
सल्यानको त्रिवेणी गाउँपालिकाले तीन वटा विधेयक पारित गरेको छ । मंगलबार गाउँपालिकाको १८ औं अधिवेशनले तीन विधेयक बहुमतले पारित गरेको हो । गाउँसभाले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व सम्बन्धी विधेयक २०८२, फोहोरमैला व्यवस्थापन सम्बन्धी विधेयक २०८२ र कृषि व्यवसाय प्रवद्र्धन सम्बन्धी विधेयक २०८२ बहुमतले पारित गरेको त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर केसीले जानकारी दिनु भयो ।
सभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले पालिकाले राखेको लक्ष्य अनुसार नै काम अघि बढी रहेको बताउनु भयो । सिमित स्रोत साधनका बिचमा पनि पालिकाले महत्वपूर्ण कार्य गर्दै आइरहेको उहाँको दावी रहेको छ । गाउँसभामा चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म १९दशमलव ६३ प्रतिशत प्रगति गरेको छ । चालु खर्च तर्फ २२ दशमलव ०५ प्रतिशत र पूँजिगत खर्च तर्फ १२ दशमलव ९४ प्रतिशत प्रगति भएको केसीले बताउनु भयो । उहाँका अनुसार सबैभन्दा धेरै शिक्षा शाखाले २४ दशमलव ४५ प्रतिशत खर्च गरेको छ । यस्तै स्वास्थ्य शाखाले ७ दशमलव ६४, पशुपंक्षी विकास शाखाले २२ दशमलव ७८, महिला विकास शाखाले ५, वडा न ४ ले ६ दशमलव १४, वडा न ५ ले ४ दशमलव ४६, र वडा न ६ ले २ दशमलव ५१र वडा न ३ शुन्य दशमलव ६७ प्रतिशत खर्च गरेका छन् । वडा न १, २ र कृषि शाखाको खर्च शुन्य रहेको छ ।
