गरिएको थियो ।


विपद् व्यवस्थापनमा अत्यन्त उपयोगी रोप रेस्क्यु (डोरी प्रयोग गरेर उद्धार) सम्बन्धी उपकरण—हार्नेस, क्याराबिनर, एन्कर, हेल्मेट, सेफ्टी लाइन आदि—को परिचालनबारे सेनाको टोलीले प्रत्यक्ष प्रशिक्षण दिएको हो ।
त्यससँगै वाटर रेस्क्यु (पानी उद्धार) सम्बन्धी लाइफ ज्याकेट, लाइफ बुई, दोरी र फ्लोटिङ उपकरणहरूको सही प्रयोग र द्रुत प्रतिक्रिया प्रणालीबारे पनि व्यावहारिक प्रदर्शन सम्पन्न गरिएको थियो । बाढी वा डुबानजस्ता घटनामा समुदायले तत्काल अपनाउनुपर्ने सावधानी तथा सुरक्षित उद्धारका चरणबद्ध विधि स्पष्ट रूपमा प्रस्तुत गरियो ।
विद्यालयका विद्यार्थी, शिक्षक, जनप्रतिनिधि तथा कर्मचारीलाई एकै ठाउँमा जोडेर गरिएको यो कार्यक्रम समन्वय र सामुदायिक सशक्तिकरणतर्फको महत्वपूर्ण पहल भएको बताएका छन ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली